Monday, May 1, 2017  |    

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

पर्यटन व्यवसायीहरुलाई सहुलियत प्रदान गर्नुपर्छ  

पर्यटन प्रवद्र्वनका लागि सीईओले निश्चित कार्ययोजना प्रस्तुत गर्नुपर्छ । भूकम्प र नाकाबन्दीले थलिएको मुलुकको पर्यटन क्षेत्रलाई उकासेर पहिलेकै स्थितिमा पुनर्जिवित गराउनका लागि उहाँले कार्ययोजनासँगै तिनको कार्यान्वयनमा पनि ध्यान दिनु जरुरी छ । तत्कालिन तथा दीर्घकालिन रणनीतिहरु तय गरेर आगामी केही समयभित्र पर्यटनलाई साविककै स्थितिमा फर्काउनका लागि जोड गर्नुपर्छ । पर्यटन क्षेत्र र यसमा क्रियाशिल व्यवसायीहरु यतिबेला ठूलो मर्कामा परेका छन् । उनिहरुलाई विभिन्न राहत प्याकेज वा सहुलियत प्रदान गर्न नयाँ सीईओले पहल गर्नुपर्छ । त्यस्तै पर्यटकीय विभिन्न संघसंस्थाहरुबीचमा एकार्कामा कटुतापूर्ण सम्बन्ध देखिन्छ । विभिन्न कित्तामा विभक्त व्यवसायीहरुबीच एकता कायम गर्नका लागि पर्यटन बोर्डले समन्वयात्मक भूमिका खेल्नु पनि उत्तिकै आवश्यक देखिन्छ । यसैगरी हामी पर्यटक यातायात व्यवसायीहरु अहिले निकै मर्कामा छौँ । सहज रुपमा इन्धन उपलब्ध गराउनुका साथै पर्यटक सवारीका क्षेत्रमा विद्यमान विभिन्न समस्याहरुको समाधानका लागि पहल गर्नु पनि बोर्डको दायित्व हो ।

विष्णु श्रेष्ठ, महासचिव -नेपाल प्राईभेट पर्यटक यातायात व्यवसायी संघ (एनपिटीभिए)

पीपीपी अवधारणालाई सुदृढ बनाउनुस् 

सार्वजनिक निजी साझेदारी अवधारणाका साथ नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो, नयाँ सीईओले यो सिद्वान्तलाई सुदृढ बनाएर अघि बढ्नुपर्छ । नेपालको पर्यटनले यही सम्बन्धबाट मात्र गति लिन सक्छ । यसअघि विभिन्न कारणले पर्यटन बोर्ड प्रभावित हुँदा मुलुकको पर्यटन क्षेत्रले ठूलो मूल्य चुकाउनुप¥यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्वनका काम हुन नसक्दा पर्यटक आगमन ज्यादै न्यून तहमा झरेको छ । भूकम्प र पछिल्लो समय खड्किएको चरम इन्धन अभावको समस्याले पर्यटक आगमनमा झनै ठूलो गिरावट आएको छ, हामी कसरी बाँच्ने भन्ने प्रश्न नै अहिलेको मुख्य प्रश्न बनिरहेको छ ।  तसर्थ यी यावत् समस्याकाबीच नयाँ सीईओले स्पस्ट भिजन ल्याउनु जरुरी छ । बोर्डका अवधारणा÷नीति र कार्यक्रमहरुमा निजी क्षेत्रको पनि समान सहभागिता स्थापित गराएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रले पनि ‘पिपल टू पिपल’ सम्बन्धबाट पर्यटक आगमनमा सहयोग पुर्‍याउनुपर्छ । 

सन्तोष न्यौपाने, महासचिव -नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए)

आग्रह र पूर्वाग्रहबाट माथि उठ्नुस् 

अत्यन्तै संगीन घडीमा पर्यटन बोर्डको सीईओमा दीपकराज जोसी नियुक्त हुनुभएको छ । लामो समयपछि बोर्डले नेतृत्व पाएको छ, यसमा हामी आशावादी छौँ, हुुनुपर्छ । निश्चय पनि उहाँमाथि चुनौतीका चाङहरु छन् । 

बिना आग्रह÷पूर्वाग्रह उहाँले पर्यटन विकासका लागि दत्तचित्त भएर लाग्नुपर्छ । अब उहाँले विश्वबजारमा नेपालको पर्यटन प्रवद्र्वन गर्नका लागि समयसापेक्ष नीति र कार्यक्रम ल्याउनुपर्छ । परम्परागत ढंगले नेपालको पर्यटन अगाडि बढ्नेवाला छैन, आधुनिक प्रविधिहरुको प्रयोग गर्दै सिथिल भएको नेपालको पर्यटनलाई उकास्नु अहिलेको पहिलो आवश्यकता हो । 
निजी क्षेत्रलाई अलग्याएर नेपालको पर्यटन अगाडि बढ्न सक्दैन, उहाँले निजी क्षेत्रसँग सहयकार्य गर्दै सरकार र निजीबीच पुलको रुपमा बोर्डलाई अगाडि बढाउनुपर्छ ।

शेखरबहादुर थापा, महासचिव -नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा)

कुरामा होईन व्यवहारमा लागु होस् 
 

चार वर्षपछि पर्यटन बोर्डले सीईओ पाएको छ । यो पक्कै पनि खुसीको कुरा हो । यद्यपी, उहाँको कार्यकाल हेर्न बाँकी नै छ । तसर्थ, अअब सबै भइहाल्छ भन्ने त्यति ठूलो आशा गर्नु जायज होइन भन्ने लाग्छ । भूकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्र डामाडोलको स्थितिमा पुगेको छ । नयाँ सीईओ आएपछि यसमा सुधार पक्कै पनि आउला । 

१५ वर्ष बोर्डमै रहेर प्रशासनिक अनुभवसमेत संगाल्नुभएका दक्ष र योग्य अहिलेको सिइआबाट पर्यटन क्षेत्र र व्यवसायीहरुले अपेक्षा राख्नु स्वभाविक छ । तर, उहाँलेमात्र गरेर हुने होईन, उहाँको सकारात्मक कदममा निजी क्षेत्रले पनि साथ दिनु जरुरी हुन्छ । कुरामा होईन सांच्चै व्यवहारमा नै नेपालको पर्यटनलाई माथि उकास्नुपर्छ । निजी र मन्त्रालयलाई पनि रिझाएर खस्किएको पर्यटनलाई साविककै अवस्थामा ल्याउनुपर्ने उहाँको नेतृत्वदायी भूमिका रहनुपर्छ । पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव र गतिविधिबाट पन्छिएर उहाँले पर्यटनलाई गति दिनुपर्छ । 

गोविन्द पन्त, महासचिव -ठमेल पर्यटन विकास परिषद् (टीटीडिसी)

निजी क्षेत्र र सरकारसँगको सम्बद्ध सुदृढ बनोस्  

पहिलो कुरा त लामो संक्रमणपछि पर्यटन बोर्डमा सीईओ आउनुभएको छ, यो पनि एउटा ठूलो उपलब्धि हो जस्तो लाग्छ । मुलुकको पर्यटनको राष्ट्रिय तथा अनतर्राष्ट्रिय प्रवद्र्वन गर्नु नेपाल पर्यटन बोर्डको मूख्य दायित्व हो । भूकम्प तथा नाकाबन्दीका कारण पर्यटक आगमन एकदमै न्यून भइरहेको छ । यस्तो संवेदनशिल घडीमा सीईओले पर्यटन प्रवद्र्वनका लागि ‘स्पेसिफिक’ योजना र रणनीतिहरु तयार गरी तिनको कार्यान्वयनमा कटिबद्व भएर लाग्नुपर्छ । प्रवद्र्वनमात्र नभएर पर्यटनका पूर्वाधाहरुको विकासमा पनि पर्यटन बोर्डले भूमिका खेल्नुपर्छ । यसतर्फ पनि नयाँ सीईओले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । पर्यटन बोर्डका विभिन्न तहमा रहेर लामो प्रशासनिक अनुभवसमेत संगालिसक्नुभएका नवनियुक्त सिइओले अब आफुले संगालेको अनुभवहरुलाई पर्यटन प्रवद्र्वनार्थ खर्च गर्नुपर्छ । आफ्ना योजनाहरु कार्यान्वयन गर्ने तहमा उहाँ स्वयं हुनुहुन्छ । यसका लागि निजी क्षेत्र र सरकारसँग उहाँले राम्रो सम्बन्ध कायम गरेर अगाडि बढनुपर्छ । आफ्ना योजना र कार्यक्रमहरुमा सबैलाई समान रुपमा सहभागी गराएर अघि बढ्नुपर्छ । 

मिहिका धाख्वा, महासचिव -नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)