Saturday, November 18, 2017

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

सरकारले विशेष प्याकेजको घोषणा गर्नुपर्छ ।  

    भूकम्प गएको करिब करिब एक वर्ष पूरा हुन लागेको छ । त्यसकारण  वैशाख १२ को दिनलाई सरकारले विशेष दिनको रुपमा मनाउनुपर्छ र त्यही दिन नेपाल भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेजको घोषणा गर्नुपर्छ ।   

    त्यो दिन सरकारका तर्फबाट पर्यटन मन्त्रालयले प्रधानमन्त्रीको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गर्नुपर्छ । सो कार्यक्रममा नेपालस्थित विभिन्न दुतावास र अन्य कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई समेत सहभागि गराउनु पर्छ । र सोही दिन ०७४ सालको बैशाखसम्मका लागि नेपालमा रहेका सबै पर्यटकीय स्थल प्रवेशमा लगाइदै आएको शूल्क मिनाह भएको घोषणा गनुपर्छ । अर्कोतर्फ अहिले युरोप र अमेरिकाका नागरिकलाई लिइदै आएको भिजा शूल्क छ, नेपाल पर्वतारोहण संघ मातहतमा रहेका हिमाल आरोहमा लाग्ने शूल्कसमेत एक वर्षका लागि मिनाह गरेर नेपाल भ्रमणमा आकर्षित गर्नुपर्छ । यसका साथै पर्यटन विभागबाट अनुमति लिएर जति हिमाल आरोहण गराइन्छ ती हिमाल  आरोण शूल्क पनि एक वर्षका लागि ५० प्रतिशत मिनाह गर्नुपर्छ । अहिले नेपाल टेलिकमले नेपाल भ्रमणमा आउने पर्यटकलाई जसरी त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिमकार्ड दिन्छ त्यस्तै गरि भ्रमण सकेर फर्कनेहरुलाई नेपाल पर्यटन बोर्डले नेपालको सम्झाना आउने गरि मायाको चिनो प्रदान गर्ने हो भने खस्किएको पर्यटन विकासमा यो दिन स्मरणिय रहने छ ।

हेमविक्रम शाही, महासचिव –टुर्गान

जनचेतना जागृत गराउन आवश्यक छ   

    भूकम्पपछि नेपालका बारेमा जुन रुपमा अन्तर्राष्ट्रिय जगतमा नाकारात्मक सन्देश प्रवाह भएका छन् त्यसलाई मेटाउनुनै अहिले हाम्रो पहिलो दायित्व हुनुपर्छ र त्यस अनुसारनै हामीले आफ्ना कार्ययोजनाहरु निर्माण गर्नुपर्छ ।

    पहिलो त नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिएर सबैलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुपर्छ भने भूकम्पपछि जुन जुन राष्ट्रले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नजान ट्राभल एड्भाईजरी जारी गरे । उनीहरुलाई त्यो तत्काल हटाउनका लागि सरकारलेनै विशेष आग्रह गर्नुपर्छ । उनीहरुलाई सुरिक्षत छ भन्ने अनुभूति दिलाउने गरि काम पनि गर्नुपर्छ । त्यस्तै यो दिन हजारौको ज्यान गयो भने लाखौ घरबार बिहिन भए त्यसकारण यो दिनलाई एउटा दिवस कै रुपमा मनाएर सचेतना जागृत गराउनुपर्छ । जसको कारण आगामी दिन हुनसक्ने यस्ता विपत्तिको सहजै सामना गर्न सकियोस् । अहिलेको जतिको संख्यामा धनजनकोसमेत क्षति हुन नपाओस् । हाम्रो मुख्य ध्याय यही नै हुनुपर्छ ।  

अहिले नेपाल घुम्ने पर्यटक संख्या घटेको पक्कै हो । पर्यटकीय नगरी ठमेल क्षेत्र अहिले पनि सुरक्षित छ । यो सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनको लागि ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा राज्यले विशेष कार्यक्रम ल्याउन जरुरी छ ।

संघर्ष विष्ट, उपाध्यक्ष –ठमेल पर्यटन विकास परिषद्

खस्किएको पर्यटन उकास्ने काम गर्नुपर्छ ।

   सकारात्मक र नाकारात्मक दुबै दृष्टिकोणले बैशाख १२ हामी सबैका लागि ऐतिहासिक दिन हो । यो दिनमा हामीले धेरै गुमायौ अव त्यसलाई पूर्ति गर्ने र पुनःनिर्माणमा अगाडि बढ्ने समय हो । यसलाई चेतना जागृत गराउने दिनको रुपमासमेत लिनुपर्छ र त्यही अनुसार कार्यक्रमहरु पनि तय गरेर अगाडि बढ्नुपर्छ ।  
    सँगै भूकम्पपछि जुन रुपमा नेपालको पर्यटन खस्किएको छ । त्यसलाई उकास्ने र पर्यटन प्रवद्र्धन गर्ने अवसरको रुपमा पनि यो दिनलाई लिनुपर्छ । त्यहीअनुसार सरकारले पर्यटन प्रवद्र्धनका वार्षिक कार्यक्रमहरुसमेत निर्धारण गर्नुपर्छ ।  जसलाई सबै संघसंस्थाले साथ र सहयोग दिने छन् भने संचारमाध्यमलेसमेत यो अभियानलाई प्रचारप्रसार गरी सघाउ पुर्‍याउनुपर्छ । जसको कारण खस्किएको पर्यटन उकास्न सघाउ पुर्‍याउने छ । भूकम्प गएपनि हामी कहाँ थुप्रै सम्पदाहरु अझै पनि सग्लो छन् । कतिपयको पुनःनिर्माणसमेत गरिसकेका छौ । ति सबै स्थानहरुको बारेमासमेत अन्तर्राष्ट्रिय जगतमा  जानकारी गराउनु अहिलेको प्रमुख आवश्यकता हो । जसले पुनःनिर्माणसँगै पर्यटन विकासमासमेत सघाउ पुर्‍याउने छ ।

कमल सापकोटा, प्रबन्ध निर्देशक –माउन्टेन डिलाईट्स ट्रेक्स

पुनःनिर्माणको खास योजना ल्याउ

बैशाख १२ लाई पहिलो त हामीले सकारात्मक सन्देश प्रवाह गर्ने दिनको रुपमा लिनुपर्छ । भूकम्पले सिकाएको पाठ र आगमी दिनमा अपनाउनुपर्ने सुरक्षा सचेतनाका बारेमा हामीले विशेष फोकस गर्नुपर्छ ।

मानवीय र भौतिक दुबै रुपमा बैशाख १२ को भूकम्पले हामीलाई ठुलो नोक्सानी गर्यो । अव त्यो क्षतिलाई विर्सेर हामीले पुनःनिर्माणमा लाग्नुपर्छ । भूकम्पले नेपालको पर्यटन विकासमासमेत अवरोध सृजना गर्‍यो । हाम्रो थुप्रै सम्पदामा क्षति पुर्‍याएको छ । अव ति सम्पदासमेत पुनःनिर्माण गरी पर्यटकका लागि सुरक्षित छ भन्ने देखाउनुपर्छ । अर्को कुरा पर्यटन विकासमा मात्र होईन पुनःनिर्माणको काममासमेत भूकम्प भन्दा पनि नाकाबन्दीले ठुलो असर गर्‍यो । अव सरकार र विभिन्न पर्यटकीय संघसंस्था एक भएर पर्यटन विकासका काममा अगाडि बढ्नुपर्छ । जसका लागि सरकारले आगामी वैशाख १२ गते पुनःनिर्माणसँगै पर्यटन विकासको समेत दीर्घकालिन योजनाहरु सार्वजानिक गर्नुपर्छ । जसमा सबैको साथ र सहयोग माग्दै पर्यटन विकास र पुनःनिर्माणमा एउटा लक्ष्य पा्रप्त गर्न सकियोस् ।

 

भीम पन्त, महासचिव –नाट्टा

पर्यटन विकास र पुनःनिर्माणका स्पष्ट योजना ल्याउनुपर्छ  

    २०७२ सालको बैशाख १२ सबैका लागि स्मरणीय दिन हो । यसलाई हामीले पिडाको रुपमा मात्र नभई पर्यटन विकास र पुनःनिर्माणको नयाँ युग प्रवेशको रुपमासमेत लिनुपर्दछ ।
    आगमी बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक वर्ष पुग्दैछ । यो दिनलाई हामीले विशेष रुपमा स्मरण गर्नुपर्छ । एक वर्षमा हामीले गरेका कार्यको प्रारम्भिक रिपोर्ट बनाएर सबैलाई जानकारी गराउनुका साथै आगामी योजना पनि सार्वजानिक गर्नुपर्छ । त्यस्तै पुनःनिर्माणमा सहयोग गर्ने स्वदेशी तथा विदेशी सबै संघसंस्थालाई नेपाल बोलाएर सम्मान गर्नुपर्छ जसले एउटा सकारात्मक सन्देश प्रवाह गरोस् । मेरो नेपाल विसिग्रयो भन्दाको घाटा पनि हामीलाई नै हो भने सबै कुरा ठिक छ भन्दा पनि त्यो परिस्थिति यहाँ छैन । त्यसकारण हामीले निश्चित समय तोकेर पुनःनिर्माणको काम थाल्नुपर्छ । कुन समयमा कुन काम गर्ने र अवको योजना के हुने छ भनेर सरकारले आफ्नो धारणा बाहिर ल्याउनुपर्छ । त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमासमेत ल्याउनु सरकारको प्रमुख दायित्व हुनेछ । जसले गर्दा नेपाललाई नयाँ रुपमा निर्माण गर्न सकियोस् । साथसाथै यसै दिन पर्यटन विकास र सम्पदा पुनःनिर्माणका लागि समेत सरकारले स्पष्ट योजना बनाएर कामकोसमेत थाल्नुपर्छ ।

तासिलाक्पा शेर्पा, बरिष्ठ उपाध्यक्ष –टान

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर