Monday, March 27, 2017  |    

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

पूर्वाधार निर्माणको योजना नै छैन  

     सरकारले आर्थिक वर्षमा देशको पर्यटन विकासका लागि ल्याएका कार्यक्रमहरु राम्रा छन् । पर्यटन क्षेत्रमा रहेका तत्कालीन र दीर्घकालीन समस्याहरु समाधानको विषयवस्तुलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ तर त्यसलाई कार्यन्वयन गर्नु भने त्यति सहज छैन । अझ त्यसमा पनि सरकारको कार्यशैली नै राम्रो छैन । 

अहिले नेपाल आउने पर्यटकका लागि भिषा प्रक्रिया निकै झन्झटिलो छ । त्यसमाथि हामीसँग सरकारले ल्याएका योजनाअनुसार पर्यटक आकर्षित गर्न आवश्यक मात्रामा पूर्वाधार नै छैनन् । भलै, भूकम्प र नाकाबन्दीले गर्दा नेपालमा पर्यटक आगमन केही खस्कियो तर पनि ७÷८ लाखको संख्यामा वार्षिक पर्यटकहरु आइनैरहेका छन् । सन् २०१८ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । त्यो लक्ष्य नै हाम्रा लागि ठूलो होइन । संख्या कसरी बढाउने भन्ने मात्र होइन कि अब त हाम्रो ध्यान नेपाल आएको पर्यटकलाई कसरी गुणस्तरीय सेवा दिने भन्नेतिर हुनुपर्छ । जसका लागि पूर्वाधार विकास र आवश्यक प्रचारप्रसार गर्नु अहिलेको आवश्यकता हो । मुख्य कुरा सरकारले प्रचार–प्रसार र कानुनी झमेलाको अन्त्य र अन्तर्राष्ट्रिय प्रचारका विषय कार्यक्रममा खासै परकोे जस्तो देखिएन । 

मूक्ति पाण्डे, (सचिव–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल)

पूरा गर्न गाह्रो छ 

    सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्याक्रममा यस्ता विषयवस्तु समावेश हुन्छन् । तर कार्यन्वयनको तहमा भने सधैँ समस्या आउने गरेको छ । पर्यटन विकासका लागि सरकारले जुन रुपमा प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको छ त्यसलाई म स्वागत गर्छु । तर दुःखका साथ भन्नुपर्छ यो उद्देश्यहरु पूरा गर्न गाह्रो छ । 

    भूकम्प र नाकाबन्दीका कारण नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको छ । यो अवस्थामा हामीले नेपालको पर्यटनलाई कसरी पहिलेको अवस्थामा फर्काउने भन्नेतर्फ सरकारको ध्यान गएजस्तो देखिँदैन । अर्को कुरा राजनीतिक तबरबाट हुने बन्द, हड्ताल, जस्ता क्रियाकलापलाई बन्द गरेर नेपाल आउने पर्यटकलाई पूर्णतया नेपालीपन दिन सकेको खण्डमा सन् २०१८ मा घोषणा गरिएको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सहज हुन्छ तर सरकारको सधैंको यस्तै चाला हो भने नीति तथा कार्यक्रममा उद्देश्यहरु थुपारेर मात्र केही हुनेवाला छैन् । सरकार र राजनीति दलले आफ्ना कार्यशैलीलाई नबदल्ने हो भने कागजको एजेन्डा कागजमै सीमित हुनेवाला छ ।  हामी व्यवसायी त सधैं पर्यटन विकासको पक्षमा छांै । यसका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छांै । 

बसन्तबहादुर हमाल, (सचिव –हिमालय उद्धार संघ)

कार्यन्वयनमा पनि तदारुकता देखाऊ   

     सरकारले आगामी आर्थिक वर्षका धरै राम्रा कार्यक्रमहरु सार्वजनिक गरेको छ । त्यसमध्ये पर्यटक विकास लागि ल्याएका कार्यक्रमहरु पनि समय सान्दर्भिक छन् । कलासंस्कृति, संग्राहलय, विमानस्थल निर्माणदेखि पर्यटकको संख्या बढाउन भ्रमण वर्ष मनाउनेसम्मका कार्यक्रमहरु ल्याइएको छ । जुन निकै प्रशंसनीय छ, जसलाई कार्यन्वयन गर्ने हो भने नेपालको पर्यटन विकासमा ठूलो योग्दान पुग्नेछ । 

सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । जसका लागि हामीसँग आवश्यक पूर्वाधार छ, छैन भन्नेतिर पनि हेर्नुपर्छ । त्यसले गर्दा अन्य क्षेत्रका पर्यटकीय गन्तव्यको साथै उपत्यका भित्रै भूकम्पले भत्किएका सम्पदाहरु पुनर्निर्माण गर्ने योजना र पर्यटक आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनुपथ्र्यो तर त्यसो भए जस्तो देखिएन । अहिले जुनजुन कार्यक्रमहरु ल्याएको छ त्यसको कार्यन्वयनका लागि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ त्यसका लागि हामी तयार छौं । सरकार पनि नीति तथा कार्यक्रम कार्यन्वयनमा र नयाँ गन्तव्य पहिचानमा मन, बचन र कर्मले लाग्नुपर्छ । 

गिता गुरुङ्ग, (सचिव –ठमेल पर्यटन विकास परिषद्)

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)