Monday, May 1, 2017  |    

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

पर्वतीय पर्यटनमा राज्यले विशेष ध्यान दिनुपर्छ  


    महाविनाशकारी भूकम्पको असर न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा जोड दिनु जरुरी छ । अझै पनि सांस्कृतिक सम्पदालगायत पर्यटकीय क्षेत्रको बाटो, पुल कुलेसो निर्माण हुन सकेको छैन । यस्तोमा पर्यटकीय जोखिम बढ्नुका साथै नेपालको आन्तरिक छवि पनि धुमिल हुने हुँदा मन्त्रालयको यसतर्फ ध्यान जाओस् ।
    पर्यटक र व्यवसायीमैत्री नियम कानुन बन्नुप¥यो । ट्रेकिङमा जाने पर्यटकहरुले रुट अनुमतिमा समस्या झेल्नुपर्ने स्थिति, आन्तरिक असुरक्षाको स्थिति छ, त्यसलाई हटाउनुप¥यो । त्यस्तै छिमेकी देशको तुलनामा नेपालमा पर्यटकलाई लिइने शुल्क महँगो छ, यसमा पुनर्विचार गर्नुपर्दछ भने कतिपय स्थानको भ्रमणमा पूर्ण छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । यसो गर्दा सांस्कृतिक प्रचारमा अझ बढी मद्दत पुग्छ ।
    पर्वतीय पर्यटनमा विशेष जोड दिनुपर्छ । नेपाल आउने पर्यटकहरुको हिमाल आरोहणको चाहना अधिक हुने गर्दछ । यस्तोमा लचकदार नीति र उत्प्रेरित गर्ने किसिमका पर्यटक योजना ल्याउनुपर्दछ, चाहे त्यो शुल्क छुट गरेर होस् वा अन्य कृुनै पनि तवरले योजनावद्ध ढंगबाट अगाडि बढ्नुपर्दछ ।

आङछिरिङ शेर्पा, अध्यक्ष -नेपाल पर्वतारोहण संघ

नीति नियम समायानुकूल परिमार्जन हुन जरुरी छ


    राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको उडान क्षमतामा वृद्धि गर्नु अहिलेको टड्कारो आवश्यकता हो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ढिलासुस्ती भइरहेको छ, त्यसलाई छिटो सक्नुपर्‍यो । त्यस्तै पोखरा, भैरहवा जस्ता क्षेत्रीय विमानस्थलहरुलाई पनि चाँडो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्दछ । यस्तै पर्यटनसँग सम्बन्धित नीति नियमहरु समायानुकूल परिमार्जनको आवश्यकता छ, किनकि पर्यटक ल्याउन खोज्ने तर उनीहरुको सेवा सुविधामा ध्यान नदिने र टे«किङमा अनावश्वक हैरानी दिने कार्य बन्द गर्नुप¥यो । अर्को महत्वपूर्ण कुरा भनेको पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनु अति जरुरी छ ।

दिपक महत, अध्यक्ष -राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल

पर्यटक सुरक्षामा जोड दिनुपर्छ  

 

विशेषतः पदयात्रा व्यवसायलाई उन्नत र व्यवसायमुखी बनाउन निम्न कुराहरुमा जोड दिनु जरुरी छ ।
– टिम्स कार्ड, जुन २००८ देखि लागू भए पनि पछिल्लो समय केही विवादित देखिएको छ । पर्यटक भ्रमण अनुमति, उनीहरुहरुको रेखदेख र राजस्वको समेत सवाल जोडिएको यस विषयमा पर्यटनमन्त्रीको ध्यान जान जरुरी छ ।
– अघिल्लो सरकारले बजेटमा पारित भइसकेको पर्यटन सम्बन्धित काम ‘वान डोर सिस्टम’को अवधारणा छ, त्यसलाई कार्यान्वयनका चरणमा लैजानु नितान्त आवश्यक छ , जसले गर्दा पर्यटनसँग सम्बन्धित कामका लागि अलग मन्त्रालय र विभाग धाउने स्थिति बन्द गरी सबै काम पर्यटन मन्त्रालयबाटै हुन पर्दछ भन्ने बुझाइ हो ।
– भूकम्पपछि धेरैजसो पर्यटकीय क्षेत्रमा निषेधित क्षेत्रको स्थिति कायम छ । अर्कोतर्फ सरकार आफैँले निषेधित क्षेत्र भनेर लामो समयदेखी साँस्कृतिक सम्पदाका स्थलहरुलाई रोकिराखेको छ । त्यस्ता स्थान तुरुन्त खुल्ला गरिनुपर्छ । यस्तै पर्यटकहरुलाई जथाभाबी शुल्क लिइने राज्यको जुन नीति छ, त्यसलाई सरलीकृत गरिनु आवश्यक छ ।
– पर्यटकहरुको सुरक्षाको लागि दर्ता नगरी अवैधानिक रुपमा खुलेका पर्यटक सम्बन्धित ट्रेकिङ कम्पनीहरुलाई निरुत्साहित गरिनुपर्दछ । अर्को कुरा पर्यटकहरुलाई अनिवार्य गाइडको साथमा मात्र भ्रमण गराउने व्यवस्था मिलाउनु राज्यको अति आवश्यकीय दायित्व हो ।
विगतमा विना गाइड पदमार्गमा जाँदा पर्यटकहरुको अकालमा मृत्यु हुने, चोरी लुटपाट, अंगभंग र यातनापीडित समेत हुनुपरेको स्थितिले स्पष्टरुपमा मापदण्ड बनाएर ट्रेकिङमा निस्किँदा पर्यटकको साथमा अनिवार्य गाइड राख्नैपर्ने व्यवस्था गरिनु प्रमुख टड्कारो आवश्यकताा छ । गाइड राख्ने नियम आफूखुसी होइन बाध्यकारी बनाउनुपर्दछ । जसले गाइडको आन्तरिक सुरक्षा, सम्बन्धित क्षेत्रको बारेमा पर्यटकले पूर्ण जानकारी लिन पाउने स्थिति र आन्तरिक राजस्वमा समेत टेवा पुग्छ ।
– पर्यटकीय संस्थाहरुको नवीकरण प्रक्रिया र पूर्वाधार निर्माणमा पर्यटन मन्त्रालयको विशेष ध्यान पुग्न जरुरी छ ।

चन्द्र रिजाल, अध्यक्ष -ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल

पर्यटनमा राजनीतिक स्थायित्व जरुरी छ  


 सर्वप्रथम त राजनीतिक स्थायित्व हुन जरुरी छ । अर्को कुरा पर्वतीय पर्यटनमा सरकारको क्रियाशीलताको अभाव छ, यसलाई परिष्कृत गर्नुपर्छ । तेस्रो पूर्वाधारमा जोड दिनुपर्छ, विभिन्न पर्यटकीय सम्पदा र स्थलहरुको विशेष सुरक्षा र सम्बद्र्धनमा राज्यको ध्यान पुग्न सकिरहेको छैन । यसतर्फ ध्यान पु¥याउनुपर्छ । जस्तै पाटन, स्वयम्भू, भक्तपुर, दरबारस्क्वायरहरुको पुनर्निर्माण र ती स्थलहरुमा जाने बाटोको सुगमता र शौचालय, पानीको उचित व्यवस्था हुनुप¥यो । अर्को महत्वपूर्ण कुरा पर्यटक सूचना केन्द्र जस्तै ठमेल प्रवेशद्धार, कुनै विशेष मन्दिरद्धार र अन्य हिमाली पहाडी क्षेत्रमा रहेका सम्पदाहरुको बारेमा पनि उचित जानकारीसहितको सूचना केन्द्र आवश्यक छ । यस्तै पर्यटनमा बजेट छरेर होइन परिणाममुखी बजेटको व्यवस्था गरिनुपर्छ ।

 

रामशरण थपलिया, अध्यक्ष -ठमेल पर्यटन विकाश परिषद्

राफ्टिङलाई विशेष ध्यान दिनुपर्‍यो   


– समग्र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड
– साहसिक जलयात्रालाई ध्यान दिनुपर्‍यो ।
– अवैधानिक  किसिमले विनादर्ता सोझै राफ्टिङ व्यावसायमा संलग्नहरुमाथी कारबाही हुनुपर्यो ।
– पर्यटनलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्यो ।
– राफ्टिङका लागि छुट्याईएका देशभरका १६ वटा नदीको उचित संरक्षण र व्यावसायिकमैत्री वातावरणको सिर्जना ।

चन्द्र दाहाल, अध्यक्ष, नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्ट

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स