Thursday, November 23, 2017

पुनः निर्माण प्राधिकरणद्वारा ६ समिति गठन

प्रकाशित मिति: 2016/07/01

काठमाडौं, १७ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले गरेका निर्णय कार्यान्वयन गराउन छवटा समिति गठन गरिएको छ ।

प्राधिकरण कार्यकारी समितिका विज्ञ सदस्यको संयोजकत्वमा यी छवटा समिति गठन गरिएको हो । गैरसरकारी संस्था परिचालन कार्यविधि २०७२ मा अतिविपन्न परिवार, विपन्न दलित, नाबालक सन्तान मात्र भएका विधवा र एकल महिलाको परिवार, ७५ वर्ष नाघेका ज्येष्ठ नागरिक मात्र सदस्य भएको परिवार र अपाङ्गता भएका एकल व्यक्तिको परिवारको पहिचानका लागि मापदण्ड बनाउन विज्ञ सदस्य डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको प्राधिकरणले जनाएको छ ।

निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधिको दफा ४ को उपदफा ९२० बमोजिम भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण गर्न अर्का विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

‘अनुदान सम्झौता गर्नुअघि घर निर्माण गरेका वा निर्माणाधीन रहेका घरधनीलाई अनुदान कार्यविधि अनुसार सम्झौता गरी निजी आवास अनुदान उपलब्ध गराउन र गत जेठ १० गतेको निर्देशक समितिको निर्णयअनुसार बूढीगण्डकी आयोजना डुबान क्षेत्रमा रहेका बूढीगण्डकी जलविद्युत् विकास समितिले पहिचान गरेका घरधनीको पुनःस्थापना तथा बसोवासको व्यवस्था गर्न कार्यविधि बनाउन पनि डा श्रेष्ठकै संयोजकत्वमा समिति गठन भएको छ ।

अशक्तका लागि बनाइने घरको डिजाइन तयार गर्नका लागि पनि डा. श्रेष्ठकै संयोजकत्वमा समिति गठन गरिएको छ । सार्वजनिक भवन, विश्वविद्यालय, स्वास्थ्य संस्था तथा अस्पतालको डिजाइन र मापदण्डका बारेमा सुझाव पेस गर्न विज्ञ सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सहरी क्षेत्रका घना बस्तीमा भूकम्पले पुर्‍याएको क्षतिलाई दृष्टिगत गरी जोखिमयुक्त बस्तीको पहिचान गरी नयाँ बस्ती विकासको योजना मस्यौदा गर्न विज्ञ सदस्य ध्रुव शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

गठन गरिएका सबै समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवस्तरका अधिकारी, काठमाडौं उपत्यका विकास प्राधिकरणका निर्देशक, नेपाल इन्जिनियरिङ एसोसियसनका विज्ञ सदस्य एवम् सम्बन्धित केन्द्रीय आयोजना इकाइका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।

 

तपाईंको बिचार