Saturday, November 18, 2017

समाज सेवाका पर्याय गैरआवासीय नेपाली लोक दाहाल

प्रकाशित मिति: 2017/10/10

असोज २४, काठमाडौं । आज भन्दा अठार वर्ष अघि बेल्जियम पुगेका धादिङका लोक दाहाल अहिले बेल्जियममा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् ।  

बेल्जियम पुगेपछि सुरुवाती समयमा रेष्टुरेन्टमा भाडा माझ्ने देखि खेतबारीमा गोलभेडा टिप्ने काम गरेका दाहालको अथक मेहनत र परिश्रमबाट नै यो परिचय बन्न सफल भएको हो । हाल बेल्जियममा उनको ५ वटा  रेष्टुरेन्ट संचालनमा छ । 

सुरुमा ट्राभल एन्ड टुरिजम विषयको अध्ययन गर्न नेपालबाट सिंगापुर पुगेका उनी भिजिट भिसामा सन् १९९९ मा बेल्जियम पुगेका थिए । बेल्जियममा शरणार्थी सम्बन्धि अध्ययन गरेका उनले सन् २००४ मा त्यहाँको पिआर पाए ।   

सोही समय देखि अर्थात सन् २००४ देखि नै उनी गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियममा आवद्ध भएका हुन । सन् २००४ मा गैरआवासीय नेपाली संघ बेल्जियमको कोषाध्यक्ष पदको उम्मेदवार बनेका दाहाल सो समय पराजित हुन पुगे । त्यसपछि सन् २०१५ मा भएको निर्वाचनबाट महासचिव पदमा विजय भएका उनी सन् २०१७ मा भएको निर्वाचनबाट एनआरएनए बेल्जियमको अध्यक्ष पदमा विजयी भए । 

बेल्जियममा आफ्नो ब्यस्तताका बाबजुत पनि दाहालले नेपाल प्रतिको प्रेमकै कारण यहाँ आइपर्ने प्राकृतिक प्रकोपमा सहयोगी हात अघि बढाउनुका साथै मुलुकको स्वास्थ्य, शिक्षा क्षेत्रको विकासमा पनि सहयोग गर्दै आएका छन् । सोही अनुसार नेपालमा विसं २०७२ साल बैशाख १२ गते गएको भूकम्पले निम्ताएको विपतका बेला पिडितलाई राहत वितरण देखि पुनर्निर्माणमा समेत लगातार सहयोग गर्दै आएका छन् ।  

भूकम्प गए लगतै उनले धादिङ जिल्लाको बुढाथुम वडा नं ७ का एक सय ३० घरधुरीमा १५ लाख रुपैयाँ बराबरको जस्तापाता सहयोग प्रदान गरेका थिए भने त्यसको दुई हप्ता पछि बेल्जियमबाटै २७ जना चिकित्सक सहितको टोली ल्याएर १५ दिन सम्म स्वास्थ्य शिविर संचालन गरेका थिए । सो शिबिरबाट १५ सय भन्दा बढीले प्रत्यक्ष लाभान्विन्त भएका थिए । त्यस्तै दाहालले बुढाथुममै १ करोड २० लाख रुपैयाँको लागतमा बद्री विशाल उच्च माध्यामिक विद्यालयको भवन निर्माण गर्नुका साथै सोही स्कूलमा ५ लाख रुपैयाँको लागतमा खानेपानी ट्याङकी निर्माण गरिदिएका छन् । धादिङकै बसेरीको  महालक्ष्मी उच्च मावि र शिवालय उच्च माविलाई १५÷१५ लाख रुपैयाँको जग्गा खरिद गरिदिएका छन् । 

दैलेख जिल्लामा जंगली जीवन बिताईरहेका (जलेर घाइते) राउटे कपिल शाहीलाई दाहालले बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गरेर पठाएका छन् । आउँदो अप्रिलमा मुस्ताङ जिल्लामा स्वास्थ्य शिविर संचानल गर्नका लागि २४ जनाको टोली सहित उनी त्यहाँ जाने तयारीमा छन् भने नोभेम्बरमा अफ्रिकाको तान्जेनियामा स्वास्थ्य शिविर संचालन गर्नुका साथै स्कूल भवन निर्माण गर्ने योजना रहेको दाहालले बनाएका छन् । 

 

तपाईंको बिचार