Tuesday, August 22, 2017

३ हजारभन्दा बढि शिक्षक दरबन्दी खुल्ला

प्रकाशित मिति: 2015/04/10

काठमाडौं । शिक्षक सेवा आयोगले ३ हजार १ सय ८६ शिक्षकका लागि नयाँ दरबन्दी खुला गरेको छ । सो दरबन्दी देशभरका निम्न माध्यमिक तह र माध्यमिक तहका लागि आह्वान गरिएको हो । आयोगले २०७२ वैशाख २३ गतेदेखि १ महीना फारम भर्ने म्याद तोकेको छ । उक्त अवधिमा फारम भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर वैशाख ३० गतेसम्म भर्न सक्नेछन् । माध्यमिक र निम्न माध्यमिक तहमा गरी अहिले देशभर ३ हजार २ सय ४९ शिक्षक पद रिक्त छ । तर, आयोगले मावि तहमा १ हजार ३ सय २६ र निमावि तहमा १ हजार ८ सय ६० पदका लागि दरबन्दी खुला गरेको छ । शिक्षा विभागले पठाएको विवरणभन्दा माविमा ५९ तथा निमाविमा चार पद कमको मात्रै दरबन्दी खुला गरिएको छ । उक्त पदका लागि आयोगले असार ११ गते माध्यमिक र १२ गते निम्नमाध्यमिक तहको परीक्षा निर्धारण गरेको छ ।

आयोगका अनुसार अहिले नेपालमा सबैभन्दा बढी ८ सय ३८ जना अङ्ग्रेजी शिक्षकको आवश्यकता छ, जसअन्तर्गत निमावि तहमा ५ सय ५ र मावि तहमा ३ सय ३३ जना छन् । त्यस्तै, सबैभन्दा कम भने शिक्षा र संस्कृत व्याकरणमा एकएक जना मात्र छन् । यसैगरी, अङ्ग्रेजीपछि नेपालीमा ३ सय १८ शिक्षकका लागि विज्ञापन गरिएको छ । निमाविको गणित÷विज्ञानमा २ सय ९४ र सामाजिकमा २ सय ७७ पदका लागि विज्ञापन गरिएको छ, जसअनुसार माविको विज्ञानमा २ सय ७४, निमाविको विज्ञानमा २ सय ३९ र गणितमा २ सय २३ पदका लागि दरबन्दी खुला गरिएको छ । आयोगका अनुसार मावि तहमा गणितका लागि २ सय १७, नेपालीका लागि २ सय १२, सामाजिकका लागि १ सय ९९, लेखाका लागि ४०, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षाका लागि २४ र अर्थशास्त्रका लागि १६ पदमा दरबन्दी खुला गरिएको छ । यस्तै, निमाविको संस्कृत व्याकरणमा चार र माविका लागि एक, माविको कम्प्युटर विज्ञान स्वास्थ्य शारीरिक र संस्कृत साहित्यका लागि दुई/दुईओटा पदका लागि विज्ञापन गरिएको छ । माविको संस्कृतका लागि भने तीन पदका लागि विज्ञापन गरिएको छ ।

यसभन्दा अगाडि करीब १७ वर्षको अन्तरालमा २०६३ वैशाख ११ गतेदेखि १३ हजार ५९ शिक्षकका लागि दरबन्दी खुला गरिएको थियो । त्यसअघि २०५२ सालमा आयोगले नै शिक्षक छनाट गरेको थियो भने २०६१ सालमा आन्तरिक प्रक्रियामार्फत १२ हजार ९६ शिक्षक नियुक्ति गरिएको थियो ।

शिक्षक सेवा आयोग खुलेसँगै फारम भर्ने तरीका र योग्यताबारे धेरैको चासो बढेको छ । विशेषगरी नयाँ फारम भर्न चाहनेलाई आयोगले तोकेको आवश्यक न्यूनतम शैक्षिक योग्यतासँगै अन्य जानकारी हुन पनि आवश्यक छ ।

दरखास्त फारमका साथ पेश गर्नुपर्ने कागजात
-नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-शैक्षिक योग्यता (ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र)का प्रतिलिपि
-तालीमका प्रमाणपत्रका प्रतिलिपि
-अध्यापन अनुमतिपत्रको प्रतिलिपि
-समावेशी समूहका उम्मेदवारले समावेशी समूहको हो भनी सम्बन्धित निकायबाट प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
-दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनुपर्ने र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लब्धाङ्क विवरण (ट्रान्सकिप्ट र चारित्रिक प्रमाणपत्र)का प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
-दरखास्त फारमका साथ पेश गरिएका प्रमाणपत्रका प्रतिलिपि उम्मेदवार स्वयम्ले प्रमाणपत्रको पछाडि सक्कलबमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेको हुनुपर्ने ।

निम्नमाध्यमिक तहका लागि
-सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-गणित र विज्ञान विषयको शिक्षकका लागि विज्ञान वा अन्य सङ्कायबाट गणित र विज्ञान दुवै विषयमा प्रमाणपत्र तह वा सोसरहको योग्यता हासिल गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-सामाजिक अध्ययन विषयका हकमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-२ सय पूर्णाङ्ककोे शिक्षासम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षा उत्तीर्ण गरेको भए तालीमप्राप्त मानिनेछ ।

माध्यमिक तहका लागि
-सम्बन्धित विषयमा स्नातक तह वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सा सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा उम्मेदवार बन्न स्वास्थ्य वा स्वास्थ्य र शारीरिक वा जनसङ्ख्या विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महीने तालीम पूरा गरेको हुनुपर्ने ।
-अन्य सङ्कायबाट स्नातक तह पूरा गरी एकवर्षे बीएड गरेको व्यक्ति शुरूमा स्नातक गरेको वा एकवर्षे बीएड गरेकामध्ये आफूले रोजेको कुनै एक विषयमा उम्मेदवार बन्न सक्ने ।
-अङ्ग्रेजी, गाणित, विज्ञान, लेखा, सिभिल इञ्जिनीयरिङ, इलेक्ट्रिकल इञ्जिनीयरिङ, बाली विज्ञान वा पशुपालन र कम्प्युटर विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिसमेत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको भए तालीम नभए पनि उम्मेदवार बन्न सक्नेछ ।

समावेशीतर्फ
-समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरूले समावेशी समूहको आदिवासी/जनजाति, मधेशी, दलित समूहमा उम्मेदवार हुने व्यक्तिले कुनै एक पदका लागि भएको विज्ञापनमा कुनै एक समूहको उम्मेदवारका रूपमा मात्र प्रतिस्पर्धा गर्न सकिनेछ ।
-समावेशी पदमा समेत उम्मेदवार भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत जातिभित्र पर्ने/नपर्ने प्रमाणित भएको कागजात हुनुपर्ने तथा अपाङ्गको हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषद्ले प्रमाणित गरेको हुनुपर्ने ।

तपाईंको बिचार