Friday, October 20, 2017

विद्यार्थीलाई खेलको माध्यमबाट पढाउन ः जिशिका गोरखाको निर्देशन

प्रकाशित मिति: 2015/04/10

गोरखा । बाल विकास कक्षामा भर्ना भएका विद्यार्थीलाई खेलको माध्यमबाट सिकाउन जिल्ला शिक्षा कार्यालय, गोरखाले निर्देशन दिएको छ । चक, डष्टरमा केन्द्रित शिक्षण सिकाइ विधिभन्दा खेल तथा सङ्गीतका माध्यमबाट पढाउन कार्यालयले निर्देशन दिएको हो । ‘किताबको पाठ जस्ताको त्यस्तै घोकाएर सिकाइ उपलब्धि हासिल हुँदैन,’ सहायक जिल्ला शिक्षा अधिकारी नवराज पौडेलले भने, ‘खेल खेलाउँदै पढाउँदा सिकाइ प्रभावकारी हुन्छ । र, विद्यार्थीले पनि विषयवस्तुबारे छिट्टै बुझ्छन् ।’

खेलमार्फत विद्यार्थीलाई सिकाउन जिल्लाका २० ओटा विद्यालयको बालविकास कक्षामा पढाउँदै आएका शिक्षकलाई बाल अपाङ्ग टेवा संस्था र प्लानेट युजर्स नामक फ्रान्सेली संस्थाले ११ दिने अभिमुखीकरण तालीम दिएका छन् । खेल तथा गीतसङ्गीतबाट साना बालबालिकालाई सजिलै ज्ञानगुनका कुरा बुझाउन सकिने प्लानेट युजर्सका स्वयम्सेवक जोनले बताए । ‘गीत गाएर, खेल खेलाएर विद्यार्थी खुशी भएका बेला सिकाएका कुरा प्रभावकारी हुने देखिएको छ,’ उनले भने । स्थानीयस्तरमा खेर गएका विभिन्न सामग्रीलाई खेलकुद क्रियाकलापमा प्रयोग गर्न सकिने उनले बताए । खेल्दा, गीत गाउन पाउँदा साना विद्यार्थीहरू खुशी हुने भएकाले सिकाउन सजिलो हुने सरस्वती उमावि बोर्लाङका शिक्षिका विमला श्रेष्ठले बताइन् । बाल अपाङ्ग टेवा संस्थाका संस्थापक अध्यक्ष डेण्डी शेर्पाले गुणस्तरीय शिक्षाका लागि संस्थाले तालीम सञ्चालन गर्दै आएको बताए ।

तपाईंको बिचार