Sunday, November 17, 2019

चार लाख राशीको मदन पुरस्कार योगेश राजलाई, जगदम्बाश्री वैरागी काइँलालाई

प्रकाशित मिति: 2019/08/19

भदौ २, काठमाडौं । मदन पुरस्कार गुठीले २०७५ सालको  ‘मदन पुरस्कार’ विजेता घोषणा गरेको छ । २०७५ सालभरि प्रकाशित किताबहरुको संकलित सूचीबाट प्रारम्भिक मनोनयनमा परेका ७ किताबमध्ये योगेश राजको  ‘रणहार’ उपन्यासले सो पुरस्कार प्राप्त गरेको हो ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । यसैगरी २०७५ सालको जगदम्बाश्री पुरस्कार दीर्घ साधक साहित्यकार बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई दिने निर्णय सो बैठकले गरेको । काइँला तेस्रो आयामेली साहित्यिक अभियानका प्रारम्भकर्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत हुन् ।

यसै वर्षदेखि गुठीले दुबै पुरस्कारको राशी समेत बढाएर ४–४ लाख रुपैयाँ पुर्याएको छ । यसअघि २–२ लाखका दरले दिइँदै आएको थियो । पुरस्कार आउँदो असोज १२ गते वितरण गरिने गुठीले जनाएको छ ।

देशैभरिबाट २०७५ सालमा प्रकाशित भई गुठीलाई प्राप्त भएका २५७ कृतिमध्ये उत्कृष्ट ७ मा ध्रुव सापकोटाको कथासंग्रह ‘विचारको लास’, कुमार नगरकोटीको ‘ज्ञ’, सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’ तथा योगेश राजको ‘रणहार’ रहेका थिए ।

तपाईंको बिचार