Tuesday, April 25, 2017  |    

त्रिविको शैक्षिक अवस्थाप्रति राष्ट्रपति चिन्तित

प्रकाशित मिति: 2015/12/02

सुवास भट्ट/काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभूवन विश्वविद्यालयको खस्कँदो शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । त्रिविको एकचालिसौँ दिक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले समग्र शिक्षाप्रणालीमा प्रशस्त समस्याहरु देखिएको बताउँदै शैक्षिक गुणस्तर र उपलब्धी हासिल गर्न सरोकारवाला सबैलाई आह्वान गर्नुभयो ।
‘त्रिविका केही संकायहरुमा अझै प्रभावकारी रुपमा शैक्षिक कार्यतालिका लागू हुन नसकी विद्यार्थीहरुले तोकिएको समयमा आफ्नो अध्ययन पूरा गर्न पाएका छैनन् ।’ दशरथ रंगशालामा आयोजित समारोहमा बोल्दै भण्डारीले भन्नुभयो, ‘भौतिक साधनहरुको हालत नाजुक छ, पठनपाठन र व्यवस्थापनका लागि सूचना प्रविधिलगायतका अन्य आधुनीक प्रविधि प्रयोग हुन सकेको छैन् । सबै प्राध्यापकहरु आ –आफ्नो विधामा निपूर्ण हुने अवसर प्राप्त हुन सकेको छैन् ।’ उत्कृष्ट शैक्षिक उपलब्धी बिना मुलुकको विकास संभव हुन नसकेको भन्दै भण्डारीले शैक्षिक विकृति अन्त्यका लागि सरकार र स्वयं विश्वविद्यालयको प्रयास अपरिहार्य ठहर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित विद्यार्र्थीहरु पढ्न –लेख्नमात्रै जान्ने, अरु नजान्ने जस्तो विडम्बनापूर्ण स्थितिको चित्रण गर्दै सक्षम तथा सिपयुक्त जनशक्ति तयार गर्नु त्रिविको चुनौती रहेको बताउनुभयो । नयाँ संविधानले शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्विका लागि शैक्षिक जनशक्ति उपयोगी हुने धारणा राख्नुभयो । 
कार्यक्रममा बोल्दै शिक्षमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण संस्थाहरु राजनीतिकरणको चेपुवामा परेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । त्यस्तै उपकुलपति प्रा.डा. तीर्थराज खनियाले त्रिविलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै लग्ने प्रयत्न भईरहेको जानकारी गराउनुभयो । उहाँले उच्चशिक्षाको गुणस्तरलाई सुधार गर्दै अन्तर्राष्ट्रिय प्रणाली र मापदण्ड अनुरुप लगिने प्रतिवद्वता व्यक्त गर्नुभयो । 
समारोहमा त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकायअन्तर्गत ६० आंगिक र सम्बन्धनप्राप्त क्याम्पसका समारोहमा सहभागी ७ हजार ३४२ विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । 

 

तपाईंको बिचार