Wednesday, June 28, 2017  |    

तारुकामा विपी प्राविको निर्माण सम्पन्न, स्थानियहरु खुसिले गद्गद (फोटोफिचरसहित)

प्रकाशित मिति: 2015/12/06

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
एक महिनाअघिदेखि निर्माण थालिएको नुवाकोट तारुकास्थित विपी प्राविको निर्माण कार्य सम्पन्न भएको छ । गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्विस नागरिक बर्नहार्ट बुलर नेतृत्वको टोलीले उक्त विद्यालयको निर्माण गरेको हो । 
अत्याधुनिक सुविधासहितको उक्त विद्यालय निर्मार्णाथ ८० लाख रुपैयाँ खर्च भएको संयोजक लम्सालले जानकारी दिनुभयो । भूकम्पप्रतिरोधी विद्यालय भवनहरुमा आधुनिक शौचालयको साथमा सोलार प्यानल जडान गरिएको छ, भने रंगरोगनको काम चलिरहेको छ । 
गत शुक्रबार आयोजित कार्यक्रमका बीच विद्यालयको उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथितिका रुपमा निम्त्याईएका लम्सालले आफ्नो संयोजनमा छोटो समयमा नै विद्यालय निर्माणको काम सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालय नियमित सञ्चालनका लागि रंगरोगनलगायतका बाँकी काम सकिएलगत्तै अर्को विद्यालयको निर्माण सुरु गरिने जानकारी उहाँले दिनुभयो । आगामी १५÷२० भित्रै वडा नं.५ स्थित नमुना जनजागृति प्राविको निर्माण थालिने र सोपश्चात वडा नं. ८ को हस्तिकेशरको निर्माण सुरु गरिने जानकारी दिनुभयो । 
लम्सालले तारुकामै खानेपानी र हस्पिटल निर्माणका लागि प्रकृया अघि बढिसकेको जानकारी दिनुभयो । 
कार्यक्रममा बोल्दै बर्नहार्ट बुलरले छोटो समयभित्रै विद्यालयको निर्माण सम्पन्न भएकोमा आफू अत्यन्त हर्षित भएको बताउनुभयो । सामाजिक सेवाका लागि आगामी दिनमा पनि आफ्नो सहयोग जारी रहने बताउनुभयो । 
त्यस्तै कार्यक्रममा बोल्दै तारुकाका स्थानिय बासीसमेत रहनुभएका गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीले लम्सालको सामाजिक कर्मको प्रशंसा गर्नुभयो । तारुकाको विकासका लागि लम्सालबाट स्थानियहरुले थप सहयोगको अपेक्षा गरेको अधिकारीले बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक मदन बरालले चमत्कारीपूर्ण काम गरेको भन्दै लम्साल, बुलर र अधिकारीलाई अभिनन्दनसहित विशेष सम्मान गर्नुभएको थियो । 
त्यस्तै तारुकाबासीले पनि विद्यालय बनाईदिएर ठूलो कल्याण गरेको भन्दै लम्सालसहितको टोलीलाई भब्य स्वागत गरेका थिए । 

 

तपाईंको बिचार