Tuesday, October 17, 2017

दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजना

प्रकाशित मिति: 2015/05/25

दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजनादोलखा । गत वैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखाको जनजीवन सामान्य हुनुअगावै शिक्षा र स्वास्थ्य कार्यालयले आपत्कालीन कार्ययोजना सार्वजनिक गरेका छन् । भूकम्पले दोलखाका अधिकांश विद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि ६० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । सोहीकारण जिल्लाको शैक्षिक वातावरण बिग्रिन नदिन शिक्षा कार्यालयले आपत्कालीन कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । दोलखामा ग्रामीण भेगका ९५ प्रतिशत विद्यालय भवनका साथै शौचालय, खानेपानीलगायत पूर्वाधार नष्ट भएको प्रारम्भिक अनुमान छ । जिल्लाको बलियो भनिएको चरीकोटस्थित भारतीय सरकारको सहयोगमा निर्मित कालिञ्चोक उमावि र जिरी उमाविको नयाँ पक्की भवनसमेत भूकम्पले क्षतिग्रस्त भएको छ । त्यस्तै, वैशाख २९ गते आएको शक्तिशाली पराकम्पनले थप विद्यालय क्षतिग्रस्त बनाएको बताइएको छ । जिल्लाका अधिकांश विद्यालयको अवस्था नाजुक रहेकोले बालबालिकाको पढाइलाई व्यवस्थित गर्न आपत्कालीन शिक्षा कार्ययोजना अघि सारिएको लोप्चनले जानकारी दिए । पठनपाठन कार्यलाई निरन्तरता दिनका लागि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने कार्ययोजना बनाइएको उनको भनाइ छ ।कार्ययोजनामा अस्थायी सिकाइ केन्द्रका लागि प्रति कक्षाकोठा ५० हजार रुपैयाँ लागत प्रस्ताव गरिएको सहायक जिशिअ माधवप्रसाद शर्माले बताए । दोलखामा सामुदायिक तथा संस्थागत बालविकास केन्द्र, प्रावि, निमावि, मावि, उमावि, प्राविधिक शिक्षालय, क्याम्पस, धार्मिक विद्यालय र गृहिणी विद्यालय गरी ८ सय २८ शिक्षण संस्था छन् । जिल्ला शिक्षा कार्यालयको कार्यालय भवन भूकम्पका कारण नष्ट भएपछि एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा समस्या भएको छ । अहिले त्रिपालको व्यवस्था गरी उत्तरपुस्तिका परीक्षण भइरहेको पनि उनले जानकारी दिए ।

 

त्यस्तै, स्वास्थ्य कार्यालयले गत वैशाख १२ गतेको भूकम्पले २५ पूर्ण क्षति र १९ आंशिक क्षति भएको स्वास्थ्य चौकीहरूको विवरण सार्वजनिक गरेको छ । वैशाख २९ गतेको भूकम्पले पुर्‍याएको थप क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । अहिले व्यक्तिको घर, त्रिपाल वा एम्बुलेन्समै राखेर उपचार सेवा दिने कार्ययोजना कार्यालयले अघि सारेको छ । यसअघि विपत्तिका बेला कार्यक्षेत्रमा नभएको भन्दै डा अर्जुन सापकोटालाई निलम्बन गरेको थियो । अहिले स्वास्थ्य कार्यालयले नयाँ प्रमुख डा खगेश्वर गेलालको नेतृत्वमा यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । केही दिन त्रिपालबाट भए पनि औषधोपचार सेवा दिएर मर्मत गर्न मिल्ने व्यक्तिको घरबाट सेवा सञ्चालन गरिने योजना रहेको उनले बताए । प्रकोप व्यवस्थापनका लागि दुई डाक्टरको नेतृत्वमा छुट्टै टोलीको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

तपाईंको बिचार