Monday, June 26, 2017  |    

तनहुमा पहिलो धार्मिक महोत्सव सुरु

प्रकाशित मिति: 2016/01/21

गन्तव्य नेपाल न्यूज/ तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा आयोजित धार्मिक एवं शैक्षिक महोत्सव २०७२ को राष्ट्रपति विधादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सात दिनेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनका अवसरमा राष्ट्रपति भण्डारीले उच्चशिक्षामा अन्तर्राष्ट्रियकरण भएकाले नेपालका उच्च शैक्षिक संस्थालाई थप चुनौति थपिएको बताइन् । उनले वर्षेनी हजारौं विद्यार्थी विदेशिने गरेकोले अब नेपालमा नै समयसापेक्ष, समाज सुहाउँदो, सिर्जनात्मक शिक्षा आजको आवश्यकता भएको धारणा राखेकी थिइन् ।

राष्ट्रपति भण्डारीले शैक्षिक क्षेत्रमा गुणस्तरप्राप्त आदिकवी भानुभक्त क्याम्पसको प्रशंसा गर्दै मानक विश्वविद्यालयको पूर्वाधार र प्राविधिक शिक्षाका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित धार्मिक एवं शैक्षिक महोत्सव सफलताको कामना गरेकी थिइन् । यसैवीच, राष्ट्रपतिले महोत्सवको उद्घाटन पश्चात महोत्सव स्थलमा स्थापित यज्ञमण्डप, गौशाला र धनधान्याञ्चलमा विशेष पूजाअर्चना गरेकी थिइन् । महोत्सव उद्घाटनका क्रममा विशिष्ट अतिथि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले बदलिँदो समयको मागबमोजिम क्याम्पसले विज्ञान तथा प्रविधियुक्त विषय सञ्चालनका लागि आपूmले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख बाचक गुरु गोविन्दशरण महाराज, मुस्लिम धर्मका धर्मगुरु सलिम अहमद, क्रिश्चियन धर्मकागुरु पास्चर डाक्टर मायालु खड्का, बोन धर्मका धर्मगुरु उग्रेनी प्हवौ खेगी हस्तबीर दु, बाचिका मिरादिदीलगायतका वक्ताले सम्पूर्ण धर्मको सार असल बानी, व्यवहार र आचरण भएकाले नैतिक, भौतिक र आर्थिक सहयोग गरेर महोत्सव सफल बनाउन आह्वान गरेका थिए । कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा सांसदहरु टुकराज सिग्देल, रामचन्द्र पोखरेल, विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकयका प्रमुख, संघसंस्थाका प्रमुख, हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध, बोन धर्मका अनुयायी, विद्यालय, क्याम्पस, आमा समूह, सामुदायिक बन उपभोक्ता समूह, यूवा क्लव, टोल समूहको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लामै पहिलो पटक आयोजना भएको धार्मिक एवं शैक्षिक महोत्सवमा जिल्लाबासीले एकतासमेत प्रदर्शन गरेका छन् । महोत्सवमा १ लाखभन्दा बढी व्यक्तिहरुले सहभागिता जनाउने र ५ करोड रुपैयाँ भन्दाबढी सहयोग संकलन गर्ने लक्ष्य रहेको महोत्सवका सदस्य सचिव एवं क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । यस क्षेत्रकै गौरवको रुपमा रहेको आदिकवि भानुभक्त क्याम्पसलाई आर्थिक, भौतिक र नैतिक समर्थन जुटाइदिनका लागि आयोजकले जिल्लाबासी संग आग्रह गरेका छन् ।

तपाईंको बिचार