Friday, October 20, 2017

राजधानीमै पाठ्यपुस्तक अभाव

प्रकाशित मिति: 2016/04/21

बैशाख ९। काठमाडौं ।  शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा राजधानीकै सामुदायिक विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न पाएका छैनन् । मन्त्रालयले वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक दिवस मनाएर मुलुकभर अभियान सञ्चालन गरिरहेको छ ।
 थानकोटस्थित मंगलोदय माविले पुस्तक अभावमा अझै विद्यालय खोल्न सकेको छैन । पुस्तक खरिदका लागि स्थानीय विक्रेतालाई चैतमै पैसा बुझाइसकिए पनि अझै पुस्तक हातमा नपरेको विद्यालयका प्रधानाध्यापक लीलानाथ शर्माले बताए ।
 
शर्माका अनुसार उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्मका पुस्तक आइसकेका छन्। ’विक्रेतालाई ताकेता गरिरहेका छौं, तर कक्षा ६ देखि १० सम्मका कुनै पनि पुस्तक पाएका छैनौं। त्यसैले विद्यालय खोल्न सकेका छैनौं’, शर्माले भने।
 ललितपुरको मदन स्मारक उच्चमाविका प्रधानाध्यापक गोविन्द पौडेलले शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यालय खुले पनि पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको बताए ।
उनका अनुसार माथिल्ला तहका कक्षामा पुस्तक अभाव छ। ’कक्षा नौ र दसमा अर्थशास्त्र, कक्षा आठमा नेपाली, अंग्रेजीलगायतका विषयका पुस्तक अभाव छ’, हाडाले भने। प्राथमिक तहमा भने पुस्तक अभाव नभएको उनले बताए।
 
सरकारले कक्षा एकदेखि पाँचसम्मका पुस्तक छपाइ र वितरणको जिम्मा निजी क्षेत्रलाई दिएको छ। रानीपोखरीस्थित दरबार हाइस्कुलमा पनि विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसकेका कारण पढाइ सञ्चालन गर्न कठिन भएको छ।  
 
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक र्पुयाउनुपर्ने कक्षा ६ देखि दससम्मका विद्यार्थीका लागि यस वर्ष एक करोड ६० लाख थान पुस्तक आवश्यक पर्छ। कक्षा एकदेखि पाँचसम्मको पुस्तक छाप्ने जिम्मा पाएका निजी मुद्रण संस्थाले भने एक करोड ८० लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ। निजी क्षेत्रले छापका पुस्तक भने वितरण भइसकेको निजी मुद्रण संस्थाहरूले जनाएका छन्।
 
अपुग पुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापिरहेको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले मुलुकभर आवश्यकमध्ये ७० प्रतिशत पुस्तक वितरण भइसकेको दाबी गरे। वैशाख १५ गतेभित्र मुलुकभर पुस्तक वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए।
 
 

 

तपाईंको बिचार