Friday, October 20, 2017

११ र १२को परीक्षा तयारी पूरा

प्रकाशित मिति: 2016/04/30

वैशाख१८, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा तयारीबारे जानकारी दिएको हो।
 
मुलुकभर कक्षा १२ को परीक्षा वैशाख २० गते र ११ को परीक्षा जेठ २ गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार यसपटक कक्षा १२ मा मुलुकभरबाट तीन लाख ४६ हजार चार सय २७ जना सहभागी हुँदैछन् । त्यस्तै कक्षा ११ को परीक्षामा मुलुकभरबाट तीन लाख ६९ हजार चार सय २६ जना सहभागी हुँदैछन्।
 
परीक्षा सञ्चालनका लागि मुलुकभर नौ सय २१ वटा केन्द्र निर्धारण गरिएको छ । हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष नियुक्त गरिएको छ। त्यसबाहेक दुई हजार पाँच सय १२ जना सहायक केन्द्राध्यक्ष, एक हजार नौ सय २१ जना पर्यवेक्षक तथा १३ हजार चार सय ३० जना निरीक्षक परिचालन गरिनेछ।
 
परीक्षा सञ्चालनका लागि एक हजार ६ सय ४१ जना कर्मचारी, दुई हजार चार सय ७६ जना कार्यालय सहायक तथा ११ हजार ५२ जना सुरक्षाकर्मी परिचालन गरिने नियन्त्रक अर्यालले जानकारी दिए। उनका अनुसार परीक्षा मर्या्दित बनाउन हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा सञ्चालन समिति गठन गरिएको छ।
 
परीक्षा अनुगमनका लागि शिक्षा मन्त्रालयको सहसचिवको नेतृत्वमा चारवटा टोली बनाएर अनुगमन गरिनेछ । त्यसबाहेक उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीको नेतृत्वमा पनि छुट्टै समितिले अनुगमन गर्नेछ। 
 
अनुगमनका क्रममा कुनै केन्द्रबाट परीक्षामा अमर्या्दित गतिविधि गरेको पाइएमा अर्को वर्षदेखि उक्त केन्द्र खारेजी गर्नेलगायत मर्यादा उल्लंघनको प्रकृतिअनुसार थप कारबाही गरिनेछ।

 

तपाईंको बिचार