Monday, December 11, 2017

डरका बीच आजदेखि विद्यालय सञ्चालनमा

प्रकाशित मिति: 2015/06/17

जेठ १७, काठमाडौँ । भूकम्पका कारण बिदा रहेका विद्यालयहरू आइतबारदेखि सञ्चलनमा आएका छन् । 

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झण्डै एक महीना विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयको निर्णयानुसार आइतबारदेखि अधिकांश विद्यालय खुले पनि भवन क्षति भएका केही विद्यालयमा अझै केही दिनपछि पढाइ हुनेछ । पढाइअघि मनोसामाजिक परामर्श दिने नीति सरकारको छ । 

काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ । सीमित टहराका कारण कतिपय निजी विद्यलायमा बिहान र दिवा गरी दुई सत्रमा विद्यालय सञ्चालन हुँदैछ । विद्यालय सञ्चालनसँगै जनजीवन सामान्यीकरण हुन थाल्ने अपेक्षा गरिएको छ । 

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको संयोजनमा विद्यालय खुल्ने बताए । कक्षा सञ्चालनको तयारीका लागि सूचना जारी गरिएको बताइएको छ । रासस

तपाईंको बिचार