Wednesday, June 28, 2017  |    

निजी बिद्यालयले लिने शुल्कमा बिद्यार्थी सङ्गठनको बिरोध, आन्दोलन नै गर्ने

प्रकाशित मिति: 2015/06/17

 

जेठ १९, काठमाडौँ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क लिने निर्णय गरेपछि त्यसरी शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । 

निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।   

अनेरास्ववियु(छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरेले पनि निजी विद्यालयले मनपरी शुल्क लिएकाले मिनाहाका लागि दबाब दिन सङ्गठनका बीचमा छलफल भइरहेको जानकारी दिए । विद्यालय भवनको भाडा तिर्नुपर्ने बहानामा पठनपाठन नै नभएको समयको समेत पुस्तकालय , अतिरिक्त क्रियाकलाप, खेलकुद, सवारी शुल्क आदि लिनु सरासर अव्यावहारिक भएको  लामिछानेले बताए । उनले कुनै पनि हालतमा आफूहरुले एक महीनाको शुल्क मिनाहा गराइछाड्ने बताएका छन् । 

आफ्ना मागका बारेमा शिक्षा मन्त्रालय मौन बसेकोप्रति पनि विद्यार्थी सङ्गठनले असन्तुष्टि व्यक्त गरेका छन् । गत वैशाख ६ गते भएको सम्झौता कार्यान्वयनतर्फ तत्काल सरकार लाग्नुपर्ने उनीहरुको माग छ । आफूहरुको विपत्तिबाट फाइदा नभई मानवीयता प्रदर्शन गर्न विद्यार्थी सङ्गठनले निजी विद्यालयलाई आग्रह गरेका छन् । रासस

तपाईंको बिचार