Wednesday, June 28, 2017  |    

खारामा निःशुल्क र अनिवार्य शिक्षा

प्रकाशित मिति: 2015/06/17

कुम (अस) । रुकुमको खारा गाविस निःशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, बालसरोकार केन्द्र रुकुमको सहजीकरण र खारा गाविस कार्यालयको आयोजनामा सो घोषणा गरिएको गाविस सचिव रुद्र देवकोटाले जानकारी दिए । उनले भने, ‘सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन खारालाई निःशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको छ ।’ 


नेपाल सरकारले आधारभूत शिक्षाअन्तर्गत कक्षा १ देखि ८ सम्म निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरेको छ । यसै नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले खारा गाविसलाई  जिल्लाको तेस्रो निःशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको बताइएको छ । कार्यक्रमको उद्घाटन गर्दै सभासद् गणेशमान पुनले अनिवार्य र निःशुल्क शिक्षा घोषणासँगै शैक्षिक गुणस्तर सुधार गर्न खारावासीलाई अनुरोध गरेका थिए ।  

विशेष अतिथि नेपाली काङ्ग्रेसका समानुपातिकतर्फका सभासद् मिठ्ठु मल्लले घोषणा मात्रै ठूलो उपलब्धि नभएकाले कार्यान्वयन पक्षमा जोड दिन खारावासीलाई आग्रह गरेकी थिइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले खारा गाविस जिल्लाको तेस्रो अनिवार्य तथा निःशुल्क गाविस घोषणा गरेसँगै जिल्ला विकास समितिले ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

निःशुल्क तथा अनिवार्य शिक्षा घोषणासँगै अब उक्त गाविसमा विद्यार्थी र अभिभावकबाट पाठ्यपुस्तक, भर्ना, अतिरिक्त क्रियाकलाप, शैक्षिकलगायत कुनै पनि शुल्क उठाइनेछैन । साथै, दण्डरहित बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप, गाविसका सबै बालबालिकामा शिक्षाको पहँुच विस्तार, बालश्रम तथा जातीयताको आधारमा बाल विभेद अन्त्य, विद्यालय सुधार योजना, गाउँ शिक्षा योजना र विद्यालय आचारसंहिता तथा शान्तिक्षेत्र घोषणाको कार्यान्वयनसमेत प्रभावकारी रूपमा गरिने बताइएको छ । खारा गाविसमा कुल बालबालिकाको ९८ प्रतिशत विद्यालयको पहुँचमा रहेको तथ्याङ्क छ ।

तपाईंको बिचार