Friday, October 20, 2017

पूर्वाञ्चलका २ हजार सामुदायिक विद्यालयमा क्षति

प्रकाशित मिति: 2015/06/17

 

धनकुटा । वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले पूर्वाञ्चल विकास क्षेत्रका २ हजार २३ ओटा सामुदायिक विद्यालयका भवनमा क्षति पुर्‍याएको छ । पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, धनकुटाको तथ्याङ्कअनुसार भूकम्पले यस क्षेत्रका सामुदायिक विद्यालयका ९ हजार ७ सय ७० कक्षाकोठा क्षतिग्रस्त भएका हुन् । कक्षाकोठामा बस्न नसकिने गरी क्षति भएपछि तत्कालका लागि अस्थायी टहरामा पठनपाठन शुरू गरिएको क्षेत्रीय निर्देशक माया राईले बताइन् । ती सामुदायिक विद्यालयका १ सय २४ ओटा शौचालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले १ सय ८ ओटा सामुदायिक विद्यालयको कम्पाउण्ड पर्खालमा पनि क्षति पुगेको छ । 

भूकम्पले कक्षाकोठामा ठूलो क्षति पुगेपछि पठनपाठनमा प्रत्यक्ष असर परेको छ । तत्कालका लागि स्थानीय स्रोतसाधनबाटै अस्थायी टहरा निर्माण गरिएको क्षेत्रीय निर्देशक राईले बताइन् । अहिले पूर्वाञ्चलका सबै सामुदायिक विद्यालयमा पठनपाठन सहज रूपमा भइरहेको उनको भनाइ छ । भूकम्पले पूर्वाञ्चलका १६ जिल्लामध्ये ओखलढुङ्गाका सामुदायिक विद्यालयमा सबैभन्दा बढी क्षति पुर्‍याएको तथ्याङ्कमा उल्लेख छ । ओखलढुङ्गाका २ सय ७४ सामुदायिक विद्यालयका ५ सय ३० ओटा कक्षाकोठामा बस्नै नहुने गरी क्षति पुगेको छ । त्यस्तै, सोलुखुम्बुका २ सय १६ सामुदायिक विद्यालयका ५ सय १७, खोटाङका ३ सय २७ सामुदायिक विद्यालयका ३ सय ३९, सङ्खुवासभाका २ सय ३० सामुदायिक विद्यालयका २ सय ९ र तेह्रथुमका २ सय २१ सामुदायिक विद्यालयका २ सय १० ओटा कक्षाकोठा क्षतिग्रस्त भएका छन् । अस्थायी टहरा निर्माणका लागि सम्बन्धित जिल्लाका दैवीप्रकोप उद्धार समितिमार्फत निम्न माध्यमिक विद्यालयलाई ७५ हजार र उच्च माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । पूर्वाञ्चलका दुर्गम पहाडी भेगमा जाने बाटो अप्ठ्यारो हुँदा निर्माण सामग्री ढुवानी गर्न भने असहज भएको छ । निर्देशक राईका अनुसार वर्षायाम शुरू हुनुअगावै अस्थायी टहरा निर्माण गरिसकिनेछ । विद्यार्थीलाई १ महीनासम्म पहिलो घण्टीमा भूकम्पीय जोखीमबाट बच्ने तरीकासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिइने बताइएको छ ।

तपाईंको बिचार