Wednesday, May 24, 2017  |    

सामुदायिकलाई पहिलो रोजाइको विद्यालय बनाइने : शिक्षामन्त्री

प्रकाशित मिति: 2015/06/27

असार ११, काठमाडौँ । शिक्षामन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयलाई पहिलो रोजाइको विद्यालय बनाउनेतर्फ शिक्षा मन्त्रालय अघि बढेको बताएकी छिन् ।

सरकारको लगानी भएका सामुदायिक विद्यालयको स्तर खस्किएको गुनासो आइरहेको सन्दर्भमा शिक्षामन्त्री यादवले ७५ ओटै जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय बनाउने योजना रहेको तर स्रोतसाधन पर्याप्त नभएको जनाएकी छिन् । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको शुक्रबारको बैठकमा मन्त्री यादवले भनिन्, “राष्ट्रले गौरव गर्न लायक विद्यालयका रुपमा सामुदायिक विद्यालयलाई विकसित गर्नुपर्छ । उनले भनिन्, ती विद्यालय विद्यार्थीको पहिलो रोजाइ हुनुपर्छ । त्यसका लागि सरकारले नीति र योजना बनाइरहेको छ । यसमा सहयोगका लागि आग्रह गर्दछु ।” 

भूकम्पप्रभावित जिल्लाका विद्यालयको पुनःनिर्माणका लागि प्राथमिकताका साथ बजेट र कार्यक्रम तर्जुमा गरिएको जानकारी दिँदै ती भन्दाबाहेकका जिल्लाका क्षतिग्रस्त विद्यालयलाई पनि समान व्यवहार गर्ने उनले बताएकी छिन् । सधैँ पाठ्यपुस्तक अभावको समस्या हुने सवाललाई अन्त्यका लागि कुनै जनक शिक्षा सामग्री केन्द्रजस्ता निकायलाई एकल जिम्मेवार (एकद्वार प्रणाली) बनाई समाधान गर्नुपर्ने आफ्नो धारणा रहेको उनले बताएकी छिन् ।  

समितिका सदस्यले भूकम्पप्रभावित विद्यालयलाई लामो समय पालमुनि राख्न नहुने, समयमा विद्यार्थीले पाठ्यपुस्तक पाउनुपर्ने, बजेट वृद्धि हुनुपर्ने, शिक्षा ऐन चाँडो संशोधन हुनुपर्ने, अनुगमन प्रभावकारी हुनुपर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । समितिका सभापति रञ्जुकुमारी झा (ठाकुर) ले शिक्षा ऐनको संशोधन विधेयक जेजस्तो अवस्थामा छ, त्यहीरुपमा संसद्मा ल्याउन आग्रह गरेका छन् । उनले मन्त्रालयको अनुगमन कार्यमा समितिसँग समन्वयका लागि पनि निर्देशन दिए । सेवाबाट बिदाइ गरिने शिक्षक तथा कर्मचारीका सुविधाबारे अर्थ मन्त्रालयबाट सहमति प्राप्त नहुँदा शिक्षा ऐनको विधेयकमा ढिलाइ भएको मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले अवगत गराएका थिए ।  

समितिले दिएको निर्देशनअनुसार सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेपनि हालसम्म प्रतिवेदन प्राप्त हुन सकेको छैन । रासस

तपाईंको बिचार