Friday, October 20, 2017

उत्कृष्ट नतीजाका लागि जेभिएर इण्टरनेशनल

प्रकाशित मिति: 2015/07/01

कालोपुलमा रहेको जेभिएर इण्टरनेशनल कलेजले कक्षा ११ का लागि भर्ना शुरू गरेको छ । ६ वर्षदेखि सञ्चालित कलेज हरेक वर्ष ९५ प्रतिशतभन्दा बढी विद्यार्थी उतीर्ण गराउन सफल रहेको उप–प्रधानाध्यापक सुजन बस्नेतले बताए । उनले भने, ‘२०५७ सालमा स्थापना भएको जेभिएर इण्टरनेशनल उत्कृष्ट नतीजा र अनुशासित शैक्षिक वातावरणका लागि परिचित कलेज हो ।’ विज्ञान, व्यवस्थापन र मानविकी सङ्काय रहेको कलेजमा बिहानी र दिवा सत्रमा पढाइ हुने गरेको छ । 

कलेजमा भर्ना हुनका लागि अनिवार्य रूपमा प्रवेश परीक्षा र अन्तरवार्ता उत्तीर्ण हुनुपर्छ । त्यस्तै, विज्ञान विषयका लागि ६० प्रतिशत, व्यवस्थापन विषयका लागि ५० प्रतिशत र मानविकी विषयका लागि ५० प्रतिशत एसएलसीमा अङ्क ल्याएको हुनुपर्छ । राजधानी र आसपासका विद्यार्थीका लागि असार १५ गते प्रवेश परीक्षा निर्धारण गरेको कलेजले उपत्यकाबाहिरका विद्यार्थीका लागि असार २२ गते तोकेको छ । विज्ञानमा ५ सय, व्यवस्थापनमा ५ सय र मानविकी सङ्कायका लागि ८० विद्यार्थी भर्ना लिने कलेजले साउन ३ गतेबाट कक्षा शुरू गर्ने तयारी गरेको छ । कलेजले विभिन्न विधामार्फत २ सय ६० विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको बस्नेतले बताए, जसमा ६० जनाले पूर्ण, ८५ जनाले ५० प्रतिशत र १ सय १५ जनाले २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् । योबाहेक भूकम्पपीडित विद्यार्थीका लागि कलेजले निर्णय गरी केही कोटा थप्ने बताइएको छ । 

गुणस्तरीय शिक्षा, उच्च प्रतिफल, अनुशासित वातावरण, दक्ष प्राध्यापक, व्यक्तिगत रूपमै विद्यार्थीको मूल्याङ्कन, वार्षिक रूपमा विभिन्न विषयसँग सम्बन्धित मेला र कार्यक्रमको आयोजना कलेजको विशेषता हो । जेभिएर कलेज देशकै उत्कृष्ट नतीजा ल्याउने उत्कृष्ट १८ भित्र पर्ने उनको बस्नेतले बताए । कलेजमा कक्षा ११ मा अध्ययन गर्न विज्ञान विषयका लागि ७५ हजार, व्यवस्थापन विषयका लागि ७१ हजार र मानविकी विषयका लागि ५९ हजार रुपैयाँ शुल्क लाग्ने कलेजले जानकारी दिएको छ ।

 
 

तपाईंको बिचार