Friday, October 20, 2017

भूकम्पपीडितलाई साउथ वेष्टर्न कलेजमा शतप्रतिशत छात्रवृत्ति

प्रकाशित मिति: 2015/07/01

साउथ वेष्टर्न कलेजले यो वर्ष ५ सय ४० विद्यार्थीका लागि कक्षा ११ मा भर्ना खुला गरेको छ । ५ वर्षअघि स्थापना भएको कलेजमा नर्सरीदेखि पीएचडी लेभलसम्मको अध्यापन हुने गरेको उपप्रधानाध्यापक हरि सिंह केसीले बताए । दिउँसो मात्र पढाइ हुने उच्चमावि तहको विज्ञान सङ्कायमा २ सय ८० जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । त्यस्तै, बिहान र दिउँसो पढाइ हुने व्यवस्थापन सङ्कायमा ३ सय २० जना र बिहान मात्र पढाइ हुने मानविकी सङ्कायका लागि ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । कलेजको विद्यार्थी क्षमता बढी भए पनि गुणस्तरीयताका लागि कम विद्यार्थी भर्ना गरिएको कलेजले बताएको छ । आवश्यक विद्यार्थीले कलेजकै होष्टेलमा बसेर अध्ययन गर्न पाउने सुविधा पनि छ । कलेजले कक्षा ११ को लागि असार १६ गते प्रवेश परीक्षा लिने भएको छ । प्रवेश परीक्षाका लागि ७५ जिल्लाकै विद्यार्थीले फारम भरेको उनले बताए । नियमित पाठ्यक्रमका साथै प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने कलेजले विद्यार्थीले पढेको विषयबारे कक्षामै प्रस्तुति (प्रिजेण्टेशन) दिनुपर्ने नियम बनाएको छ । त्यस्तै, नैतिक शिक्षा, असल बानी÷व्यवहारसम्बन्धी ज्ञान, नेतृत्व विकास तालीम, खोजी, अनुसन्धान र सामाजिक क्रियाकलापका माध्यमबाट अध्यापन गराउने अनिवार्य व्यवस्था गरेको केसीले बताए ।

कलेजमा भर्ना हुनका लागि अनिवार्य रूपमा प्रवेश परीक्षा पास गर्नुपर्ने नियम छ । त्यसमध्ये पनि विज्ञान विषयका लागि ६५ प्रतिशत, व्यवस्थापन विषयका लागि ५५ प्रतिशत अङ्क एसएलसीमा ल्याएको हुनुपर्छ । त्यस्तै, मानविकीका लागि भने एसएलसीमा उत्तीर्ण भए पनि प्रवेश परीक्षामा सफल हुनुपर्छ । कलेजले हालैको भूकम्पका कारण अभिभावक गुमाएका १० जना विद्यार्थीलाई कक्षा ११ र १२ मा शतप्रतिशत छूट दिइने बताएको छ । यस्तै, एसएलसीमा ८८ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने २५ जना विद्यार्थीका लागि ११ कक्षामा शुल्क छूटको व्यवस्था छ । योबाहेक उत्कृष्ट नतीजा ल्याउनेलाई कक्षा १२ मा पनि छात्रवृत्ति प्रदान गरिनेछ । विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि वार्षिक रूपमा विज्ञान विषयका लागि ७५ हजार, व्यवस्थापन विषयका लागि ५६ हजार र मानविकी विषयका लागि ४६ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ

तपाईंको बिचार