Monday, June 26, 2017  |    

एसएलसीपछिको योजना

प्रकाशित मिति: 2015/07/01

काठमाडौं । एसएलसीमा ८४ प्रतिशत ल्याई उत्तीर्ण भएकी एना महर्जन मेडिकल शिक्षासँगै पत्रकारिता पढ्ने योजनामा छिन् । उनले प्लस टूमा विज्ञान सङ्काय पढ्ने निर्णय गरेकी छिन् । मेडिकल क्षेत्रमा आफ्नो भविष्य बनाउने सोच राखकी उनले समयानुकूल विषयलाई ध्यानमा राखी त्यसैअनुसारको योजना बनाउने विचार गरेकी हुन् । आफ्नो रुचिको विषय भएकाले पत्रकारिता पनि अन्य विषयसँगै पढ्ने योजना उनको छ ।  एसएलसीपछि उच्च शिक्षा हासिल गरी सफल व्यक्ति बन्ने चाहना रहेको उनी बताउँछिन् । रिब्स स्कूलबाटै ८३ प्रतिशत अङ्क ल्याई उत्तीर्ण दीपिका ल्याब टेक्निसियन बन्ने योजनामा छिन् । डाक्टर पढ्ने लक्ष्य लिएकी उनले अहिले उक्त विषय पढ्ने विचार गरेकी हुन् । परिवारको आर्थिक स्थितिलाई ध्यानमा राखेर छोटो समयमै पूरा हुने भएकाले आफूले यो विषय रोजेको उनले बताइन् । ल्याब टेक्निसियनमा पनि करीब उस्तै पढाइ हुने र त्यस क्षेत्रमा राम्रो भविष्य भएकाले उनीलगायत धेरै साथीहरू उक्त विषय अध्ययन गर्ने मनस्थितिमा छन् । साथै, नेपालकै अस्पतालमा यसको माग रहेको हुँदा त्यस क्षेत्रमा करीअर बनाउन चाहेको उनको भनाइ छ । 

त्यस्तै, ८८ प्रतिशत प्राप्त गरेका दीपेश श्रेष्ठको योजना प्लस टूसम्म विज्ञान सङ्कायमा पढी इलोक्ट्रोनिक इञ्जिननीयर बन्ने छ । सानैदेखि यस क्षेत्रमा रुचि भएको उनले बताए । सामुदायिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण भएकी सलिना केसीको भने नर्सिङ पढ्ने सपना छ । तर, आर्थिक स्थिति कमजोर भएका कारण व्यवस्थापन अध्ययन गर्ने योजनामा रहेको उनी बताउँछिन् । प्लस टूसम्म राम्रो पढेर त्यसलाई निरन्तरता दिने र नेपाली सेनामा सेकेण्ड लेफ्टिनेण्ट बन्ने उनको नयाँ योजना छ । तर, कलेज छनोटको विषयमा भने उनीहरू अन्योलमै छन् । ‘आइरन गेट’ (फलामे ढोका)का रूपमा परिचित एसएलसी परीक्षाको नतीजासँगै उत्तीर्ण अधिकांश विद्यार्थी अलमलिन थालेका छन् । विभिन्न कलेजको भर्नासम्बन्धी सूचना, होर्डिङ बोर्ड तथा ब्यानरले शहरका सडक रङ्गीन थालेका छन् । कलेजैपिच्छे छुट्टै विशेषता तथा सुविधाको विज्ञापनले कुन कलेज छनोट गर्न भन्ने समस्या भएको उनीहरू बताउँछन् । कतिपय विद्यार्थी एसएलसीमा आएको अङ्कका आधारमा उच्चमाविमा अध्ययन गर्ने सङ्काय छनोट गर्छन् । केहीले भने योजनाबद्ध तरीकाले कलेज तथा सङ्कायको छनोट गर्ने शिक्षाविद्हरू बताउँछन् । त्यस्तै, केहीले अभिभावकको इच्छाअनुसार कलेज र विषय रोज्ने गरेका छन् । 

प्लस टू तहमा विषय छनोटका लागि अधिकांश विद्यार्थीले एसएलसीको प्राप्ताङ्कलाई आधार बनाउँछन् । विशिष्ट तथा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीले विज्ञान विषय नै पढ्नुपर्ने मान्यता छ । कम प्राप्ताङ्क आएको विद्यार्थीले भने व्यवस्थापन, मानविकी तथा शिक्षा विषय लिनुपर्ने पुरानो चलन छ । तर, एसएलसीको प्राप्ताङ्कभन्दा पनि आफ्नो रुचि पहिलो प्राथमिकतामा राख्नुपर्ने हिसानका उपाध्यक्ष रमेश सिलवालको भनाइ छ । प्लस टूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले पछि धेरैओटा क्षेत्रमा प्रवेश पाउँछन् । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थी तुलनात्मक रूपमा मेहनती र लगनशील हुनु जरुरी भएको मान्यता छ । विज्ञान विषय अध्ययन गर्ने धेरैजसो विद्यार्थीको दीर्घकालीन लक्ष्य मेडिकलमा एमबीबीएस÷एमडी गर्नु नै हुने गर्छ । त्यस्तै, उनीहरूले  इञ्जिनीयरिङ पनि अध्ययन गर्न सक्छन् । बैङ्क तथा वित्तीय संस्था र व्यवस्थापकीय क्षेत्रमा काम गर्न चाहने विद्यार्थीले व्यवस्थापन सङ्काय अध्ययन गर्छन् । व्यवस्थापनका विद्यार्थीले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा काम गर्ने अवसर पाउँछन् । अहिले विद्यार्थीहरूले जनरल म्यानेजमेण्ट मात्र नभई होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिजम पनि रोज्ने गरेका छन् । त्यस्तै, मानविकी सङ्कायमा अध्ययन गर्ने विद्यार्थीले सामाजिक विज्ञानको अध्ययन गर्न पाउँछन् । मानविकी सङ्कायमा धेरै नयाँ विषयले प्रवेश पाएका छन् । मानविकी सङ्कायअन्तर्गतका समाजशास्त्र÷मानवशास्त्र, आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यार्थीको आकर्षण बढी छ । शिक्षण पेशा अँगाल्न चाहने विद्यार्थीले शिक्षाशास्त्र सङ्काय अध्ययन गर्न सक्छन् । प्लस टूमा शिक्षाशास्त्र सङ्काय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा मानविकी सङ्काय पनि पढ्न पाउँछन् ।
 

तपाईंको बिचार