Wednesday, May 24, 2017  |    

उत्कृष्ट सामुदायिक विद्यालय, विद्यार्थी र अवकाश शिक्षकलाई सम्मान

प्रकाशित मिति: 2015/08/01

 

भक्तपुर, साउन  गते । सामुदायिक विद्यालयतर्फ २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट भएका भक्तपुरका सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई शुक्रबार यहाँ सम्मान गरिएको छ ।

सामुदायिक मावि सामूहिक परीक्षा समिति भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डिल्ली रिमालले अवकाश प्राप्त प्रधानाध्यापक तारामान जोशी, धर्मसुन्दर तुलाधर, हरिगोविन्द श्रेष्ठ, शिक्षक राजाराम श्रेष्ठ, भुवनचरण श्रेष्ठ, कुसुमलाल यादव, विजयलक्ष्मी भोमी, प्रेमराज थापा, निर्मला श्रेष्ठ र चन्द्रकान्त प्रजापतिलाई सम्मान गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा २०७१ सालको एसएलसीमा सामुदायिक विद्यालयबाट ८९।५ प्रतिशत ल्याउने सृष्टि दुमरु, ८८।७५ प्रतिशत ल्याउने रोशन श्रेष्ठ र क्षितिजधङ्ग श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै सम्मान गरिएको छ ।

एसएलसीमा शतप्रतिशत नतिजा ल्याउने बालप्रेमी मावि, सिरुटार मावि, ९२।३१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने आजाद मावि र ९१।८९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने मेघा मावि र जिल्लास्तरीय परीक्षामा उत्कृष्ट हुने सुजन घिमिरे र अनुशा शिल्पकारलाई पनि कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा विभागका महानिर्देशक रिमालले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारिँदै गएको भन्दै अझै सुधार्न मेहनत गर्नुपर्ने बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जिल्लाको शिक्षाको अवस्थालाई सुधार्न आफू क्रियाशील रहेको बताउनुभयो । त्यस अवसरमा सम्मानित हुने शिक्षक जोशी र समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति प्रेमबहादुर खड्काले सामुदायिक विद्यालय पनि निजीभन्दा कम नभएको दाबी गर्नुभयो । रासस

 

तपाईंको बिचार