Monday, December 11, 2017

दरबार हाइस्कुल पहिलेकै स्वरुपमा निर्माण गरिने

प्रकाशित मिति: 2015/08/10

काठमाडौँ, साउन २५ गते । सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल (भानु मावि)लाई यथावत स्वरुपमा पुनःनिर्माण गरिने भएको छ ।
भूकम्पका कारण क्षतिग्रस्त भएका विद्यालयहरुमध्ये दरबार हाइस्कुलको नक्सा तयार गर्न थालिएको छ । विद्यालयको आग्रहमा नेपाल वास्तुविद् समाज (सोना)का इन्जिनियरहरुले नक्सा तयार गरिरहेका छन् । 
सोनाका अध्यक्ष किशोर थापाले दरबार हाइस्कुलको नक्सा नै नभएको बताउँदै विद्यालयको आग्रह अनुरुप भवनको नक्सा तयार गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।उहाँले पुरानै स्वरुप यथावत रहने गरी नक्सा बनाइने र नयाँ भवन भूकम्पीय जोखिमयुक्त हुने बताउनुभयो ।
वि.सं .१९१० सालमा स्थापित सो विद्यालयलाई विभिन्न स्थानमा सारिदै आएकोमा तत्कालीन प्रधानमन्त्री वीरशमशेरले रानीपोखरीको पश्चिमतर्फ भवन निर्माण गर्न लगाइ वि.सं १९४८ सालमा राखिएको थियो । वि.सं १९९० सालको महाभूकम्पमा पनि दरबार हाइस्कुलको भवन भत्किएको थियो । भवन पुनःनिर्माण नगरुञ्जेल घण्टाघरको पूर्वतर्फको त्रिचन्द्र क्याम्पसको भवनमा सो विद्यालयलाई सारेर पठनपाठन सुचारु गरिएको थियो । सो विद्यालयमा सुरुबाट नै माथिल्लो तल्लामा दरबार हाइस्कुल र तल्लो तल्लामा संस्कृत पाठशाला सञ्चालन हुँदै आएको छ । अस्थायी टहरोको अभावका कारण हाल विहान र अपरान्ह दुवै विद्यालयले पालैपालो कक्षा सञ्चालन गर्दै आएका छन् ।
दरबार हाइस्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यालय भवनको नक्सा निःशुल्कमा तयार गरिदिन सोनालाई आग्रह गरिएको र सोनाले स्वीकार्दै नक्सा बनाइदिन लागेको बताउँदै भवन निर्माणका लागि हालसम्म रकम नजुटेको बताउनुभयो ।
“अनुमानित छ करोड रुपियाँ लाग्ने बताइएको छ” उहाँले भन्नुभयो, “विद्यालय हातामा अस्थायी टहरा बनाएर पठनपाठन गरिरहेका छौँ । भवन जीर्ण भएकाले दुर्घटना हुनसक्ने हुँदा तत्काल त्यसलाई भत्काउनुपर्ने अवस्था पनि छ । त्यसैले सरकारी स्तरबाट प्राथमिकताका साथ भवन निर्माण गरिदिन आग्रह गरेका छौँ ।”
शिक्षा विभागका सिनियर डिभिजनल इन्जिनियर झप्परसिंह विश्वकर्माले भूकम्पबाट प्रभावित सबै विद्यालयहरुको पुनःनिर्माणका लागि एकैपटक योजना लागू हुने बताउँदै भन्नुभयो, “एक महिनाभित्र योजना तयार गर्छौँ । त्यसपछिमात्र विद्यालयहरुको पुनःनिर्माणका लागि बजेट तर्जुमा होला ।”

तपाईंको बिचार