Sunday, August 25, 2019

पढ्ने चाहना पूरा गर्दै बृद्धा जुरीमायाँ

प्रकाशित मिति: 2018/09/01


खोटाङ । एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ । 

स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी र अङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उहाँ अहिले वाईवलसमेत पढ्न सक्ने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बी जुरीमायाँ भन्नुहुन्छ, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दा हल्ला भयो भन्ने गरेकाले आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हूँ ।” 

विसं २००१ साउन ८मा जन्मनुभएकी उहाँ गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहनुभएको छ । उहाँको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ । 

पढाइप्रति निक्कै इच्छुक देखिनुहुने जुरीमायाँ नबुझेको कुरा आफैँले पढेर बुझ्न सक्ने हुनाका लागि विद्यालयको नियमित विद्यार्थीका रुपमा बिहान १० देखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै रहनुहुन्छ । 

तीन वर्षअघि बित्नुभएका उहाँका श्रीमान् पूर्व बेलायती सेना हुनुहुन्थ्यो । विगतमा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन मरक्कामा रहँदा पढ्न शुरु गरेपनि त्यहाँ बसेको एक महीना बित्न नपाउँदै हङकङ सर्नु परेका कारण जुरीमायाँको पढ्ने चाहना अधुरै भएको थियो । सोहीे चाहना पूरा गर्न उहाँ अहिले कक्षा १ को विद्यार्थी बन्नुभएको हो । आफ्नोबाट सन्तान नभएपछि कान्छी श्रीमतीका रुपमा उहाँका श्रीमान्ले अर्को विवाह गर्नुभएको थियो । 

कान्छीतर्फबाट जन्मेका चार छोरी र दुई छोराले पनि राम्रो नपढेकामा जुरीमायाँको ठूलो गुनासो छ । श्रीमानको मृत्युपछि उनको पेन्सन जेठी–कान्छी दुबैले आधा–आधा थाप्ने गरेका छन् । नाति–नातिनीले धेरै पढेको हेर्न चाहने जुरीमायाँ कलिला बालबच्चासँगै बसेर सिक्न पाउँदा खुशी लागेको बताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँँ कक्षा कोठातिर देखाउँदै भन्नुहुन्छ, “मलाई त यहाँ आनन्द छ, एकदमै खुशी छु ।” 

अहिले विद्यालय जान थालेको महीना दिनमै जुरीमायाँले अङ्क जोड्न, अक्षर पढ्न र सार्न सक्ने भइसक्नुभएको छ । कोठामा एक्लै बस्नुहुने उहाँ बिहान बेलुकी खाना पकाउने, खाने अनि बाँकी रहेको समयमा लेख–पढमा बिताउनुहुन्छ । “अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ,” कुराकानीका क्रममा हाँस्दै उहाँ भन्नुहुन्छ । जुरीमायाँले एक महिनाको अवधिमा नै निक्कै प्रगति गर्नुभएको उल्लेख गर्दै शिक्षक नुरकाजी सैँजु भन्नुहुन्छ, “अध्ययनमा रुचि, चासो र नियमित उपस्थितिका कारण छोटो समयमा नै उहाँ लेखेको सार्न तथा अङ्क जोड्न सक्ने हुनुभएको हो ।” 

“मेरो आमा ७८ वर्षमा बित्नुभएको थियो, पढ्नमा उत्प्रेरित गराउन आग्रह गर्नुहुने ७५ वर्षकी एक आमालाई पढाउन पाउँदा आफूलाई गर्व भएको र धर्म पनि कमाइयो कि भन्ने लागिरहेको छ,” शिक्षक सैँजु बताउनुहुन्छ, “यो हामी सबैको गौरवको कुरा पनि हो ।” 

जुरीमार्याँलाई आफ्ना सहपाठीका कारण कक्षामा लेख्न लाग्दा अक्षर बिग्रेकामा चिन्ता हुन्छ, लेखपढ गरिरहँदा ३ देखि ८ वर्षसम्मका पनाती–पनातिनी सरहका सहपाठीहरु उहाँतिरै झुम्मिरहेका हुन्छन् । “यिनीहरूले हल्लाइदिएर मेरो अक्षर नै बिगारी दिन्छन् के गर्नु रु,” उहाँ भन्नुहुन्छ । 

बसेर लेख्दा बच्चाले हल्लाइदिने हुनाले उभेरै लेख्ने गर्नुहुने जुरीमायाँ भन्नुहुन्छ, “बच्चाहरू हल्ला त गर्छन् नि सर तर अब त बानी नै भैसक्यो ।” उक्त विद्यालयमा जुरीमायाँसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीहरू पनि अध्ययनरत छन् । जिल्लाको सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समय शैक्षिक तथा भौतिक संरचनामा भएको सुधारले जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको छ । 

तपाईंको बिचार