Thursday, June 27, 2019

पोखरामा किवानिज शैक्षिक सम्मेलन शुरु

प्रकाशित मिति: 2018/09/01

पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन शुरु भएको छ ।

शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको उद्घाटन गर्नुभयो । अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले बार्षिकरुपमा क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले १ सय बढि सहभागिलाई क्लव निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताउनुभयो ।  

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिर्वाय उपस्थिति भएको जानकारी दिनुभयो । उहाँले सम्मेलन मार्फत् आगामी बर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फ्त अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २५ वटा किविनिज क्लवमा ७ सय भन्दा बढि सदस्य आवद्ध रहेको उल्लेख गर्नुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौं’ उहाँले भन्नुभयो ।

यस्तै किवाजि इन्टरनेशनल सिन्धुपाल्चोक क्लवका अध्यक्ष सुजित बस्नेतले शैक्षिक सम्मेलनले क्लवका पदाधिकारीको सिप र प्रविधि विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सिन्धुपाल्चोक क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम गदै आएको जानकारी दिनुभयो ।

किवानिज चिल्ड्रेन फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्ड्रेन फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुभयो । उहाँले यसरी बन्ने उक्त कोष मार्फत् क्यान्सर पिडीत बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
 

तपाईंको बिचार