Tuesday, February 19, 2019

हाब्रोेसम्बन्धी पढाइ शुरु

प्रकाशित मिति: 2018/09/06

इलाम । विश्वमै लोपोन्मुख मानिएको हाब्रोे रेडपाण्डा जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ । 

हाब्रोे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रोे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ । 

उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ शुरु गरिएको छ । विद्यालयस्तरदेखि नै हाब्रोेसम्बन्धी जानकारी गराउन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ शुरु गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताउनुभयो । विशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि हाब्रोेसम्बन्धी जानकारी दिन लागिएको हो । 

खाम्दाकका अनुसार विद्यालयमा हाब्रोेसम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तुलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ । जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ शुरु गरिएको हो । यसै वर्ष थप चार विद्यालयमा समेत पढाइ शुरु गरिने तयारी गरिएको छ । 

रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा हाब्रोे रहेकोे तथ्याङ्क छ । तर, जिल्लामा हाब्रोेसम्बन्धी जनचेतना नभएको र कुकुरलगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका हाब्रोेसमेत जोखिममा परेका छन् । केही महिनाअघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले शिकार गरेको अवस्थामा एक हाब्रोे फेला परेको थियो । 

तपाईंको बिचार