Tuesday, October 17, 2017

जनचेतनामूलक कार्यक्रमसहित विश्व क्षयरोग दिवस मनाइँदै

प्रकाशित मिति: 2017/03/24

चैत ११, काठमाडौं । आज मार्च २४, विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व क्षयरोग दिवस मनाइँदैछ । यस वर्षको क्षयरोग दिवसको नारा ‘टिबी रोगविरुद्धको एकता’ तय गरिएको छ ।

क्षयरोगको किटाणु पत्ता लागेको घोषणा गरिएको दिनको सम्झनामा विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरियाका कारण लाग्ने रोग हो । स्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआइभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी, खकारमा रगत, छाती दुख्ने, ज्वरो आउने, राति पसीना आउने, थकाइ लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिनासम्म देखिन्छ ।

यस्तो बेला तत्काल परीक्षण गराएर औषधि सुरु गरे रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमित औषधि सेवन गरे यसबाट जोगिन सकिन्छ । औषधि नियमित खान छाडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधि नियमित सेवन गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

तपाईंको बिचार