Saturday, June 24, 2017  |    

अब ट्यांकरको स्टिकर हेरेर पानीको गुणस्तर र शुद्धता थाहा पाइने

प्रकाशित मिति: 2017/04/25

वैशाख १२, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपपछि करिब डेढ सय पानी बोक्ने ट्यांकरहरुलाई पानी परीक्षण गरि स्टिकर प्रदान गरिएको छ।

 खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पानी ट्यांकरमा रहेको पानीको परीक्षण गरी स्टिकर प्रदान गर्ने कुराको प्रगति र अनुमतिको विषयमा जानकारी लिंदा बोर्डले सो कुरा बताएको हो । मन्त्री शाहीले अनुगमन र परीक्षणलाई प्रभावकारी बनाएर जनतालाई सहुलियतमा पानी उपलब्ध गराउने आफूहरुको दायित्व भएको भन्दै पानीको गुणस्तर र शुद्धतामा कसैसँग सम्झौता नगर्न खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका छन् । उनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।
 
मन्त्री शाहीले पानी ट्यांकरहरुलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुनेगरी कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि खानेपानी व्यवस्थापन बोर्डले वैशाख ५ गते देखि पानी बोक्ने ट्यांकरहरुमा अनिवार्य रुपमा स्टिकर प्रणाली लागू गरेको छ।ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परीक्षण हुन नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको, सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो । ट्यांकरमा रहेको पानीको परीक्षण गरेर पानीको शुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिन थालेको छ।
 
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमै पानीको परीक्षण गरेर त्यसको शुद्धताको आधारमा निलो ,पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गर्छ । पानी बोक्ने ट्यांकरहरुले संचालन अनुमति लिनका लागि निवेदन हाल्दा अनिवार्य रुपमा पानीको स्रोत र स्थान खुलाउनुपर्ने हुन्छ । पानीको ट्यांकरहरुले दिएको निवेदनको आधारमा बोर्डले सम्बन्धित ठाउँमा गएर पानीको स्रोतमा परीक्षण गर्दछ । पानीको स्रोतमा गएर परीक्षण गरी बोर्डले स्टिकर दिएपछि मात्र ट्यांकरहरुले पानी भर्न पाउँछन्। ट्यांकरहरुले उक्त पानी कुन स्थानमा लगेर खसाल्न खोजेको हो त्यो कुराको समेत खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी दिनुपर्ने हुन्छ । बोर्डले त्यहि अनुसार पानी वितरण गर्ने ठाउँमा गएर पनि ट्यांकरमा रहेको पानीको परीक्षण गर्दछ।
 
पानीको शुद्धता कायम राख्न र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन उक्त विधि अवलम्बन गर्न मन्त्री शाहीले निर्देशन दिएका छन् । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए तुरुन्त कारवाही हुन्छ मन्त्री शाहीले भने। 
 
स्टिकर प्रणालीमा समावेश नभएका पानीका ट्यांकरबाट पानी वितरण गरेको भेटिए खानेपानी मन्त्रालयको टोल फ्री नम्बर १६६००१४२१११ मा आम नागरिकले जानकारी गराए तत्काल कारवाही पक्रियामा ल्याइने मन्त्री शाहीले बताए। काठमाडौं खानेपानी व्यवस्थापन बोर्डसँग अनुमति लिन र पानीको परीक्षण गर्नका लागि करिब ३०० ट्यांकरले आवेदन दिएको बोर्डले मन्त्री शाहीलाई जानकारी गराएको छ ।
 
केही समयभित्र आवेदन दिएका ट्यांकर र अन्य ५०० भन्दा बढीको संख्यामा रहेका ट्यांकरहरुलाई नियमित परीक्षण गर्ने बोर्डले बताएको छ । त्यसका लागि व्यवस्थापनको काम भैरहेको उसले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट संचालित ट्यांकरहरु भने पूर्ण रुपमा स्टिकर प्रणालीमा समावेश भैसकेका छन् । अधिकांश ट्यांकरहरुले निलो स्टिकर पाएका छन्।मन्त्री शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानीको प्रयोग गर्न सबैलाई  आग्रह गरेका छन्।
 
पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेलो स्टिकर प्रदान गरिने छ । पहेलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ । यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिन सक्छ । यस्तो पानी पिउने बाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ। 
 

तपाईंको बिचार