Thursday, July 18, 2019

टिम्स रकम नपाएपनि टानको प्रगति संभव छ :अध्यक्षका प्रत्यासी मुक्ति पाण्डे

प्रकाशित मिति: 2019/07/11

असार २६, काठमाण्डौ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको निर्वाचन मिति जति नजिकिदै छ, व्यावसायीहरु टान सुधारको रणनिती पेश गर्दै नेतृत्व घोषणा गर्दै आईरहेका छन । यही भदौ २० गते हुने निर्वाचनमा पछिल्लो समय नेतृत्वको भिडमा आईपुगेका छन ‘हिमालयन अनफुट ट्रेकिङ’ का सञ्चालक मुक्ति पाण्डे । अघिल्लो कार्यकालमा टानको सचिबको भुमिका निर्वाह गरिसकेका मुक्ति अरु उमेद्धवारभन्दा बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन ।
गन्तव्य नेपालको कार्यालयमा भावि नेतृत्वका रुपमा   कार्ययोजना पेश गर्न आईपुगेका पाण्डे टानले अहिले भोगिरहेको समस्यालाई सतही रुपमा गाली गर्नेहरु मात्रै भेटिएको भन्दै तथ्यपरक बिश्लेषणका आधारमा समाधानको उचित बिकल्प आफुसँग रहेको उनको दाबी छ । टिम्स रकमको रोईलोमा टान अल्झिरहेका बेला पाण्डेले भने टिम्स असक्षम नेतृत्वको रोईलो गर्ने ठाँउ मात्रै भएको भन्दै आफुले टिम्स रकम बिनै टानलाई समृद्ध बनाएर देखाईदिने मात्रै बताएनन, टिम्सलाई खारेज नै गर्नुपर्ने बताए ।
प्रश्तुत छ, टान नेतृत्वका उमेद्धवार मुक्ति पाण्डेसँग आधारित कुराकानी ।
१। टान नेतृत्वमा उमेद्धवारी किन ?
टानलाई फरक ढंगले चलायमान गराउनको लागि नै मेरो उमेद्धवारी हो । टान अहिले राजनीतिक चक्रव्यूहको चरम उत्कर्षमा छ, संभावनाको कुरा टाढै राखौ, संस्थागत रुपमा टानका लागि पठाईएको इमेल समेत खोलेर हेर्न नसक्ने स्थीतिमा छ, काम के हुँदै होला, आफै बुझ्न सकिन्छ । यसैलाई जगाउनका लागि नै मेरो उमेद्धवारी हो ।
२। तपाईलाई बिश्वास किन गर्ने ?
मैले के भन्दैछु भने, ट्रेकिङको बजार अहिले अनलाईन सिस्टममा छ,  अमेरिका, डेनमार्क जस्ता देशमा सञ्चालित अनलाईन बुकिङ साईटहरुबाट नेपालको पर्यटकीय गन्तव्यका टुर प्याकेज उनीहरुले बेच्ने र   उनीहरुले नाफा खाईरहने स्थीति सुधार्नुपर्छ, मैले भनेको छु ।  सम्झनुस सगरमाथा आरोहणको व्यावस्थापकिय पाटो नेपालकै कुनै व्यावसायिक संस्थाले अनलाईनमार्फत गर्छ भने बिदेशीको रोजाईमा नेपालकै संस्था हुन्छ, नकी बिदेशी पोर्टलले नाफा खाने काम त बन्द हुन्छ नी । अर्को कुरा टिम्स रकम पाईएन भनेर सतही कुरा गरेर रोईलो गरेर कार्यकाल सिध्याउने अनि सुरुमा भोट दिएका व्यावसायीको गाली खाएर नेतृत्वबाट बिदा हुनुपर्ने अवस्थाका बिच अहिलेका नेतृत्वहरु रहिरहेका छन । म त भन्छु, टिम्स रकम खारेज गर्नुपर्छ, यसले हामीलाई स्वावलम्बन हुन दिदैन, किनभने अघिल्लो कार्यकालदेखी अहिलेसम्म टिम्स रकम पाएनौ र पो त काम गर्न सकेनौँ भनेजसरी दोश लगाएर पाईलै नचाली बस्नु नै टान धरासायी हुनुको प्रमुख कारण हो । बाबुले छोरालाई अंश दिएन भने छोरो रोईकराई गरेर हिड्ने कि स्वावलम्बनको बाटोमा लाग्ने । ठिक पशस्त संभावनाहरु हुँदाहुँदै स्थीर भएर बस्नु नै हाम्रो दुर्भाग्य हो । अनलाईन प्रणालीलाई बिकास गरेर नेपालका पर्यटकीय गन्तव्यलाई बिश्वसामु चिनाउँदै सेवा प्रदान गर्न सकियो भने ठुला भाषण गर्नै पर्दैन, टिम्स खारेज गरेर स्वावलम्बनको एथेष्ठ खाकासहित अगाडि बढ्छु । टान सफल हुन्छ, हामी सफल हुन्छौ ।
३। तपाईले जुन तहमा कुरा गरिराख्नुभएको छ, धेरै व्यावसायीले त्यो बुझ्ने हैसियत पनि नराख्न सक्छन, यस्तोमा तपाईको एजेण्डा फेल हुने संभावना पनि छ नी ?
त्यही कारणले त म तपाई सँग आएको । राजनीतिक कार्यकर्ताका रुपमा वा भिडलाई उचालेर यस्तो उस्तो। भन्दै हिड्नु मैले उपयुक्त ठानेको छैन । व्यावसायीलाई व्याक्तिगत रुपमा भेटेर मेरा योजना यसप्रकार छ, म टानलाई यसरी रहरलाग्दो संस्थाका रुपमा परिणत गर्छु, समर्थन दिनुस भनेर भन्नेछु । यसबिचमा पनि अग्रज साथीहरुले तपाईले भनेजस्तै एकदमै राम्रो एजेण्डा उठाउनुभयो भनेर हौसला दिईरहेका छन । सबैको साथ र सहयोगमा सफल भएरै छाड्छु ।
४। एजेण्डागत भिन्नताकै कारण स्थापित हुन कत्तिको प्रेशर महशुस भएको छ ?
हेर्नुस, राम्रो परिणाम गहन अध्ययनबाट मात्रै सम्भव छ । टानमा अघिल्लो कार्यकालमा पनि पदाधिकारी तहमा काम गर्ने अवशर पाएको थिएँ,  तिनै अनुभवलाई आधार मानेर भड्किलो चुनाबको पक्षमा म छैन । ठमेलकै कुनै एक स्टार होटलमा सम्पूर्ण व्यावसायिलाई राखेर मैले गर्न खोजेको यो हो, यस ढंगले अघि बढ्दा टानले यो रिजल्ट प्राप्त गर्छ   भनेर स्पष्ट भन्नेछु । कदाचितः मेरो बिकल्प साथीहरुले भेट्नुभयो भनेपनि स्वीकार नै गर्छु । मेरो प्रयत्न रहर लाग्दो टान निर्माणको लागि हो । व्याक्तिगत लाभहानीको लागि होईन ।
५। जित्ने संभावना चै के कति ?
निर्धक्क भन्छु, एजेण्डागत आधारमा मैले मेरो प्रतिस्पर्धी देखेकै छैन । सतही कुरा जेजति बाहिर आएका छन, मैले त्यसको बिकल्प दिएको छु, चाहिँदैन टानलाई टिम्स, त्यो भने भरपर्दो आर्थिक स्रोतको कुरा गरेको छु, त्यसलाई प्राप्त गर्ने आधारसहित । यसअर्थमा स्वतन्त्र व्यावसायीले टानको नेतृत्व गर्नुपर्छ भनेर साथीहरुको आवाज आईरहँदा साँच्चै व्यावसायी साथीहरुको चाहना उहाँहरुले भनेअनुसार नै हो , राजनीतिक दुष्चक्रमा फस्न तयार हुनुभएन भने सफलता उन्मुख छु भन्ने लाग्छ ।
६ तर मुक्ति पाण्डेले आफु चर्चित हुनका लागि मात्रै यि कुराहरु गरिराखेको छ, भन्नेहरु छन नी ?
टान राजनीतिक पार्टीको भागबण्डाका रुपमा बिकास भईसकेपछि यसभन्दा अगाडिका नेतृत्व व्यावसायी त हो, तर राजनीतिक व्यावसायीको रुपमा पार्टीको काम गर्न थाल्नुभयो । नेतृत्व तहमा एकै पक्षको बहुमत नपुग्ने भएपछि बहुमतले अल्पमतले भनेका राम्रै कुराहरु पनि पेलेर जाने स्थीति बन्यो । यस्तोमा टान दुईपार्टीको स्वार्थ प्रभाव कायम गर्ने थलोका रुपमा मात्रै बिकशीत गर्ने काम भयो । यही चिन्ता जाहेर गरेर सुधार गर्छु भनेर स्पष्ट खाका सहित आउँदा चर्चित हुनका लागि भनिन्छ भने त्यो अन्याय हुन्छ । किनभने राजनीतिक प्रभाव कति सम्म छ भने नेतृत्वले टान कर्मचारी समेतलाई चलाउन नसक्ने स्थीति छ । बिधानले अध्यक्ष, महासचिब र कोषाध्यक्षले चाहेको जेपनि हुने अरु पद ताली बजाउने गरी व्यावस्था गरेको छ, त्यसले पनि टानमा मनपरीतन्त्र छ, यसलाई सुधार गर्नैपर्छ, राजनीति होईन, व्यावसायिक हितका लागि लाग्नुपर्छ भनेको हुँ ।

 

तपाईंको बिचार