Wednesday, October 23, 2019

चन्द्र रिजाल भन्छन, ‘टानमा मैले नगरे कस्ले गर्यो त ?’

प्रकाशित मिति: 2019/07/14

असार २९, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन यही भदौ २० गते हुने निर्णयसँगै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन ।

टान सुधारको लागि भन्दै एकपछि अर्को चर्को नारा लगाउँदै आकांक्षीहरु मैदानमा उत्रिरहेको बर्तमान स्थीतिमा टान नेतृत्वले काम गर्न सकेनन भनेर चर्चा भईरहँदा बास्तबीक टानको चरित्र चै कस्तो छ त यसबारे कमैको ध्यान पुगेको देखिन्छ ।
बाहिर बसेर  चर्का कुरा गर्ने र नेतृत्वमा असफल भए व्यावसायीले चुनेर पठाएको त हो नी भनेर पन्छिने नेतृत्व आजसम्मका टान उपज हुन ।
टान असफल हुनुमा नेतृत्व दोश की संरचनागत प्रभाव, यसैलाई बुझ्ने कोशिस गरेका छौ । यसका साथै आगामी टान नेतृत्व र कार्यदिशा र हालको टान गतिबिधीमाथि टानका पूर्व अध्यक्ष चन्द्र रिजाल सँग गरिएको संबाद जस्ताको तस्तै ।
१.टानको पूर्वअध्यक्ष हुनुहुन्छ, के गर्दैहुनुहुन्छ ?
पर्यटन क्षेत्रको व्यावसायी हुनुका हिसाबले व्यावसायीका समस्या बुझ्ने, आफुले जानेका बुझेका कुराहरु साथीहरुलाई बताउने, सरकार र व्यावसायीक संगसंगठनसँग सहकार्य गरी व्यावसायिक मुद्धामा लबिङ गर्ने काम गरीराखेको छु । जिन्दगी सामान्य हिसाबले नै चलिराखेको छ ।
२. टानलाई चौपट पारेर छाड्नुभयो, अहिले पनि टानको हालत उस्तै छ, भन्छन नी ?
हुदहुँदमा आँधीमा परेर ज्यान गुमाएका व्याक्तिलाई राहत, घाईतेको उपचार, लाङटाङ पदमार्ग पुर्ननिर्माण, भुकम्पले क्षतिग्रस्त ट्रेकिङ रुटको पुर्नउथ्थान, अन्तर्राष्ट्रिय क्षेत्रलाई नेपाल सुरक्षित छ, भुकम्पले क्षति पुगेका बाटो खोलिए आउनुस भनेर सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्नु भनेको टानलाई चौपट पार्नु हो की उँभो लगाउनु हो, व्यावसायीहरुले बुझ्ने कुरा हो ।
३. ४ बर्ष अघि तपाई अध्यक्ष हुँदादेखी अहिले नवराज दाहालको कार्यकाल सम्म पनि टानमा घोटाला भयो भनेर व्यावसायीहरुले भनिराखेका छन, टानमा धेरै पैसा रहेछ की के हो ?
दुई रुपैयाँ पनि हिनामिना गरेको कसैले प्रमाणित गर्छ भने पर्यटन बजारबाट हात धुन तयार छु । भोट नदिएका मान्छेहरुले आफुबिपरीतका व्याक्तिहरु नेतृत्वमा पुगेको हेर्न नचाहने मानबिय स्वभाव हो, यो टानमा अलिक बढि छ । यस्तोमा २ बर्षसम्म कसरी नेतृत्वलाई असफल बनाउन सकिन्छ भनेर ति व्याक्तिहरु लाग्ने रहेछन, जसले निर्वाचित अध्यक्षलाई भोट दिएका हुन्नन । सत्य हो, टानमा राम्रै रकम चलायमान हुन्छ । त्यसलाई पनि प्रयोग गर्ने सन्दर्भमा नेतृत्वबिपरीतका खेमाले असहयोग गर्ने र अघि भनेका व्याक्तिहरुले बिनापु्रफ बोलिरहने स्थीतिले टानलाई बदनाम बनाएको मात्र हो, नेतृत्वमा पुग्ने कोही पनि दुईचार लाख हिनामिना गर्नुपर्ने हैसियतमा छैनन । कसैको सामाजिक जिबनमा प्रभाव पर्ने गरी आक्षेप लगाउने कार्य नेपालमा मानबअधिकार भित्र पर्छ की जस्तो लाग्छ, कारबाही भोग्नुपर्ने भए कम्तीमा जेपायो त्यही बोल्ने थिएनन ।
४. हिजो टानमा रहँदा आर्थिक अपचलन गर्यो भनेर तपाईमाथि पनि आरोप लागेकै हो, अहिले पनि त्यस्तै छ, केके न गर्छु भन्थे, भेटे भनेजस्तो, बाहिरबाट हेर्दा रमाईलो लाग्या होला है तपाईलाई ?
म त्यसरी ताली बजाउँदै हिड्ने मान्छे होईन, त्यो कसैले पनि गर्नु हुँदैन । म सधै सकारात्मक सोच राख्ने व्यक्ति हुँ । विगतमा आफुमाथि भएका तितामिठा अभ्यासहरुलाई पनि क्षमा दिन सक्ने शक्ति म सँग छ । नेतृत्वले काम गर्न सकेन भने व्यावसायीले यसो भन्दैछन है यसरी जानुस भनेर सुझाब दिने हो, राम्रो लागेमा उहाँहरुले प्रयोग गर्नुहोला नत्र स्वनिर्णयले चल्न सबैलाई छुट छ ।
५. नवराज दाहालको कार्यशैली चै कस्तो ?
उहाँको क्षमता अनुसार गर्नुभाछ, अरु थाहा भएन ।
६. (दाहाल)ले राम्रो चै के गर्नुभयो भनेर सोधेको मैले ?
यहाँ टानले सम्पूर्ण व्यावसायीको हित गर्छ, गनुपर्छ भनेर सोचिन्छ । समस्या यहीनेर छ । ट्रेकिङसँग सम्बन्धीत केही काम गर्न सक्छ, तर सरकारको तवरले एउटा संस्थाले गर्न सक्दैन । व्यावसायीका मुद्धा उठाउनु भएको छ, सानातिना बिबाद हुनसक्छन, तर नराम्रो गर्नु भाछैन ।
७. मैले पनि गरिन उहाँ(दाहाल)को नराम्रो कुरा पो किन गर्नु भन्ने लाग्या होला है ?
बिल्कुल होइन, मैले नै उठाएको रेस्क्यु कार्यबिधी अहिले पारित भएको छ । करोडौँ रुपैया खर्चेर लाङटाङ पुर्ननिर्माण सम्पन्न भएको छ । पदयात्राका समस्या निराकरण, सामथ्र्यको प्रोजेक्ट धादिङमा सम्पन्न भएको छ । डब्लुडब्लुएफ बाट फण्ड प्राप्त गरि त्यसको परिचालन, कर्मचारीको तलबभत्ता, टिम्स रोक्नुहुँदैन भनेर बोर्डसँगका सहकार्य देखी पासाङल्हामुले एकतर्फी रुपमा उठाईरहेको टिम्सलाई रोक्ने कार्यको पहल, पर्यटक फोहोरमैलाको व्यावस्थापन, ईलाम देखी ताप्लेजुङ रुट जुन इसिमोड सँग सम्झौता गरी अलैची आर्कषण भुमिका रुपमा ट्रेकिङ रुटको थालनी, भुकम्पले नाका बन्द भएको तत्कालिन अवस्थामा टानको तर्फबाट संस्थागत रुपमा प्रधानमन्त्रीको भ्रमणदलमा सहभागि भएर चिनियाँ पक्षसँग नेपाली व्यावसायीको सरोकारका बिषयमा स्पष्ट भाषामा कुरा राखेको छु, भने अब मैले गर्नु पर्ने के ?
गर्बका साथ भन्छु, पछिल्लो दशकमा अन्य नेतृत्वमा भन्दा मेरो कार्यकालमा टानको गरिमालाई उँचो बनाउने गरी काम भएको छ । बोल्नलाई होईन, काम नै साक्षी छ ।
८. तर टिम्स रकमको समस्या त यहाँको कार्यकालमा नै थियो, यहाँले पनि ल्याउन सक्नुभएन, टानले नसकेको कि पर्यटन बोर्डले जबरजस्ती गरेको ?
यसमा टानका पूर्व नेतृत्व र पर्यटन बोर्ड दुबै पक्षको भुमिकाले काम गरेको छ । खर्च गर्ने सिलसिलामा थोरै तलमाथि हुँदा केही पूर्व नेतृत्वहरु टिम्स रकम रोक्नुपर्छ भनेर पर्यटन बोर्ड नै पुगे । यसमा महालेखा परिक्षकको कार्यलयको भुमिका पनि देखीयो । त्यसैले आधार बनाएर बोर्डले जवाफदेहिता बिहिन ढंगले रोक्ने काम गरिराखेको छ । यसलाई फुकाउने कोशिस भैराखेकै थियो, अहिले पनि जारी छ ।
९. तर अहिले टानमा नेतृत्वका आकांक्षी युवाहरुले टिम्स बिना पनि टानको प्रगति सम्भव छ, हामी गरेर देखाईदिन्छौ, रिजाल र दाहालले चै रोईलो गरेरै कार्यकाल बिताए, भन्नेहरु पनि छन नी ?
यो रिजाल वा दाहालको मात्रै सरोकार होईन । टानले एउटा पर्यटकबाट १०० रुपैया उठाएर पर्यटकहरुलाई परेका समस्या र ट्रेकिङ रुटका समस्या समाधान गर्ने भनेर सुरुवात भएको देखीन्छ । पछि सामाजिक संगठनले पैसा उठाएर खायो भनिए पछाडी सरकारको समेत सहभागिता हुने गरी पर्यटनबोर्डसँग समेत सहकार्य गरी टानले टिम्स उठाएर बार्डलाई बुझाउन थाल्यो, त्यसपछि त्यो आउनुपर्ने रकम बिभिन्न बहानाबाजी भएर आउन सकेन, यसमा हामी बोर्डको कारिन्दा मात्रै त होईनौ नी, हामीले पाउनुपर्ने हक खोजेको हो । यसैमा टेकेर मजदुर राहत, गन्तव्य पहिचान, अबैधानिक पर्यटन गतिबिधी माथि नियन्त्रणमा टानले सक्रिय भुमिका खेलेको कुरा बिर्सनु पनि त भएन नी । अन्तर्राष्ट्रिय मञ्चमा गएर स्पष्ट व्यावसायीका कुरा राख्ने मान्छे चन्द्र रिजाल नै हो, पाउनुपर्ने रकम नपाईसकेपछि कहिले उधारोमा कर्मचारी चलाउनुपर्ने स्थीति पनि आए, जति गर्न सकिन्थ्यो त्यति टिम्स नहुँदा भएन होला, तर यसअघि नै जेजति व्याख्या गरँे त्यो कसले गर्यो त ।
१०.टिम्स रकम नपाए चै टानले केही गर्न नसक्ने हो ?
बाबुले छोडेको सम्पती लिने हो की छोडीदिने तपाई आफै भन्नुस । नयाँ नेतृत्व लिन चाहने साथीहरुले पनि चाहिदैन भन्नुहुन्छ भनेपनि खारेज गरिदिउँ । तर यसअघि टान कारिन्दा भएर उठिसकेको २० औ करोड रुपैयाँ त्यक्तिकै  छोडीदिउँ भनेर चै अहिलेका युवा साथीहरुले पनि नभन्लान । हामीले काम गरेको पैसा देउ भनेको हो, भिख मागेको त होईन नी ।
११. टानको अबको उपयुक्त नेतृत्व चै को होला ?
सर्बसम्मत नेतृत्व हुनुपर्छ, व्यावसायीका हिसाबले सबै साथीहरु क्षमतावान हुनुहुन्छ । मैले यै व्याक्ति हुनुपर्छ भनेर भन्न सक्तिन । तर कस्तो हुँदो रहेछ भने निर्वाचित नेतृत्वलाई उसका बिपक्षी जसले भोट हालेनन, नेतृत्वमा देखीरहँन नचाहने कारणले २ बर्षसम्म नै असहयोग गरिरहने स्थीति हुने रहेछ ।
१२. सर्बसम्मत हुनै दिदैनौ भन्नेहरु पनि छन ?
धेरै पर्यटकीय संगठनका पूर्व अध्यक्षहरु एक ठाँउमा भेला भएर नैतिक समर्थन गर्ने अवस्थामा भावनात्मक रुपमा त्यो सर्बसम्मत नै हो । यस्तोमा व्यावसायीहरुले पनि आफै बुझ्छन, की परिवेश कस्तो छ, कसलाई चुन्ने भनेर ।
१३. अन्त्यमा, टानमा पुगेर के के न गर्छौ, नेतृत्व लिईसकेकाहरुले केही गरेनन भनेर अहिले जेजति मैदानमा छन, उनीहरुलाई भन्दीनुस त, टान कस्तो रहेछ ?
टानमा काम गर्न जाने हो, सजिलो छैन । सबै कार्यसमितीका सदस्यलाई  बिश्वासको बातावरण कायम गर्न सक्नुपर्छ । कर्मचारीले टानले उठाएका मुद्धालाई सहज रुपमा लिदैन । बिभिन्न एनजियो आईएनजियोले आफ्नो भुमिका स्वार्थअनुकुल मात्र काम गर्छन, यस्तोमा उनीहरुसँगको सहकार्य पनि धेरै अवस्थामा हितकारी नहुन सक्छ । म गएर केके न गर्छु भनेर बाहिर बसेर हल्ला गर्नु भनेको हँसीमजाक हो । सबैको कुरा सुन्न सक्ने, बिभिन्न बिरोधी बिकल्पहरुलाई दबाब र सुझाबका रुपमा ग्रहण गर्न सक्ने हुनु आवश्यक छ । बाहिर भन्दा तपाईले पठाएको त होनी, मैले सकिन भनेर भन्ने खालको कमजोर नेतृत्व हुनु भएन ।

तपाईंको बिचार