Monday, August 26, 2019

छिटो भात पाकेन भनेर छोडेर गएका हुन, पार्टी कमजोर भएर होईन :गोपालबाबु श्रेष्ठ

प्रकाशित मिति: 2019/07/21

साउन ५, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन यही भदौ २० गते तय भएसँगै अन्तरपार्टी नेतृत्वको चर्चा सुरु भएको छ ।

व्यावसायिक हित गर्न सक्ने उमेद्धवार नै टानको नेतृत्वमा आउनुपर्ने बताईदै आएको भएपनि यो सतही टिप्पणी मात्रै हो । अंकगणितका खेलमा अन्तरपार्टीहरु लागिरहँदा बाहिरी आवरणमा सबैले आफुलाई अब्बल साबित गराउने कोसिस जारी नै राखेका छन ।
पछिल्लोपटक तत्कालिन नयाँ शक्ति र फोरमबिच एकिकरण भएर बनेको समाजबादी पार्टीका तर्फबाट कामी रिन्जी शेर्पाले टान नेतृत्वमा उमेद्धवारी घोषणा गरेपछि पर्यटन बजारमा प्रतिष्पर्धी उमेद्धवारको संख्या पनि थपिन पुगेको छ ।
समाजबादी पार्टीको टान नेतृत्वमा उमेद्धवारी प्रति केहीले  खेतबारीमा झुक्याउन राखिएको बुख्याचाको स्वरुप जो, अगाडि देखा त पर्छ तर सार्थक परिणाम दिदैन, ठिक त्यसैगरी आफ्नो अस्तीत्व रक्षार्थ हल्ला गर्नका लागि मात्रै   भएको समेत टिप्पणी सुरु भएका छन ।
अंकगणितको हिसाब गणनामा आफु सर्बोत्कृष्ट ठान्ने नेतृत्वहरुको भिडका बिच आफ्नो पार्टीको तर्फबाट उमेद्धवारीको औचित्यलाई उपेन्द्र, बाबुराम नेतृत्वको समाजबादी पार्टीले चै कसरी लिएको छ, त यसैलाई बुझ्ने कोशिस गरेका छौ ।
समाजबादी पार्टीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठसँगको कुराकानी ।
१. पर्यटन क्षेत्रमा तत्कालिन नयाँ शक्ति अहिले एकिकृत भएपछिको ‘समाजबादी पार्टी नेपाल’को अस्तीत्व सकिएको हो ?
खै कस्ले भन्यो, कसरी सुन्नुभयो, हिजो भन्दा आज हामी बढेका छौ । हिजो प्रतिपक्षमा थियौ, अहिले सरकारमा नै छौ । यसअर्थमा पर्यटन क्षेत्रमा जोजो साथीहरु समाजबादी पार्टीसँग सक्रिय हुनुहुन्छ, खुसीको लहर छ, उत्साह छ । सकिएको कुरा हैन ।
२. टान निर्वाचनकै सन्दर्भमा पनि यहाँहरुले नेतृत्व दाबी त गर्नुभएको छ, तर त्यो खेतबारीमा चरा तर्साउन राखिने बुख्याचा जस्तै आफ्नो अस्तीत्व छ, भन्ने भ्रम पार्नका लागि मात्रै हो, भन्नेहरु छन नी ?
बुख्याचा भनेको तर्साउनकै लागि हो, तर्साउने किन भन्दा संरक्षण गर्न । कुरा ठिक हो, टान अहिले भद्रगोल अवस्थामा छ, अस्तव्यस्त बनाईएको छ, व्याक्तिगत स्वार्थ मात्रै हुँदा हिजोभन्दा आज झनझन बिग्रदै गएकाले   टानको जिम्मा हामी लिन्छौ भनेर खबरदारी गरेका हौ, हामी अस्तीत्व संकटको स्थीतिमा होईन, नेतृत्व लिने स्थीतिमा छौ ।
३. तर नेकपाले आफ्नो अंकगणित अबको ५० बर्ष राज गर्ने गरीको छ, भनेर भन्दै आईरहेको छ, यहाँहरु त बाहिर हल्ला गरेर बस्ने बाहेक केही नहुने भो ?
हिजो राजा र पञ्चेहरुले पनि यसै भन्थे । राजा गए, गणतन्त्र आयो, पञ्चायत सकियो, अहिलेको ओली नेतृत्वको नेकपाको हालत पनि त्यही हो । राम्रो काम गरेर हजार बर्ष टिक्नुस, शुभकामना पनि छ, तर दुर्भाग्य दिनदिनै सरकार अलोकप्रिय हुँदैछ, आउने निर्वाचनमा नै उहाँहरुलाई जनताले ठेगान लगाउनेछन ।
४. गोपाल बाबु श्रेष्ठ चलाख छ, पार्टीले हार्ने देखेपछि, कामी रिन्जी शेर्पालाई उमेद्धवारी घोषणामा अघि सार्यो भन्छन नी ?
हामीले जहिले पनि राजनीतिक हस्तक्षेपमुक्त टानको परिकल्पना गरिरहेका छौ । मैदानमा उत्रिसकेपछि हारजित हुन्छ, तर अहिलेसम्मको स्थीतिमा सम्मानजनक स्थीतिका बिच रिन्जी शेर्पाले टानको नेतृत्व सम्हाल्नु हुन्छ । व्यावसायी सँगका छलफल, उहाँहरुको भरोसा आदी सबै हेर्दा अहिलेसम्म पर्यटनलाई नजिकबाट बुझेको पात्र अरु छैन । यथार्थ यही हो ।
५. पार्टी परित्यागको सोच कत्तिको आउँछ ?
हामी सत्यको पक्षमा छौ, सत्य स्थापित हुन समय लाग्ने हुन्छ, हिजो कांग्रेस र एमाले नै स्थापित हुन पनि ७०, ६५ बर्ष लागेको विगत हामी सामु स्पष्ट छ । हामी त स्थापनाको २, ३ बर्षमै सरकारमा सहभागि हुनसक्ने गरीको स्थीतिमा छौ, परित्याग होईन, संगठनलाई अझै चलायमान बनाउँदै अघि बढ्छौ ।
६. तर हिजो तपाईकै नेता भट्टराईले आफ्नो शक्ति हरायो भनेर यहाँहरु जस्तै कार्यकर्ता जोगाउन फोरममा लगेर पार्टी बुझाए, यस्तोमा तपाईहरुको शक्ति त सकिसक्यो नी ?
हिजोका निती उदेश्यसँग बिचलित भएको छैन । तत्कालिन अवस्थामा फोरमसँग एकता गरेको हो, पार्टी लगेर बुझाएको होईन । परिवर्तनकारी शक्ति बिशेषगरी २०५२ सालयताका शक्तिहरुसँग कार्यगत एकता गर्ने गरी पार्टी अगाडि बढेको छ, शक्ति हराएको होईन, छोटो समयमै सम्मानजनक उपस्थीतिका बिच सरकारमा छौ, हिजो थोरै थियौ, अहिले धेरै छौ, सकिएको होईन, बढेका छौ ।

७. तर हिजोका दिनमा आफुलाई नयाँ शक्तिका मतियार ठान्नेहरु अहिले बिचलीत हुँदै बाहिरीसके, तपाई एक्लैले समाजबादी पार्टी बचाउन सक्ने त कुरा भएन नी ?
उहाँहरुले गल्ती गर्नुभयो, हिजोका दिनमा माओबादीमा रहँदा पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्ने सबै प्रयास बिफल भएपछि भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी निर्माण गरेका हौँ । जोजो साथीहरु अहिले बाहिर जानुभयो, उहाँहरु आफै पनि अहिले आन्तरिक द्धन्दको स्थीतिमा हुनुहुन्छ, सबै पार्टी बिचार ठिक हो, तर व्यावहारिक रुपमा पद प्राप्त गर्न शक्ति चाहिँने रहेछ भनेर पद र शक्तिको भोकमा दौडिरहँनु भएको छ । अहिलेसम्म पनि उहाँहरुको मनमा नयाँशक्ति हालको समाजबादी नै छ । उहाँहरुले छिटो भात पाकेन भनेर छोडेर गएको हो, भात नै मन नपरेर होईन ।
८. पार्टीको स्थीति कमजोर भयो, पर्यटनमा म एक्लै परेँ, भनेर नेता भट्टराईसँग गुनासो पनि त होला नी ?
अन्य साथीहरु पनि छन, म एक्लै छैन । पार्टी एकीकरणपछि युवा व्यावसायीहरुको पनि आकर्षण बढ्दै गएको छ । पर्यटनमै व्यावसायिक संगठनको नेतृत्व गरिसकेका व्यक्ति पनि अहिले हाम्रै पार्टीभित्र छन । नयाँ जोश जाँगरका साथ एकताबद्ध हुने क्रम जारी छ । गुनासो गर्नुपर्ने स्थीति बितिसक्यो, अहिले पार्टीभित्र प्रचुर संभावनाको समय छ । नयाँ साथीहरु आईरहेका छन, सबै मिलेर शक्तिशालि पार्टी निर्माणमा जुटिरहेका छौँ ।

तपाईंको बिचार