Wednesday, May 24, 2017  |    

कानुनी राय लिएरै निर्वाचन स्थगित गरिएको हो, यो विधानसम्वत् छ

प्रकाशित मिति: 2015/10/01

 यहि शुक्रबारका लागि घोषित निर्वाचन मिति स्थगित भएर नयाँ अर्को मिति घोषणा भएपछि प्रस्तावित चन्द्र रिजाल समूह र टानविच अहिले विबाद बढेको छ । त्यस्तै टानको आगामी नेतृत्वका लागि तीन प्रमुख दलनिकट पर्यटन संगठनहरले आ–आफ्नो तर्फबाट उम्मेद्वार घोषणा गरिसकेका छन् । यसक्रममा नेपाल पर्यटन व्यवसायी मञ्चको तर्फबाट सागर पाण्डेले पनि आगामी नेतृत्वका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नुुभएको छ । टानको वर्तमान महासचिवसमेत रहनुभएका उनै पाण्डेसँग चुनाव स्थगित हुनुका कारणलगायत आगामी निर्वाचनमा आफ्नो उम्मेद्वारीका सम्वन्धमा आधारित रहेर गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको अन्तरंग संवाद : 

यहि असोज १५ का लागि टानको निर्वाचन मिति घोषणा गरिएको थियो, प्रकृयासमेत अगाडी बढीसकेको निर्वाचन अकस्मात स्थगित किन गरिएको हो ?
पहिलो कुरा त के बुझ्नु जरुरी छ भने, टानको आफ्नो वा तयारीको अभावका कारण निर्वाचन स्थगित भएको होईन । विभिन्न मजदुर संगठनहरुको विभिन्न मागहरुका कारण टानमा ताला लाग्न गई निर्वाचन स्थगित भएको हो । 
सन् २०१४ को अक्टोबरमा अन्नपूर्ण क्षेत्रमा आएको हुद्हुद् आँधीका कारण ज्यान गुमाएका मजदुरहरुको क्षतिपूर्तिको माग थियो, जुन नेपाल पर्यटन बोर्डबाट प्राप्त हुने टीम्स कार्ड विक्रीबाट प्राप्त हुने रकमबाट दिनुपर्ने भएकाले हामीले दिन सकेनौँ । यसैको विरोधमा उनिहरुले तालाबन्दी लगाएका थिए । 
१० गते बेलुकी साढेँ पाँच वा छ बजेतिर मजदुरहरुले टानमा ताला लगाएका थिए । ११ गते विहान ११ बजेदेखि उम्मेद्वारी दर्ताको कार्यतालिका थियो । तर, सो बेलाअगावै टानमा ताला लागिसकेको थियो । समस्या समाधानका लागि विहान ९ बजे मैले कार्यसमिति बैठक डाकेँ । चारै मजदुरहरुसमेतलाई बोलाएर छलफल गरेँ । उनिहरुलाई अहिले चुनाव छ, आगामी नयाँ कार्यसमितिले भुक्तानी दिन्छ, अहिलेलाई निर्वाचन प्रभावित नगर्नुस भनेर आग्रह गरेका थियौँ । हामीले दिउँसो दुई बजेसम्म पनि मजदुरहरुलाई हडताल नगर्नका लागि आग्रह गरिरहेका थियौँ । जति आग्रह गर्दा पनि नमानेर उहाँहरु उठेर हिँडनुभयो । केही समयपछि दुइवटा संगठनहरुले ताला खोल्नुभएछ, बाँकी दुईले खोल्न मानेनन् । 
पछि केही उम्मेद्वार प्रतिनिधिहरुले ढोका फोडेर भित्र पस्ने जमर्को गर्नुभयो यो विचमा प्रहरीले आफ्नो कारवाही अगाडी बढायो । यसैका विच उम्मेद्वारी मनोनयन हुन सकेन । तसर्थ कार्यसमितिको कारण नभई मजदुरहरुको आन्दोलनका कारण चुनाव स्थगित भएको हो । 
    
मृतक मजदुरहरुको क्षतिपूर्तिस्वरुपको रकम टानले किन तिर्न नसकेको हो ?
विगत १८ महिनादेखि पाउनुपर्ने टीम्सको रकम पर्यटन बोर्डबाट पाउन सकिएको छैन् । सोका लागि हामीले बारम्बार ताकेता गर्दै आएका थियौँ । मजदुरहरुलाई दिने रकम टीम्सबाट तिर्ने हो । हामीले तिर्ने रकम निश्चित शिर्षकको रकमअन्तर्गतबाट तिर्नुपर्ने हुन्छ । एउटा शिर्षकको रकम अर्कोबाट तिर्न मिल्दैन् । टीम्सको रकम बोर्डबाट पाउन नसकेका कारण यो परिस्थिति आएको हो ।

निर्वाचन प्रभावित गर्ने वा स्थगित गर्ने मनसायले मजदुरहरुलाई टान आफैँले उचाल्यो भन्ने आरोप छ नि ?
हामीले उचालेको भए त टानको ताला अहिलेसम्म खुल्ने थिएन् । यो गलत आरोप हो । होटल बुक गर्नेदेखि ‘एडभान्स’ दिने कामलगायतका तयारी पूरा भैसकेको अवस्थामा हामीले स्थगित गरेको भन्ने कुरै रहदैन् । 

यसको विपरित चन्द्र रिजाल समूहले आफूहरुले मजदुरहरुलाई ‘कन्भिन्स’ गराएको र एकाध घण्टा समय थपेर उम्मेद्वार मनोनयन दर्ता गर्न सकिने अवस्था रहेको, तर तपाइँहरुले मान्नुभएन भन्ने दावी गरिरहनुभएको छ नि ?
सबैले देखेकै छ, मंगलबार बेलुकीसम्म टानमा ताला लागिरहेको थियो । चारै मजदुरहरुको सहमतीमा ताला लगाईएको थियो । दुईवटा दलहरुलाई पछि उहाँहरुले सहमत गराउनुभयो । तर, दुई वटाले मान्नुभएन्, ताला कायमै रह्यो । मंगलबार उहाँहरुसँग सहमती गरिसकेपछि कार्यसमिति बैठक राखेर
विधानसम्वत् ढंगले अर्को निर्वाचन ताकिएको हो । 

चुनाव सार्ने सवालमा मजदुर संगठनसँग टानको सामञ्जस्यता छैन, हो ?
हो । हामी टानमा १५ दिन बढी बसेर पनि कुनै अर्थ छैन् । हामीलाई पदावधि थप्नु छैन् । तथापी, यस्ता कुराहरु निर्वाचनको प्रकृयामा आउँछन् । 

घोषित निर्वाचन स्थगित गरेर अर्को निर्वाचन घोषणा गरिएको छ, किन यति लामो समयसिमा राखेर निर्वाचन घोषणा गरिएको हो ?
हामीले विधानसम्वत् ढंगले निर्वाचन मिति घोषणा गरेका हौँ । कम्तीमा १५ दिन पूर्वसूचना दिएर निर्वाचन गर्नुपर्ने प्रावधानअनुरुप निर्वाचन मिति घोषणा गरिएको हो । 

तर, निर्वाचन स्थगित गर्ने कुरा नै विधानसम्वत् छैन भन्ने आरोप छ नि, तपाइँहरुमाथि ?
हामीले के कुरा बुझ्नु जरुरी छ भने, यो निर्वाचनमात्र होईन, संस्थाको साधारणसभा पनि हो । साधारणसभामा संस्थाले आफ्नो तयारी गर्नुपर्ने हुन्छ, सबै कुरा प्रकृयामा लानुपर्ने हुन्छ । अन्तिम तयारीको चरणमा उल्लेखित घटनाहरु भएपछि निर्वाचन प्रभावित भएको हो । निर्वाचनमात्र भएको भए बाहिरै कुनै कार्यालय खडा गरेर भए पनि निर्वाचन प्रकृया अगाडी बढाउँथ्यौँ । 
हामीले कानुनी राय लिएरै निर्वाचन स्थगित गरेका हौँ, यो विधानसम्वत्त छ । 

तर, जिल्ला प्रशासन कार्यालयसँगकै मिलेमतोमा टानले अवैधानिक तवरले निर्वाचन स्थगित ग¥यो भन्ने आरोप तपाइँहरुलाई लागेको छ नि ?
यो सरासर गलत छ । बरु, उहाँहरु कै चाहिँ गृहमन्त्रीसँगको ‘के–के’ कुरा आएको छ । जिप्रकासँग हाम्रो कुनै पनि मिलेमतो छैन् । 

अब फरक प्रशंगमा, तपाइँ नेपाल पर्यटन व्यवसायी मञ्चबाट टानको आगामी नेतृत्वका लागि उम्मेद्वार हुनुहुन्छ, कसरी अगाडी बढनुभएको छ, के छ तयारी ?
अस्तिसम्म सबै तयारी सकिसकेको थियो । अहिले फेरी नयाँ कोर्स सुरु भएको छ । 

तपाइँले संकेत गरिहाल्नुभयो, राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट–नेपाल) तपाइँहरुलाई धोका किन दिएको हो ?
धोका दिएको छैन् । यसलाई चुनावी रणनीति भन्नुस् न (हाँस्दै) !


तपाइँहरुले एकल टीम घोषणा गर्नुभएको छ, निर्वाचनमा कसरी अगाडी बढनुहुन्छ ?
सबैको एकल टीम छ । तपाइँ दुई/तीन दिनपछि अन्तर्वार्ता लिन आउनुस्, त्यसपछि भनौँला । 

अरुसँग पनि सहकार्य हुन सक्ने सम्भावनाको इंकित गर्नुभो ?
सहकार्य भन्ने कुरा सँधै खुला राख्ने कुरा हो । हामी सहकार्य विरोधी होइनौँ, सहकार्य भन्ने कुरा अनन्त कालसम्म जाने कुरा हो । हँदा हुन्छ, नहुँदा हुँदैन् । 


आफैँमा विभाजित तपाइँहरु एक्लै अगाडी बढने अवस्था त छैन् नि !
तपाइँ के कुरा ठान्नु भने पक्षभन्दा बाहिर ‘बफर जोन’ मा पनि धेरै भोटरहरु छन् । म व्यवसायी हो, व्यवसायीहरुको रोजाईमा म पर्छु भन्ने लाग्छ । 

तपाईंको बिचार