Monday, October 21, 2019

व्यावसायीका मुद्धालाई शिरोपर गरेर अगाडि बढ्छु :रामहरी शर्मा

प्रकाशित मिति: 2019/09/30

काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यावसायी संघ(एनटीभीए) को हालै भएको निर्वाचनबाट महालक्ष्मी भेईकल सर्भिसका सञ्चालक रामहरी शर्मा अध्यक्षमा सर्बसम्मत चयन भएका छन । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा पर्यटनको मुख्य पूर्वाधारको रुपमा रहेको पर्यटन यातायातको अवस्थाले भ्रमण बर्षको सफलता र असफलता निश्चीत हुने गर्दछ । पर्यटक यातायातको क्षेत्रमा रामहरी शर्मालाई अप्ठेरो परिस्थीतिको समाधान कर्ताका रुपमा व्यावसायीहरुले बुझ्ने गरेका छन । जबजब पर्यटक यातायातले अप्ठेरो अवस्थाको सामना गर्दछ, त्यतिबेला शर्माको उपस्थीति अनिवार्य जस्तै हुने गरेको छ । हालै भएको निर्वाचनमा उनको सर्बसम्मत नेतृत्व पनि यसैको उपज हो । नजिकिदो भ्रमण बर्ष र अहिले पर्यटक यातायातको अवस्था कस्तो छ, त बुझ्ने कोशिस गरेका छौ ।

पर्यटक यातायात व्यावसायी संघ(एनटिभिए) का संस्थापक तथा नवनिर्वाचित अध्यक्ष रामहरी शर्मा सँगको कुराकानी जस्ताको तस्तै ।
१. पर्यटक यातायातको बर्तमान अवस्था के छ ?
अवस्था त्यति धेरै आशातित छैन । यसो भनिरहँदा व्यावसायिक स्थीति नाजुक देखिएको छ । बिगतमा यही समयमा पर्यटकहरुको आगमन बाक्लो देखिएको थियो, अहिले त्यो अवस्था छैन । रोजगारीकै समस्या देखिएको अवस्था छ ।
२. यो अवस्था कसरी श्रृजना भयो त ?
यसका बिभिन्न कारण हुन सक्दछन । तर हामी व्यावसायीको बुझाई चै युरोप अमेरिकाका टुरिष्टमा मात्र नेपाली बजार केन्द्रित छैन । पर्यटन क्षेत्रको ठुलो हिस्सा भारतबाट आउने पर्यटक हुन । सामरिक हिसाबले भारत पाकिस्तान बिचको आपसी मनमुटाबको स्थीतिमा हुनसक्ने असुरक्षाको भावना पनि तेस्रो मुलुकका पर्यटकहरुमा परेको हुनसक्दछ । त्यस्तै पछिल्लो समय नेपालमा देखिएको डेङ्गु आतंक । अमेरिकाले नेपाल लगायत दक्षिण एसियाको भ्रमण नगर्न ट्राभल नोटिस नै जारी गरेको स्थीतिमा ति पर्यटकहरु आएनन । अर्को कुरा आईफा अवार्ड नेपालमा हुने भनिएकोमा बिबाद देखियो, यसले भारतियहरुमा नेपालप्रतिको भावनामा पनि ठेस पुग्यो की भन्ने बिश्लेषण भएका छन ।
३. पर्यटक यातायात क्षेत्रले बेहोरेको समस्या चै केके हुन ?
पहिलो कुरा त सबै व्यावसायीले बेहोरेको ट्याक्स भ्याटको समस्या नै हो । गैरव्यावसायीहरुको आतंक पनि उत्तिकै छ । पर्यटन ऐन र मुख्य कानुन बाझिएकाले पनि समस्या भएको छ भने बाटोघाटोको समस्या पनि उत्तिकै छ । कार्यबिधि र मुल ऐनमा पनि समस्या देखिएको छ । यसमा सरकार जिम्मेवार हुन जरुरी छ ।
४. तपाईको कार्यकालमा व्यावसायीका मुद्धा सम्बोधन हुन्छ ?
अवश्य हुन्छ । एनटिभिएको अध्यक्षले व्यावसायीका मुद्धालाई नै शिरोपर गर्ने हो । अहिले पर्यटक यातायातको भविश्यको मार्गचित्र तयार गर्नुपर्ने अवस्थामा म कार्यभार सम्हाल्न आईपुगेको छु । सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गर्दै व्यावसायिक हकहितका मुद्धा स्थापित गर्न लागिपर्नेछु ।
५. नेपाल भ्रमण बर्ष २०२० सफल पार्न एनटिभिएको भुमिका कस्तो हुन्छ ?
भ्रमण बर्षमा स्वभाविक रुपमा पर्यटकहरुको आगमन बढ्छ । यसले पर्यटक सवारीको संख्या थप गर्नुपर्ने स्थीति हुनसक्छ । व्यावसायीहरुलाई पर्यटकमैत्री व्यवहारका लागि आवश्यक ट्रेनिङ, सेमिनारहरुको आयोजना जरुरी छ । यसमा सरकारको सक्रिय सहभागिता आवश्यक छ । सम्बन्धीत सरोकारवालाहरुसँग यसबारे छलफल भईरहेको छ ।

तपाईंको बिचार