Sunday, December 17, 2017

पाण्डे समूहको जित ९० प्रतिशत सुनिश्चित छ : लम्साल

प्रकाशित मिति: 2015/10/13

वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) का पूर्वमहासचिव हुनुहुन्छ । लामो समयदेखि पर्यटनमा आवद्ध रहनुभएका उहाँ मकालु एडभेन्चरका प्रवन्ध निर्देशकसमेत हुनुहुन्छ । हाल सागर पाण्डेको समूहको चुनावी प्रचारप्रसार र अभियानमा लाग्नुभएका लम्साल टानको आगामी कार्यसमितिमा पाण्डे नेतृत्वको समूह पुग्नुपर्ने जोडदार दावी गर्दै आउनुभएको छ । निर्वाचनमा आफ्नो समूहको जित ९० प्रतिशत सुरक्षित रहेको ठोकुवा गर्नुभएका उनै लम्सालसँग गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको छोटो संवाद :  

आगामी कार्यसमितिमा सागर पाण्डेकै नेतृत्व किन आवश्यक छ ?
सागर पाण्डे नेतृत्वको टीम धेरै हिसावले सक्षम र अब्बल हुनुले टानको आगामी नेतृत्व यही समूहको हुनुपर्छ भन्ने हाम्रो दावी हो । सागर पाण्डेकै नेतृत्व आवश्यक हुनुका यहाँ धेरै पक्षहरु छन्, जस्तो पहिलो कुरा पाण्डे नेतृत्वको टीम व्यवसायीक छ । अध्यक्षका प्रत्यासी सागर पाण्डे आफैँ विगत २२ वर्षभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ भने कार्यसमितिका हरेक सदस्यहरु कम्तीमा पनि एक दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । दोस्रो कुरा, पाण्डे नेतृत्वको समूह भौगोलिक, जातिय, लैङ्गिक सबै हिसावले समावेशी छ । यसर्थ टानको आगामी कार्यसमिति सागर पाण्डे कै नेतृत्वमा जानुपर्छ भन्ने हाम्रो तथ्परक अठोट हो । 

सागर पाण्डे टानको वर्तमान महासचिव पनि हुनुहुन्छ । टानले पर्यटन विकास र प्रवद्र्धनका लागि प्रभावकारी काम गर्न सकेन तसर्थ यसैको पुनरावृति आवश्यक छैन्, भन्ने आरोप छ नि ?
मेरा पनि आफ्ना अनुभवहरु छन्, म पनि टानको पूर्वमहासचिव भएर कार्यसम्पादन गरेको छु । टान कार्यसमितिको कार्यावधि जम्मा दुई वर्षको हुन्छ । यत्तिको अवधिमा सामान्य अवस्थामा पनि आफूले चाहेको र योजनाअनुरुप सबै काम गर्न सकिन्न । उसमाथि यो कार्यसमितिले धेरै प्राकृतिक विपक्ति भोग्नुपरेको यर्थाथ जगजाहेर छ । पर्यटन विकास र प्रवद्र्धनका लागि वर्तमान कार्यसमितिले सक्दो प्रयास गरेको छ । 
योजनामा रहेका, कतिपय सुरु गरिसकिएका तथा प्रकृयामा रहेका कार्यक्रमहरु पूरा गर्नका लागि पनि वर्तमान कार्यसमितिको पुनरावृति आवश्यक छ । 
आरोप लगाउनेले जे पनि भन्न सक्छ, यर्थाथमा यो टीम धेरै सक्षम र सवल छ । पर्वतीय पर्यटनमा लामो समय अनुभवप्राप्त पात्रहरु यो समूहमा हुनुहुन्छ । उहाँहरुको शैक्षिक पृष्ठभूमि, अनुभव, दक्षतालगायतका पाटाहरुलाई हेनुृभयो भने यत्तिको उत्तम टीम तपाइँले पाउनुहुन्न । 
पाण्डे समूहको हरेक कुरामाथि विरोधमात्र गरिरहँदा उहाँका सकारात्मक पाटातर्फ पनि हेर्न म सम्बन्धित व्यक्तिहरुलाई आग्रह गर्छु । बिना आधार चुनावी प्रयोजनका लागि पाण्डे समूहमाथि आरोप लगाईएको छ । 

तपाइँहरुले पनि उहि चुनावी प्रयोजनका हिसावमा आफ्नो समूहको बढी ‘हाईलाईट’ गर्नुभएको हो कि ?
बिना पूर्वाग्रह वर्तमान कार्यसमितिले टानमा गरेको कामहरु हेर्न म आग्रह गर्छु । विभिन्न अवरोधका बावजुद भयानक प्राकृतिक विपक्तिहरुलाई झेल्दै यो कार्यसमितिले थुप्रै सकारात्मक कामहरु गरेको छ । हिजो कुनै कारणवस् कुनै पर्यटन मजदुरले ज्यान गुमायो भने व्यवसायीले आफ्नो खल्तीबाट क्षतिपूर्ति व्यहोर्नुपर्ने स्थिति थियो, अहिले सोको क्षतिपूर्ति टानले दिन्छ । हुद्हुद्, हिमपहिरो, महाविनासकारी भूकम्प जस्ता अत्यन्तै जटिल परिस्थितिको सामना यस कार्यसमितिले गर्नुपरेको थियो । तैपनि यसबाट विचलित नभई आफ्नो कामकारवाहीलाई टानले गति दिएको सबैसामू छलङ्गै छ । 
मुलुकमा व्यप्त राजनीतिक अस्थिरताकोविच पनि विभिन्न अवरोधहरु झेलेर पर्यटन विकास र प्रवद्र्धनका लागि सरकारसँग ‘डिल’ गर्ने कुरामा टानले सक्दो प्रयास गरेकै हो । यसबाहेक रकम अभावका कारण झेल्नुपरेका अनेकौँ चुनौतीहरुको सामना गर्दै सचिवालय तथा कर्मचारीहरुको व्यवस्थापन गरेको छ । भाषण गर्न, अरुले गरेको काममा विरोध गर्न सजिलो छ, सांच्चै काम गर्न गाह्रो छ । 


उसो भए चुनावी अभियान कसरी अगाडी बढ्दैछन ?
हामीले आफ्ना चुनावी अभियान र प्रचारप्रसारहरुलाई तिब्र गतिमा नियमित गरिरहेका छौँ । विभिन्न क्षेत्र र समूदायका व्यवसायीहरुसँग हामी निरन्तर सम्पर्कमा छौँ । घरदैलो अभियान र चुनावी प्रचारप्रसारलाई प्रभावकारी रुपमा संचालन गरिरहेकै छौँ । व्यवसायीहरुसँग हाम्रा एजेन्डा र योजनाहरु प्रस्तुत गरिरहेका छौँ । सबै व्यवसायीहरु हाम्रो समूहलाई विजयी गराउनुपर्छ भन्नेमा हुनुहुन्छ । 
यस घडीमा हामी कसैमाथि पनि अनावश्यक आरोपप्रत्यारोप गर्न चाहदैनौँ । 

आफ्नै समूहले चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सागर पाण्डे समूह चुनाव प्रचार अभियानमा निकै अगाडी छ । यो टीमको जित ९० प्रतिशत सुनिश्चित छ । ३० देखि ५० मत अन्तरले हाम्रो टीम विजयी हुने हाम्रो दावी हो । 

तपाईंको बिचार