Saturday, November 18, 2017

हाम्रो समूहको विजय सुनिश्चित छ : शेर्पा

प्रकाशित मिति: 2015/10/13

वरिष्ठ पर्यटन व्यवसायी निमानुरु शेर्पा ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) को पूर्वउपाध्यक्ष हुनुहुन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्व वरिष्ट उपाध्यक्षसमेत रहनुभएका उहाँ नेपाल वायुसेवा निगमका बोर्ड डाईरेक्टर हुनुहुन्छ । शेर्पा चोयु ट्रेक्सका प्रवन्ध निर्देशक पनि हुनुहुन्छ । 
झण्डै तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका शेर्पा अर्थशाष्त्रमा स्नातक हुनुहुन्छ । टान निर्वाचनमा लागि चन्द्र रिजाल समूहको चुनावी अभियान तथा प्रचारप्रसार समितिका संयोजक समेत रहनुभएका शेर्पा आफ्नो समूहको जित सुनिश्चित भएको दावी गर्नुहुन्छ । टान निर्वाचनमा उहाँकै समूहको गतिविधि र समसामयीक विषयहरुमाथि आधारित रहेर गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको छोटो संवाद प्रस्तुत छ :

 

टान निर्वाचनको पूवसन्ध्याहमा के गर्दै हुनुहुन्छ ?
अहिले हामी घरदैलो अभियान, भेटघाट, भेलाआदिमार्फत व्यवसायीहरुमाझ प्रस्तुत भएका छौँ । टानको आवश्यकता के हो ? वर्तमान समयसापेक्ष यसका मुद्दाहरु के हुनुपर्छ ? संस्थाले के गर्नुपथ्र्यो र के गरेन ? जस्ता यावत् कुराहरुसहित आफ्नो मुद्दा र एजेन्डाहरु व्यवसायीहरुमाझ लगेका छौँ । र, व्यवसायीहरुबाट हामीले सकारात्मक प्रतिक्रियासहित सहयोग र समर्थन पनि प्राप्त गरेका छौँ । 


व्यवसायीहरुको माग र आवश्यकता खास के रहेछ ?
टानमा एउटा चुस्त र दुरुस्त टीम आवश्यक छ भन्ने आवाज बेसी आएको देखिन्छ । पर्यटनका विविध विधामा दक्षता हासिल गरेको टीम आवश्यक रहेको, टानमा नीतिगत परिमार्जन जरुरी देखिएको र समग्र पर्यटन व्यवसाय तथा आम पर्यटन व्यवसायीहरुको पीरमर्का बुझ्ने खालको नेतृत्वको खाँचो रहेको कुरा पर्यटन व्यवसायीहरुबाट स्पस्ट रुपमा उठेको छ । त्यस्तै टानमा पारदर्शिताको सवाल पनि मुखरित भएर उठेको हामीले पायौँ । हामी कार्यसमितिमा गएको खण्डमा टानमा देखिएका यावत् समस्याको समाधानका लागि भरमग्दुर प्रयास गर्नेछौँ । 


तर, तपाइँहरु अलिक बढी नै राजनीतिक बन्नुभयो भन्ने आरोप छ नि ?
को बढी राजनीतिक भयो भन्ने कुरा त सबैसमक्ष छर्लङ्गै छ नि ! राजनीति हामीले होईन उहाँहरुले गरिरहनुभएको छ । हिजो नेपाल पर्यटन बोर्डमा राजनीति कस्ले ग¥यो ? अहिले टानमा राजनीति कसले गरिरहेको छ, तपाइँले पनि देखिरहनुभएको छ नि ! 
यदि हामीले राजनीति गरेका छौँ भने असल नियत र राम्रो कामका लागि गरेका छौँ । व्यवसायीहरुको हित हुने ठाउँमा राजनीतिक सहयोग लिनुलाई अन्यथा मान्न सकिएला र ?


तपाइँहरु आफू केही गर्नुहुन्न विरोधमात्र गर्नुहुन्छ भन्ने आरोपमा कत्तिको सत्यता छ ?
अहिलेसम्म हामी टानमै गएका छैनौँ, सो अवसर पाएकै छैनौँ अनि हामी केही गरेनौँ÷गर्दैनौँ भन्ने मिल्छ ? उहाँहरु बारम्बार कार्यसमितिमा जानुभएको छ, अहिले पनि त्यहाँ जान भरमग्दुर प्रयासरत् हुनुहुन्छ, उहाँहरुले के काम गर्नुभयो त ? उहाँहरुका आश्वासन र प्रतिवद्धता कति पूरा भएका छन् भन्नेमा त आम व्यवसायीहरु पनि भुक्तभोगी हुनुहुन्छ । यो कुराहरुलाई छर्लङ्ग बुझ्नु जरुरी छ । 
हिजोको साधारणसभाका प्रतिवेदन, ब्यालेन्स सिटमा भएका हिनामीना जस्ता आर्थिक अपारदर्शिताका कुरा सबैलाई अवगत नै छ । आफू गल्ती गर्ने अनि आरोपमात्र लगाए भनेर हुँदैन । 

टान निर्वाचन सम्मुख आईसकेको छ, चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
हामीले टानमा देखिएका यावत् कमजोरी सुधारेर संस्थाको पुर्नसंरचना गर्ने अठोटका साथ व्यवसायीहरुमाझ गैरहँदा व्यवसायीहरुबाट निकै राम्रो ‘रेस्पोन्स’ पाएका छौँ । टानको कार्यकलापप्रति चिढीएका तथा टानमा परिवर्तनको आवश्यकता महसुस गरेका व्यवसायीहरुले हामीमाथी ठूलो भरोसा राखेका छन् । अधिकांश व्यवसायीहरुको मत रिजाल समूहलाई नै जिताउनुपर्छ भन्नेमा छ र यसमा व्यापक सहयोग र समर्थन हामीलाई जुटेको छ । 
यसअर्थमा रिजाल समूहको विजय सुनिश्चित छ । 

 

तपाईंको बिचार