Wednesday, May 24, 2017  |    

चुनावी नतिजाको पूर्वानुमानमा रिजाल पक्षको जित सुनिश्चित छ :कुमार

प्रकाशित मिति: 2015/10/14

अञ्जन थापा (कुमार) ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का पूर्वकोषाध्यक्ष हुनुहुन्छ । विगत झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहिआउनुभएको कुमारसँग यस क्षेत्रको राम्रो पहुँच, ज्ञान र अनुभव छ । टान निर्वाचनमा चन्द्र रिजाल समूहका चुनावी प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका उहाँ रिजाल समूहको आकर्षक विजय पक्का भएको दावी गर्नुहुन्छ । निर्वाचनको पूर्वसन्ध्याहमा आफ्नो समूहको गतिविधिमाथि आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको छोटो कुराकानी प्रस्तुत छ :


आम व्यवसायीले रिजाल समूहलाई भोट किन हाल्ने ?
आम व्यवायीहरुले चन्द्र समूहलाई नै मत हाल्नुका थुप्रै आधारहरु छन् । पहिलो आधार भनेको चन्द्र रिजाल नेतृत्वको टीम व्यवसायीक र समावेशीताको उक्तम नमूना हो । यसमा लामो समय पर्यटनमा लागेका अनुभवी व्यवसायीहरु हुनुहुन्छ । भौगोलिक, जातिय, लैङ्गिगक हिसावले पनि यो टीम धेरै समावेशी छ । राजनीतिक हिसावमा पनि यो टीममा कांग्रेस, एमाले र एमाओवादी सबैको सहभागिता रहेको छ । यो एउटा मिश्रित चुनावी टीम हो ।
दोस्रो कुरा यो समूह अहिलेसम्म टानमा गएको छैन् । परिक्षण नभएको नयाँ पात्रसहितको टीम हो रिजाल नेतृत्वको टीम ।
त्यस्तै अर्को महत्वपूर्ण पक्ष भनेको टानको वर्तमान कार्यसमितिको कार्यसम्पादन सन्तोषजनक नभएको गुनासो व्यवसायीहरुबाट व्यापक रुपमा आउने गरेको छ । एउटा असफल भईसकेको टीमको पुनरावृति आवश्यक छैन् भनेर व्यवसायीहरुले भनेको अवस्था छ । यसर्थ यी यावत आधारहरुसहित व्यवसायीहरुले नयाँ नेतृत्व खोजेको सन्दर्भमा चन्द्र रिजालको समूहलाई व्यवसायीहरुको ठूलो समर्थन जुटेको छ ।


चुनावी अभियानलाई चाहिँ कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
हामीले प्रत्यक्ष भेटघाट, घरदैलो अभियानका साथै सामाजिक सञ्जालहरुको प्रयोग गरेर हाम्रो चुनावी एजेन्डाहरुलाई व्यवसायीहरुसमक्ष प्रस्तुत गरिरहेका छौँ ।
हामीले अत्यन्तै स्वस्थ ढंगले चुनावी अभियान र प्रचारप्रसारलाई अगाडी बढाएका छौँ । अनावश्यक आरोपप्रत्यारोप र गालीगलौजमा हामी उत्रेका छैनौँ । चुनावी अभियानलाई मर्यादित र भद्र बनाउने कुरामा हामी संयमित छौँ । यसैविच आज साँझ ५ बजे होटल याक एण्ड यतिमा हाम्रो समूहको बृहत भेला छ, भोली हुन गईरहेको चुनावका लागि हाम्रो आन्तरिक तयारीका हिसावले यो भेला गर्न लागेका छौँ ।


रिजाल समूहले चुनाव जित्ने आधारहरु बताईदिनोस् न ?
यो टीमलाई समर्थन गर्ने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा ठूलो संख्यामा पर्यटन व्यवसायीहरु आवद्ध हुनुहुन्छ । एकिकृत पर्यटन व्यवसायी संगठन (युटीन)को पूरा समर्थन यो समूहलाई प्राप्त छ । त्यस्तै रिजाल टीममा शेर्पा समूदायको ठूलो प्रतिनिधित्व कायम छ, राष्ट्रिय पर्यटन व्यसायी संघ (नीट –नेपाल) बाट पनि सोनाम जी शेर्पाको सहभागिता यो टीममा छ । यसबाहेक स्वतन्त्र व्यवसायी, पूर्वअध्यक्षलगायतको व्यापक समर्थन पनि हाम्रो समूहलाई छ । यी यावत् कारणले रिजाल समूहको विजय सुनिश्चित छ ।


चुनावी नतिजा कस्तो आउला भन्ने सम्बन्धमा केही आँकलन गर्नुभएको छ ?
मैले माथि नै उल्लेख गरेँ, यो समूहलाई तीन वटै पार्टीसहित स्वतन्त्र, शेर्पा, पूर्वअध्यक्षलगायतको व्यापक समर्थन छ ।
एउटा पार्टीको अनुमानित एक सय ५० भोटका दरले तीनवटा पार्टीबाट चार सय ५० मत खस्छ । यसका अतिरिक्त शेर्पा समूदायबाट एक सय ५० तथा स्वतन्त्र समूहबाट २००÷२५० मत झर्छ । यसरी हिसाव गर्दा कुल मत करिव आठ सय देखि आठ सय ५० हुनजान्छ ।
कुल अनुमानित आठ सय देखि आठ सय ५० मतमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट हामीलाई एक सय ५० मत प्राप्त हुन्छ । त्यस्तै युटीनबाट ८० भोट, नीटबाट ५० तथा स्वतन्त्रबाट एक सय ५० गरी करिव चार सयदेखि चार सय ५० भोट हामीलाई झर्छ भन्ने हाम्रो मोटामोटी अनुमान छ । यसरी हेर्दा चुनावी नतिजा हाम्रो पक्षमा आउने पक्का छ ।
करिब ६० र ४० को अनुपातमा रिजाल र पाण्डे समूहको चुनावी परिणाम आउँछ ।

तपाईंको बिचार