Thursday, March 30, 2017  |    

इन्धन अभावले ठूलो समस्या निम्त्याएको छ : साङ्गे लामा

प्रकाशित मिति: 2015/10/28
साङ्गे लामा, अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)
साङ्गे लामा, अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)

साङ्गे लामा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए) का नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहनुभएका लामाले वि. सं. २०४८ सालमा बुद्ध भेहिकल सर्भिस स्थापना गरेर पर्यटक सवारी सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँ एनटीभिएमा अघिल्लो कार्यसमितिको सल्लाहकार हुनुहुन्थ्यो । केही समयअघि सम्पन्न संस्थाको साधारणसभाबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो । 
यसबाहेक लामा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ सीसीमोतो अपाङ्ग संघको उपाध्यक्ष र भोम्लो सल्ले समाज कल्याण समितिको अध्यक्ष हुनुहुन्छ । 
उनै लामासँग संस्थाको गतिविधि र समग्र पर्यटक यातायातका अवस्थालगायतका समसामयीक विषयमाथि आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको ताजा संवाद :

एनटीभिए हाल के गर्दैछ ?
अहिले हामी मूख्यगरी संस्थागत क्रियाकलाप र गतिविधिहरुमा नै क्रियासिल छौँ । संस्थालाई अगाडी बढाउने भन्ने सम्बन्धमा सरोकारवाला विभिन्न निकायहरुसँग सहकार्य गर्ने क्रममा छौँ  । पर्यटक यातायात क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा निरन्तर प्रयासरत् छौँ । सम्बन्धित मन्त्रालय र पर्यटन बोर्डसँग पनि संस्थागत हक हितका लागि प्रकृयाहरु अगाडी बढाइरहेका छौँ । त्यस्तै,  पछिल्लो झण्डै दुई महिनायता समग्र मुलुकले नै भोगेको समस्याहरुबाट सिङ्गो पर्यटन क्षेत्रसँगै हामी पनि पीडित छौँ । 

अहिले के –कस्ता समस्या र चुनौतीहरु छन्, एनटीभिएमा ?
तत्काललाई एनटीभिएमा खट्किएको मूख्य समस्या भनेको इन्धन अभाव नै हो । यो इन्धन अभाव अरु क्षेत्रमा भन्दा पर्यटक यातायातमा बढी पेचिलो छ । हाम्रो व्यवसाय नै यातायात क्षेत्र भएकाले इन्धन अभावको मार हामीलाई बढी परेको छ । 
हाल हामी सेवा दिनै नसक्ने कठिन स्थितिमा छौँ । मूख्य पर्यटकीय सिजनमा सवारी सेवा दिन नसक्दा आएका पर्यटकहरु असन्तुष्ट हुने अवस्था छ । यसको सम्बन्धमा हामीले सम्बन्धित मन्त्रालय र पर्यटन बोर्डमा पनि कुरा राखेका छौँ । यो सबैको साझा समस्या हो, यद्यपीे पर्यटकीय सेवा सुविधाहरु नियमित सुचारु हुनुपर्छ भनेर हामीले भनेका छौँ । तर, समस्या अरु गम्भिर बन्दै गएको छ ।
यसबाहेक पर्यटक यातायात व्यवसायीहरुलाई बैङ्गिङ समस्याले अर्को चुनौती थपेको छ । यी यावत समस्याहरुका बीच एनटीभिए गुज्रिरहेको छ । 

हाल पर्यटक सवारी कतिको मात्रामा चलिरहेका छन् ?
विगतको सामान्य अवस्थाको तुलना गर्दा हाल अत्यन्तै न्यून मात्रामा पर्यटक सवारी गुडेका छन् । ५÷७ प्रतिशत सवारीमात्र अहिले नियमित सञ्चालनमा छन् । १५÷२० दिन अगाडीमात्र पनि ५०÷५५ प्रतिशत सवारी सञ्चालनमा थिए । अधिकांश गाडीहरु अहिले यात इन्धन अभावका कारण ग्यारेजमा थन्किएका छन्, वा इन्धनको लाईनमा छन् । 
अहिले सातामा ठूला सवारीहरुलाई ३० लिटर, हायस्लाई १५ लिटर र भ्यान तथा कारलाई १० लिटर इन्धन उपलब्ध गराईएको छ । यति थोरै इन्धनले कति सेवा दिन सकिन्छ र ! तीनचार पटकलाई एयरपोर्ट –होटल पिकअप, राजधानी वरपरको स्थानहरुमा एकदुई दिनलाई साईटसिईङबाहेकका सेवा दिन सक्ने अवस्था छैन् इन्धन अभावले । त्यस्तै धेरै गाडीहरुको इन्धन संकलन गरेर एकदुईवटा गाडी पोखरा, चितवनलगायतमा लामो टुरमा लान सकिने नाजुक अवस्था छ । 

पर्यटकहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नेपाल घुम्न आउने पर्यटकहरुलाई  हामीले सामान्य सवारी सुविधासम्म पनि दिन सकेका छैनौँ । यो हामी स्वयंका लागि लज्जाको कुरा हो ।  
यति ठूलो प्राकृतिक विपत्तिबाट गुज्रिएको मुलुकमा यति छोटो समयमा पनि पर्यटकहरु आएका छन् । यसबाट के देखिन्छ भने, पर्यटकहरु नेपाल आउन चाहन्छन् । सवारी आवागमनमा असहजता भएको महसुस पर्यटकहरुले गरेका छन् । उनिहरुबाट यहि सवारी असुविधा भयो भन्ने प्रतिक्रिया आएको छ । यसबाहेक अन्य कुराहरुमा कुनै पनि नकारात्मक प्रतिक्रिया उनिहरुको छैन् । 

यस्तो कठिन अवस्थाबाट गुज्रिनुभएको छ,  संस्था र तपाइँ स्वयंको अपेक्षा के छ ?
बन्द नाका खुलाई आपूर्ति सहज बनाउन सरकारले पहल गरोस् । यदि त्यसो हुन नकेन भने पनि कुनै बैकल्पिक व्यवस्था गरेर इन्धन आपूर्ति सहज गरियोस् । यसको अतिरिक्त सरकारले व्यवसायीहरुलाई बैँङ्किङ सहजता प्रदान गरिदिए धेरै राहत मिल्ने थियो । 
पर्यटक नआउलान कि भनेर आत्तिनुपर्ने अवस्था छैन्, भूकम्पपछि पनि उत्साहजनक रुपमा पर्यटकहरु नेपाल आएका छन्, तर हामीले अपेक्षित सेवा सुविधा दिन सकेका छैनौँ । इन्धन अभावले ठूलो समस्या निम्त्याएको छ । सहज वातावरण निर्माण भएको खण्डमा हामी सेवा दिन हरदम तत्पर छौँ । 
यद्यपी, वातावरण सहज हुनेमा हामी आशावादी छौँ । सम्पूर्ण पर्यटक यातायात व्यवसायीहरुलाई नआक्तिन मैले आग्रह गरेको छु । यो सिजन अव सकिन लागेको छ, अर्को सिजनमा सहज हुन्छ, यहि आशा गरौँ । 

तपाईंको बिचार