Sunday, August 20, 2017  |    

कांग्रेसको सहभागिता र सहयोगविना संविधान कार्यन्वयन संभव छैन्

प्रकाशित मिति: 2015/10/30
जगदिश्वर नरसिँह केसी, सांसद, नेपाली कांग्रेस
जगदिश्वर नरसिँह केसी, सांसद, नेपाली कांग्रेस

सांसद जगदिश्वर नरसिँह केसी नुवाकोट कांग्रेस सभापति हुनुहुन्छ । जनतासँग सहजै घुलमिल हुने नेताको छवि बनाउनुभएका उहाँ युवामाझ लोकप्रिय हुनुहुन्छ । जनताको समस्यालाई नजिकबाट बुझ्ने र समाधानका लागि अग्रसरता लिने नेताको रुपमा उहाँले आफूलाई आम कार्यकर्ता र जनतामाझ चिनाउनुभएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउनुभएका उनै केसीसँग मुलुकको समसामयिक राजनीतिक अवस्थामा आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको ताजा संवाद :  

दशकौँको प्रतिक्षापछि मुलुकमा लोकतान्त्रिक संविधान जारी भएको सुखद् क्षणमा एउटा महत्वपूर्ण लोकतान्त्रिक हिस्सा कांग्रेस सरकार बाहिर छ, सत्ताबाहिरको आँखीझ्यालबाट कसरी नियालिरहुनभएको छ, मुलुकको परिस्थिति ?
लामो समयपश्चात हामीले लोकतान्त्रिक संविधान जारी ग¥र्यौँ । अहिले हामी जारी संविधानको कार्यन्वयन गर्ने अवस्थामा छौँ । यस्तो महत्वपूर्ण घडीमा सबैको सहमतीमा अघि बढ्नु अत्यावश्यक थियो । तर, केही पार्टीहरुको गठबन्धन सरकारमा छ, हामी बाहिर छौँ । 
अहिले सरकारमा माले, मसाले, मण्डले, संघियताविरोधी, राजावादीलगायतको गठबन्धन छ । भारतसँगको साँठगाँठमा यो सरकार गठन भएको छ । 
संसदीय व्यवस्थाको जननी भएको र संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको कांग्रेसले सत्ताधारी गठबन्धनले गलत गरेको खण्डमा औँला ठड्याउने काम गर्छ । तसर्थ कांग्रेसको भूमिका थप विस्तार भएको छ । अबको हाम्रो भूमिका भनेको रचनात्मक प्रतिपक्षीको धर्म निर्वाह गर्नु हो । 

महत्वपूर्ण कार्यकारी पदहरुमा कांग्रेसले गुमाईसकेको छ, सत्ताबाहिर पनि लगभग एक्लो हुनुहुन्छ, संविधान कार्यन्वयनको घडीमा कसरी आफ्नो भूमिका खेल्नुहुन्छ ?
राजनीति भनेको सक्तामात्र होईन, आदर्श, निष्ठा र सिद्धान्त पनि हो । हामी सत्ताकै लागि मरिहत्ते गर्दैनौँ । सत्ता प्राप्त हुँदा संसारै जितेजस्तो घमण्ड गर्ने र सत्ता बाहिर रहँदा सबै थोक गुमेजस्तो सोच कांग्रेसको छैन् । 
लोकतान्त्रिक शक्ति कहिल्यै पनि एक्लो हुँदैन् । सरकारमा नहुँदैमा कांग्रेस एक्लो हुन्छ भन्नु गलत हो । हामीसँग सिङ्गो नेपाली जनता र अन्तर्राष्ट्रिय समूदायको व्यापक समर्थन छ । हाम्रो पोल्टामा सरकार सुरक्षित छ ।
हामी प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्ने छौँ ।  हिजो माओवादी सरकारमा नहुँदा संविधानसभामा ताण्डव नृत्य प्रदर्शन ग¥यो, एमालेले ५९ दिनसम्म संसद चल्न दिएन । तर, कांग्रेसले अहिलेसम्म त्यस्तो काम गरेको छैन्, हामी गर्दैनौँ । हामी त्यस्तो गलत प्रवृति नअपनाईकन रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिन्छ भनेर प्रमाणीत गर्नेछौँ । 

 

एकपछि अर्को गर्दै कार्यकारी पदहरु कांग्रेसबाट गुम्नुको कारण के हो ?
हामीले सबै कुरामा लोकतान्त्रिक पद्धति अवलम्बन गरेका छौँ । पराजय नै भोगे पनि हामीले प्रधानमन्त्री, राष्ट्रपतिलगायत अन्य पदहरुमा लोकतान्त्रिक पद्धती अवलम्बन गरेका छौँ । पराजय विजयको प्रतिक हो भन्ने हामीले ठानेका छौँ । 
माले, मसाले र मण्डले एकै हुने भनेर स्व. गिरिजाप्रसाद कोईराला भन्ने गर्नुहुन्थ्यो, त्यो आज आएर चरितार्थ भएको छ । हिजो लोकतान्त्रिक आन्दोलन दवाउन खोज्नेहरुलाई सरकारमा ल्याईएको छ । एकदमै अपवित्र गठबन्धन निर्माण गरेर सरकार निर्माण गरिएको छ । हामीले यसो गरेको भए आज हाम्रो धज्जी उडाउँथे, तिनीहरुले ।  
सत्ताबाहिर रहँदैमा र पद नपाउँदैमा हामीले कुनै कुरा गुमाएको महसुस गरेका छैनौँ । कांग्रेसले चाह्यो भने केही महिनामै सरकारमा जान सक्छ । हामी सत्ताबाट टाढा छैनौँ । 

आम कांग्रेस कार्यकर्ता तहमा एकखाले नैराश्यता छाएको छ भनिएको छ, यस्तो निरासापन किन आएको होला ?
तपाइँले भनेजस्तो निरासा कांग्रेसजनमा छैन् । सरकारमा नहुँदैमा निरास हुने मान्छे अवसरवादी हो । सत्ताकै पछि लाग्ने मान्छे निरास भएका होलान्, खाँटी कांग्रेस निरास भएका छैनन् । हाम्रो शिर ठाडो छ । 

मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति कांग्रेसविना नेपाली राजनीति अब कसरी अगाडी बढ्ला ?
कांग्रेसलाई ‘बाईपास’ गरेर अगाडी बढ्न सरकारलाई त्यति सजिलो छैन् । कांग्रेसको सहभागिता र सहयोगविना संविधान कार्यन्वयन संभव छैन् । नियमित सरकार संचालन त होला, तर संविधान संसोधन गर्नुपर्ने अवस्थामा कांग्रेसविना दुई तिहाई बहुमत जुट्न सक्दैन् । मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति कांग्रेसको सहभागिताबेगर स्थिति सहज हुने देखिदैन् । तथापी, राम्रो कामका लागि हामीले गनुपर्ने सहयोग र भूमिकामा कुनै पनि कमी आउने छैन् । 

फरक प्रसंगमा, अहिले मुलुकमा इन्धन समस्याले चरम रुप लिएको छ, यो समस्या कस्तो हो र समाधान के हुन सक्छ ?
इन्धन आपूर्ति सहज गर्न नसक्दा अहिले जनताले ठूलो सास्ती पाएका छन् । यो समस्याको समाधानका लागि एक उच्चस्तरिय संयन्त्र बनाएर कुटनीतिक ढंगमा अघि बढनुपर्छ । मुलुकमा संविधान जारी भईसकेको अवस्थामा पनि जनताले दुःख पाईरहेका छन् । 
समस्यालाई उत्तेजित बनाउने गरी सरकारबाट उश्रृङ्खल अभिव्यक्तिहरु आईरहेका छन् । समस्यालाई अतिरञ्जित बनाउने होईन सहजीकरण गर्दै समाधानको बाटोमा जानुपर्छ । 
सरकारले यथास्रिघ समस्या समाधानका लागि पहल थाल्नु अत्यावश्यक छ । यो सरकारको दायित्व हो । यसका लागि हाम्रो रचनात्मक सहयोग रहन्छ । 

तपाईंको बिचार