Sunday, August 20, 2017  |    

यसपटकको पर्यटन व्यवसाय शून्यप्रायः छ, अब अर्को वर्षको टार्गेट हो : लामिछाने

प्रकाशित मिति: 2015/11/10

युवा  पर्यटन व्यवसायी नवराज लामिछाने क्लव सिएनआईका प्रवन्ध निर्देशक हुनुहुन्छ ।  सन् २००८ मा उहाँले उक्त क्लव सञ्चालनमा ल्याउनुभएको हो । ठमेलस्थित होटल मनाङको सम्मुख सञ्चालित उक्त क्लवले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई सेवा प्रदान गर्छ । 
नुवाकोटको त्रिशुलीमा जन्मिनुभएका लामिछाने सन् २००० देखि पर्यटन क्षेत्रमा आवद्व हुनुभएको हो । गर्मेन्ट व्यवसायबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका लामिछानेले सन् २००९ देखि ठमेल चाक्सीबारीमा एक ट्याटु हाउससमेत सञ्चालनमा ल्याउनुभएको छ । यसबाहेक उहाँ पिज्जा हिमालयका ‘सेयरहोल्डर’समेत हुनुहुन्छ ।  
लामिछाने पर्यटन व्यवसायबाहेक सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । गत बैशाखमा गएको विनासकारी भूकम्पका कारण पीडितहरुलाई उहाँले तत्कालित राहत तथा दीर्घकालिन पुनर्वासका लागि सहयोग पुर्‍याउनुभएको थियो ।  
भूकम्पका कारण नराम्रोसँग प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई हाल झण्डै डेढमहिनायता जारी भारतीय नाकाबन्दीले चौपट पारेको छ । मूख्य पर्यटकीय सिजनमा पर्यटक आगमन अत्यन्तै कम हुँदा व्यवसायीहरु मर्कामा छन् । यसै नाकाबन्दी र पर्यटनको समसामयीक विषयहरुमाथि आधारित रहेर उनै लामिछानेसँग गन्तव्य नेपाल न्यूजले गरेको छ प्रश्न :

पर्यटकीय केन्द्र ठमेलको व्यवसायीक अवस्था कस्तो छ ?
ठमेलको पर्यटकीय गतिविधि हाल एकदमै नाजुक छ । पर्यटक आगमन शून्यप्रायः हुँदा यससँग जोडिएका व्यवसायहरुको अवस्था पनि खराब छ । 

पर्यटक आगमन किन घटको हो ?
सबैलाई थाहा भएकै कुरा हो, गत बैशाखमा गएको विनासकारी भूकम्पले पर्यटन व्यवसायमा ठूलो धक्का दियो । तैपनि विस्तारै तङ्ग्रिदै गएको पर्यटन क्षेत्र विगत डेढ÷दुई महिनायता भारतले लगाएको नाकाबन्दीका कारण अत्यन्तै संकटग्रस्त भएको छ ।  
मुलुकमा संविधान जारी हुँदा हामी व्यवसायीहरु अत्यन्तै हर्षित थियौँ । अब नेपालको पर्यटन क्षेत्र पनि अगाडी बढ्छ भन्नेमा हामी आशावादी थियौँ । तर, बिडम्बना स्थिति झन खतरनाक हुन गयो । अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित दक्षिणी छिमेकीले नाकाबन्दी गरी इन्धन आपूर्ति रोक्दा ग्याँस तथा पेट्रोलियम पदार्थको अभावका कारण  पर्यटन क्षेत्र धरासायी बनेको हो । 
इन्धन अभावका कारण सेवा, सुविधा उपलब्ध गराउन नसक्दा नेपाल आएका पर्यटकहरु पनि फर्केर गएको स्थिति छ, भने पर्यटक आगमन ठप्पप्राय: छ । 

तपाइँ आफैँलाई वा होटल, रेष्टुराँ क्षेत्रमा इन्धन अभावको समस्या कस्तो छ ?
हामी एकदमै कठिन स्थितिमा छौँ । ग्याँस नहुँदा खाना बनाएर खुवाउने स्थिति छैन् । एकदमै न्यून मात्रामामात्र पर्यटकहरु आउँछन् । विगतको तुलनामा अहिले करिब ५ प्रतिशत पर्यटकमात्र आएको हामीले अनुभव गरेका छौँ । तिनै थोरै संख्याका पर्यटकहरुलाई हामीले सेवा दिईरहेका छौँ । 
अहिले हामीले आफ्ना स्टाफसमेत कटौती गर्नुपर्ने स्थिति छ । 

ग्याँस अभावको समस्या कसरी झेल्नुभएको छ ?
ग्याँस नहुँदा हामीले विद्युतीय सामग्री प्रयोग गरेर खाना बनाएर ग्राहकलाई सेवा प्रदान गरेका छौँ । राईसकुकर, ओवनआदिबाट परिकारहरु बनाईरहेका छौँ । 

समस्या समाधान हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
समस्याको छिटो समाधान होला भन्ने हाम्रो आशा छ । मुलुकको मूख्य समस्या भनेकै इन्धन अभावको छ । पर्वतीय पर्यटन, ट्रेकिङ, टुर, होटल व्यवसायदेखि सबै क्षेत्रमा अहिले इन्धन अभावको असर छ । समग्रमा पर्यटन क्षेत्र इन्धन संकटले नराम्रोसँग प्रभावित भएको अवस्था छ । 
यसपटकको पर्यटन र ठमेलको व्यवसाय शून्यप्रायः नै भयो । अब आउँदो वर्षको ‘टार्गेट’ हो । 
सबैले आ–आफ्नो क्षेत्रबाट पहल भईरहेको छ, हामीहरुले हामीले गतिविधि गरिरहेका छौँ । 

समस्याको समाधान के देख्नुहुन्छ ?
सरकारले वैकल्पिक उपाय खोज्नुपर्छ । भारतसँगमात्रको निर्भरताले आज यो समस्या देखिएको छ । अब चीन, तेस्रो मुलुकलगायतबाट  पनि इन्धन ल्याउनका लागि सरकारले पहल गर्नु जरुरी छ । 

 

तपाईंको बिचार