Sunday, December 17, 2017

हाम्रो पर्यटन आन्तरिक समस्यामा अल्झिएको छ : नेपाल

प्रकाशित मिति: 2015/12/15

पर्यटन क्षेत्रमा चिरपरिचित र गतिशिल युवा व्यवसायी तथा समाजसेवी राम नेपाल विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्व हुनुहुन्छ । झण्डै दुई दशकदेखि पर्यटनमा क्रियाशिल हुँदै आउनुभएका नेपाल अलपाईन रेस्क्यु सर्भिस प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ । 
नेपाल वि.सं. २०३७ सालमा धादिङको सल्यानकोटमा जन्मनुभएको हो । सामान्य किसान परिवारमा जन्मनुभएका उहाँले सन् १९९५ सालदेखि श्रमिकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । 
सन् १९९५ देखि दुई वर्ष उहाँले भरियाको रुपमा काम गर्नुभयो । त्यस्तै, सन् १९९७ देखि ५ वर्ष नेपालले अंग्रेजी भाषाको पथप्रदर्शक भएर काम गर्नुभयो । त्यसयता निरन्तर रुपमा उहाँ पर्यटनमा सक्रिय रहँदै आउनुभएको छ । 
नेपाल सन् २०११ –०१३े कार्यसमितिमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को सदस्य हुनुहुन्थ्यो । टान कार्यसमिति हुँदाबखत उहाँले ‘सर्च एण्ड रेस्क्यु कोडिनेटर’ को भूमिका निभाउनुभएको थियो । त्यस्तै उहाँ नेपाल पर्वतारोहण संघ (एनएमए) को साधारण सदस्यसमेत हुनुहुन्छ । यसबाहेक उहाँ टुरिज्म लाईन्समा पनि आवद्व हुनुहुन्छ । 
संस्थागत र लामो व्यवहारिक अनुभवसमेत संगालिसक्नुभएका नेपाल पर्यटन क्षेत्रमा राम्रो दख्खल राख्नुहुन्छ । पर्यटनमा राम्रो पकड र प्रभावसमेत राख्ने नेपाल पर्यटनमा एक जुझारु व्यक्तिका रुपमा चिनिनुहुन्छ । उनै नेपालसँग समसामयीक विषयमाथि आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको छोटो संवाद :
 

पर्यटन क्षेत्रमा तपाइँको व्यक्तिगत अनुभव के छ ?
पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरु छन् । यसको अर्थ यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौतीको समुच्च हो –मेरो अनुभवमा पर्यटन क्षेत्रको समग्र परिभाषा यहि हो । 

यसको मतलब पर्यटनमा अवसर के छन्, चुनौती के छन् ?
नेपालको परिपेक्ष्यमा पर्यटनमा बग्रेल्ती अवसरहरु छन् । कुनै एउटामात्र औँल्याउनेभन्दा पनि यहाँ थुप्रो अवसरहरु छन् । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटनलगायत पर्यटनका कैयौँ आयामहरु छन्, ति सबै अवसर हुन् । हाम्रो सन्दर्भमा सम्भावनाहरु ‘एक्स्प्लोर’ हुन सकेका छैनन् । 
यहाँ चुनौती पनि उत्तिकै परिमाणमा छन् । हामी नयाँ –नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । बाह्य चुनौतीसँग प्रतिस्पर्धा गर्ने ल्याकत हामीले राख्नै सकेका छैनौँ । 
त्यस्तै नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम त झनै भएका छैनन् । त्यस्तै पर्यटनका कतिपय नयाँ आयामहरुलाई विकास गर्न सकिएको छैन् । पर्यटकीय क्षेत्रहरुलाई चौविसै घण्टा सञ्चालनमा ल्याउन सकिएको छैन् । प्रदूषणको मात्रा उत्तिकै छ, सेवासुविधामा विस्तार गर्न सकिएको छैन् ।  यहाँ आएका पर्यटकहरुको बसाइँ लम्ब्याउन र बढी खर्च गराउन हामीले सकेका छैनौँ । नीतिगत चुनौती पनि छँदैछ ।

ती नीतिगत चुनौती के –के हुन् ?
सन् १९८५ मा जर्मनीले तयार गरेको पर्यटन पोलिसीले  आजपर्यन्त पर्यटन धानिरहेको छ । हामीले समयसापेक्ष पर्यटन रणनीति बनाएनौँ, उहि पुरानोले काम चलाईरह्यौँ । सरकारले समयसापेक्ष पर्यटन रणनीति तयार गर्नु अत्यावश्यक छ । 
त्यस्तै हामीमा करको अर्को चुनौती छ । हाम्रै छिमेकी मुलुकहरुको तुलनामा नेपालमा करको दायरा उच्च छ । यसले गर्दा हामीलाई प्रतिस्पर्धामा अप्ठ्यारो स्थिति सृजना गरेको छ । भ्याटको दायरा र अपरेसन कस्ट महंगो हुँदा व्यवसायीहरु मारमा छन् ।
यसैगरी आजभन्दा करिब १२÷१३ वर्षपहिले हाम्रो सेवाको गुणस्तर निकै उच्च थियो, मुलुक खुला राजनीतिमा प्रवेश गरेसँगै पर्यटकलाई दिईने उक्त सेवाको तह निकै खस्केको छ । सेवाको गुणस्तर बढाउनेतफ ट्रेड युनियनका लिडरहरुले पनि ध्यान दिनु जरुरी छ । 
हामीले सरकारबाट त्यति धेरै आशा गर्नु आवश्यक छैन्, तथापी, उल्लेखित कुराहरुमा सरकारले पुनर्विचार गर्नु जरुरी छ । 

केही समयअघिको विनासकारी भूकम्प र हालको नाकाबन्दीले पर्यटन धरासायी भएको छ, यी परिणतीहरुबाट तपाइँ व्यवसायीहरु कत्तिको प्रभावित हुनुहुन्छ ?
बैशाख १२ गतेको विनासकारी भूकम्पले हाम्रो पर्यटन क्षेत्रलाई क्षति गरेकै हो । तथापि, हामी व्यवसायीहरुले मात्र होईन विदेशीहरुले पनि सहजताका साथ लिएर घटना विर्सिसकेका थियौँ । 
तर, झण्डै तीनमहिनायताको भारतीय नाकाबन्दीले पर्यटनमा ठूलो धक्का लाग्यो । नाकाबन्दीले त भूकम्पकोभन्दा पनि ठूलो असर निम्त्यायो । 
अहिले उडड्यन, होटल, ट्रेकिङलगायत पर्यटनका यावत् क्षेत्रहरु निकै जोखिममा छन् । नाकाबन्दी समस्यालाई तत्काल समाधान गर्न सकिएन भने पर्यटनको स्थिति नाजुक बन्ने निश्चित छ । 

तपाईंको बिचार