Monday, October 23, 2017

योगकै माध्यमबाट पर्यटनमा आर्थिक समृद्धि सम्भव छ :मोहन लम्साल

प्रकाशित मिति: 2016/06/17

असार ३, काठमाण्डौ । बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्साल नेपाल योगा एसोसिएसनका अध्यक्ष हुन । विगत तिन दशकदेखी पर्यटन क्षेत्रमा सक्रिय रहेका लम्सालको परिचय पर्यटन क्षेत्रमा जुन रुपमा स्थापित बनेको छ, सँगै समाजसेवामा पनि उनको उत्तिकै योगदान रहेको छ । बिशेषतः नुवाकोटको तारुका लगायतका स्थानमा खानेपानि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लम्सालको उल्लेखनिय भुमिका रहँदै आएको छ । 

पर्यटनसँग सम्बन्धीत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का पुर्व कोशाध्यक्ष र महासचिवको भुमिकामा रहेर समेत पर्यटनमा योगदान पुर्याईसकेका लम्साल ठमेल स्थित मकालु एड्भेन्चर, ट्राभल एण्ड टुर्स तथा ठमेल इको रिर्सोटका सञ्चालक समेत हुन । विगत ३ बर्षदेखी भक्तपुरको तेलकोटमा ‘योगा रिट्रिट सेन्टर’ सञ्चालन गरिरहेका लम्साल पछिल्लो केही समययता ‘नेपाल योगा एसोसिएसन’ को अवधारणाका साथ उक्त संस्थामा निर्विरोध अध्यक्ष चुनिएसँगै पर्यटन र योगा सँगसँगै भन्ने नाराका कारण चर्चाको शिखरमा पुगेका छन ।

चर्चा यसकारण पनि छ की, जुन २१ तारिकका दिन बिशाल जनसमुदायका बिच पर्यटनमा योगको अवधारणा प्रश्तुत हुन गइरहेको छ,जुन सम्भवतः नेपालमै पहिलो पटक पर्यटन लक्षित योगा अभ्यासको सुरुवात भएको बताईएको छ । प्रश्तुत छ, पर्यटन लक्षित योग अभ्यासको औचित्य र यसले पर्यटनमा पार्ने प्रभावका बिषयमा नेपाल योगा एसोसिएसनका अध्यक्ष मोहन लम्सालसँग शंकर गौलीले गरेको अन्र्तवार्ताको सम्पादित अंश ।
१. नेपालमा योग अभ्याससँग सम्बन्धित थुप्रै संघसंस्था क्रियासिल भइरहेको अवस्थामा पर्यटन लक्षित योगा आयोजनामा लाग्नुभएको छ, यो आवश्यक्ता किन ?
संयुक्त राष्ट्र संघले हरेक बर्ष २१ जुनलाई योग दिवस मनाउने गरेको छ । यद्यपी गतबर्ष देखीमात्रै विश्वब्यापी रुपमा योगा दिवस मनाउन स्वीकृती दिएसँगै ७० भन्दा बढि देशले योगा दिवस मनाए, र यो अहिले बढ्दो क्रममा छ । यही क्रममा विश्व योगा दिवसको अवशर पारेर हामीले ‘नेपाल योगा एसोसिएसन’ का माध्यमबाट पर्यटनमा नौलो अवधारणाका रुपमा योगालाई प्रवेश गराउन खोजेका हौ । योगबाट पनि पर्यटन भित्राउन सकिन्छ भनेर नै हामीले योगा सँग टुरिजम लाई जोडेको स्थीती हो ।
२. योगाप्रति आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कशण कस्तो छ ?
हेर्नुस, आर्कशणको कुरा गर्नुपर्दा यो एकदमै बढ्दो क्रममा छ । हामीले यसभन्दा अघि पनि भक्तपुरको तेलकोटमा नेपाल योगा रिट्रिट नामक योग सिकाउने संस्था सञ्चालन गरिरहेका छौ । जुन ३ बर्षदेखी निरन्तर चलिरहेको छ । सुरुका दिनमा संख्यात्मक रुपमा केही कमि जस्तो देखिएपनि पछिल्ला बर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको एकदमै रुची देखीएको छ । हामीले योगामा रिट्रिट शब्दलाई प्रयोग गर्दै रात बिताउने सुबिधा सहित २ सय घण्टाको योग अभ्यास सञ्चालन गरिरहेका छौ । जहाँ अधिकतर बिदेशी पर्यटकहरुको आर्कशण देखीएको छ । यससँगै नेपाल आउने पर्यटकहरुलाई घुम्न मात्र होइन की मानसिक शान्तिको खोजीको अवशर पनि हामीले जुटाइदिएका छौ । जसले प्रत्येक ट्रेकिङमा योगा र टुरमा योगा’ भन्ने नाराकै रुपमा प्रयोग गर्दै अगाडि बढिरहेको स्थिीती हो । जुनरुपमा अहिलेसम्मको अनुभवले पर्यटकहरुको संख्यात्मक रुची र आगमनको अध्ययन गर्ने हो भने गौरवका साथ भन्न सक्छौ कि हामी यसमा सफल भएका छौ ।
३. तपाई पर्यटन ब्यावसायी, पर्यटनलाई छोडेर योग अभ्यास तिर लाग्नुभाछ, यो आवश्यक्ता चै किन ?
हो, हामी प्रथमतः पर्यटनकर्मी नै हौ । तर पर्यटनसँग जोडिएका सवालहरुसँग हामी विमुख भएर रहने कुरा भएन । भन्न खोजेको कुरा के भने संसारमा घुम्नको लागि त थुप्रै देशहरु होलान तर हामीमा जे छ, त्यसैमा गर्व गर्नेमात्र होइन की, यसमा केही फरकपनको पनि अवश्य खोजी गर्नैपर्छ । योगा आफैमा नयाँ प्रोडक्ट भएकाले यस किसिमको प्रयोग ट्रेकिङमा अगाडि बढ्दै गरेका पर्यटकहरुलाई दिन सकियो भने अवश्य पनि पर्यटन बजार समृद्ध बन्न सक्छ । अर्कोतर्फ नेपालमा हिमालयहरुको प्रचुर खानी भएको कारणले पनि हिमालको चिसो हावामा बसेर योग गर्न पाउने स्थीतीको कल्पनालाई हामीले यथार्थमा बदल्न सहयोग गर्यौ भने पक्कै पनि नेपाल आउने पर्यटकको संख्या बढ्ने मात्र होइन की नेपाल बसाई पनि निस्चित रुपमा लम्ब्याउन सहयोग गर्छ । यसो भनिरहँदा तपाई कल्पना गर्नुस, सगरमाथाको फेदीमा बसेर कुनै पनि पर्यटकले योगा गर्ने अवशर पाउने स्थीतीमा निश्चयनैः उसले पाउने सन्तुष्टि शब्दमा बर्णन गर्न नसकिएला । यसबाट कतिपय दिर्घरोगमा समेत लाभ प्राप्त हुने मेडिकल साइन्सले समेत प्रमाणित गरीसकेको छ । 
यसर्थ नौलो प्रयोग त हुदै हो सँगै पर्यटनको आगमनमा बृद्धि, आएका पर्यटकको बसाई लम्ब्याउन र त्यसपछिको स्थीतीमा आर्थिक समृद्धिको कल्पनाले नै योग अवधारणमा आइपुगेका हौ ।


  ४.यहाँहरुले जुन २१ मा पर्यटनमा योगलाई उत्सवकै रुपमा मनाउने कुरा गर्नुभाछ, त्यसदिन खास के हुँदैछ ? 
बिशेषतः त्यसदिन योगसम्बन्धीत नै मुख्य कार्यक्रम रहनेछ । बिहान साढे ६ बजे नेपाल पर्यटन बोर्डमा भेला हुने कार्यक्रम रहेको छ । त्यहाँबाट मार्चपासकै रुपमा सुरु भएर शहिदगेट, आरएनएसी, कान्तिपथ, ठमेल हुदै दरबारमार्गमा पुगेर होटल उडल्याण्डमा योग सम्बन्धी एक बिशेष कार्यक्रम हुँदैछ । बरिष्ठ योग प्रशिक्षक चिन्तामणि गौतम जो तिन बर्षदेखी योगा रिट्रिटमा योग गुरुको रुपमा रहनुभएको छ, उहाँबाट केही समय योग अभ्यासको कार्यक्रम हुनेछ । बिशेष अतिथिबाट उद्घाटन गरिने उक्त कार्यक्रममा योगदिवसका माध्यमबाट पर्यटन क्षेत्रको बिकाश र पर्यटकको आगमनमा बृद्धि र उनीहरुको नेपाल बसाई लम्ब्याउन योगले खेल्ने भुमिकका बिषयमा कार्यक्रम केन्द्रित हुनेछ ।
५. पर्यटनमा योगलाई स्थापित गर्न लाग्नुभएको छ, यहाँहरुको भावि योजना के छ ?
योगा एसोसिएसन भर्खरै मात्र स्थापित भएको संस्था हो । अहिले यो प्रारम्भिक चरणमै छ । अव छिट्टै सदस्यता वितरणको कार्यलाई तिव्रता दिनुका साथै पर्यटनमा योगको अवधारणलाई स्थापित गराउन हामी केन्द्रित हुनेछौ । योगा शिक्षक र योगा अध्ययन गरेका ब्यक्तिहरु हाम्रो संस्थाको सदस्यता बन्न सक्नेछन । बिदेशमा कुनै पनि योगा अभ्यास केन्द्र सञ्चालन गर्नुपरेको अवस्थामा ‘योगा अलाईन्स’ को अवधारणा कायम रहेको हुन्छ । हो त्यही किसिमको अवधारणा जुन आज हामीले पर्यटन र योग सँगसँगै   भन्ने अर्थमा प्रयोग गर्ने कोशिस गरेका छौ । यही हामीले देखेको भोलिको सपना हो । र यसका लागि हामी निरन्तर सक्रिय रहनेछौ । त्यस्तो योजना जसले सम्पुर्ण योगा अभ्यास केन्द्रहरुको अभिभाकत्व संस्थाका रुपमा आफुलाई बिकाश गर्नुका साथै पर्यटक आगमनलाई टेवा पुर्याउनु र पर्यटनमा समृद्धिको निरन्तरताको खोजीमा नै हाम्रो ध्यान केन्द्रित रहनेछ । 

 

 

तपाईंको बिचार