Monday, May 1, 2017  |    

अनुचितरुपमा रकम बाँड्ने र रोक्नेबीचको लडाइँ हो यो : दाहाल

प्रकाशित मिति: 2016/08/01
लीलावल्लभ दाहाल (काका), कोषाध्यक्ष –टान
लीलावल्लभ दाहाल (काका), कोषाध्यक्ष –टान

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पछिल्लो समय आर्थिक पारदर्शिताको मुद्दाले तातिएको छ । टान कोषाध्यक्षले संस्थालाई आर्थिकरुपमा बन्धक बनाएको भनेर अध्यक्ष, महासचिवलगायतले आरोप लगाइरहँदा कोषाध्यक्ष लीलाबल्लभ दाहालले भने आफू नियमसङ्गत भुक्तानीको पक्षमा उभिएको र टान अध्यक्ष तथा महासचिवको रबैयाकै कारण संस्था धरासायी बनेको आरोप लगाएका छन् । टान कार्यसमितिभित्र देखिएको विवाद, आर्थिक पारदर्शीताको मुद्दा, ऋणमा डुबेको टानलाई माथि उकास्न चाल्नुपर्ने कदमका साथै टान कोषाध्यक्षमाथि लागेको आरोप सम्बन्धमा बहस केन्द्रित गर्ने कोशिस गरेका छौँ । प्रस्तुत छ, टान कोषाध्यक्ष लीलाबल्लभ दाहालसँग गरिएको अन्तवार्ताको सम्पादित अंश ।

टानभित्रको वर्तमान विवाद के हो ?

हेर्नुस्, टानभित्रको वर्तमान विवादको सम्बन्धमा सतहमा विभिन्न टीकाटिप्पणी देखिएपनि मुख्यतः टानभित्रको आर्थिक कारोवार नियमसङ्गतरुपमा सञ्चालन गर्ने कि आफूखुसी अनुदान र खर्च गर्न पाउने भन्ने नै आजको दिनमा समस्याको रुपमा देखिएको छ । यस अर्थमा मैले जहिले पनि संस्थाको हिसावकिताव विधानअनुसार औचित्य पुष्टि हुने ठाउँमा खर्च गराँै र यसलाई पारदर्शी बनाउँ भन्ने मेरो भनाइमा अध्यक्ष र महासचिवको असहमति नै बर्तमानको टानभित्र देखिएको विवाद हो । उहाँहरु आफूखुसी रकम बाँड्न पाउनुपर्छ भन्ने लाइनमा हुनुहुन्छ, जुन गलत छ । सर्सर्ती विवाद यही हो ।

टानको दैनिक कार्यसञ्चालन गर्न तपाई कोषाध्यक्षकै कारण अप्ठेरो पर्यो भन्ने अध्यक्ष र महासचिवको आरोप छ नी ?

    यो विल्कुल निराधार आरोप हो । मेरा कारणले संस्थाको आर्थिक गतिविधि रोकिएको हुन्थ्यो भने विश्व खाद्य कार्यक्रमअन्र्तगत गोरखा, धादिङ जिल्लामा भएका कार्यक्रमहरु अगाडि बढ्न सक्ने थिएन । अर्कोतर्फ यसअघि भएका टान ल्होसार र लाङटाङ हाफ म्याराथनमा पनि उहाँहरुले आफूखुसी खर्च छुट्याएर कार्यक्रम बनाउनुभयो । यद्यपि, आर्थिकरुपमा अन्ततः घाटा नै लाग्यो, कार्यक्रम पनि सफल भएन । भन्नुस्, यसले कसलाई फाइदा पुग्यो, उहाँहरुलाई कि टानलाई ? कुरा घाटा नाफा मात्र होइन, त्यसबाट पाइने प्रतिफलको पनि हो । आफूखुसी उत्तेजनामा गरिने आर्थिक कारोवारले कसैको हित गर्दैन भन्न खोजिएको मात्रै हो ।

 यहाँले संस्थाको भुक्तानी रोक्नु भयो भन्नेसन्दर्भमा हामी कुरा गरिरहेका छौँ ?

    संस्थाको भुक्तानी पनि कहाँ रोकिएको छ त ? । घाटा नै सही, उहाँहरुले माथी भनेका शिर्षकहरु विश्व खाद्य, ल्होसार, लाङटाङ म्याराथनमा त आफूखुसी खर्च गरिसक्नुभयो त । यसले पनि कोषाध्यक्षको भूमिका त प्रष्ट भइसक्यो नि ।

यसअघि लाङटाङ म्याराथन आयोजना हुँदा मिडिया भुक्तानि यहाँले रोकेको भन्ने कुरा थियो, यो स्थीति किन ?

     मैलै यसअघि नै भने मिडिया खर्च आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ भनेर । मिडिया खर्च रोकेको कहाँ हो र रोकेको भए त्यत्रो घाटा कसरी लाग्थ्यो । निश्चय नैः संस्थाको काममा मिडिया खर्चको भूमिका हुन्छ, तर मैले भन्न खोजेको के भने तिनीहरुको पनि वर्गीकरण गरेर दिउँ न भन्न मात्रै खोजेको हो । राष्ट्रियस्तरमा पहुँच भएका मिडिया र एउटा पनि समाचार नछाप्ने नाम मात्रका मिडियालाई एउटै रकमको व्यवस्था हुनुहुन्छ कि हुँदैन भन्ने मात्र मेरो प्रश्न हो । यस अर्थमा यो अतिरन्जित गर्न मात्र वाहिर ल्याइएको हो । यद्यपि, उहाँहरुले मिडिया खर्च भनेर कोषाध्यक्षको भूमिकालाई बेवास्ता गरेरै आफूखुसी भुक्तानी दिइरहनुभएको छ । संस्थागत निर्णय भने नभएको सही हो ।
 
पर्यटन व्यावसायीहरुमाझ टान ऋणमा चुर्लुम्म डुब्यो, टान  कार्यलयको घर नै बेच्दा पनि ऋण भुक्तानी हुने अवस्था छैन भनेर हल्ला छ, खासमा कुरा के हो ?

ऋण तिर्न नसक्ने भनेर अहिले नै निचोडमा पुग्याँै भने त्यो अलि हतारको बोली ठहर्ला । यद्यपि, सत्य के हो भने अहिले टानले दुई करोड हाराहारीको ऋणको भार व्यहोरेको छ । यद्यपि, आम्दानी भने संस्थाले पाउने अनुदान र लगभग १२ सयको हाराहारीमा रहेका सदस्यहरुबाट उठाउने नवीकरण शुल्कलगायतबाट वार्षिक ६० लाख कमाई हुने यसअघिको स्थीति हो ।

अर्कोतर्फ नेपाल पर्यटन बोर्ड र टानबीच कार्यविधि तयार नहुँदा पर्यटक भ्रमण अनुमति टिम्स कार्ड टानले सञ्चालनमा ल्याउन नसक्दा यसतर्फबाट आउने आर्थिक पाटो पनि तत्कालका लागि रोकिएको छ । यसतर्फ अध्यक्ष र महासचिवको ध्यान नजाने केवल आर्थिक मौजात जथाभावी खर्च गर्ने कुरामा मात्रै उहाँहरुको ध्यान जानुले पनि टान थप सङ्कटमा परेको छ ।

तपाइँ आफूलाई आर्थिक पारदर्शिताको पक्षमा उभिएको भन्नुहुन्छ, आम्दानीको तुलनामा यत्तिका धेरै ऋण चै टानमाथि कसरी आईपर्यो ?

    मैलै यसअघि पनि भने, उहाँहरुले आफूखुसी गर्न नपाएकै कारण मेरो कार्यशैली उहाँ (अध्यक्ष, महासचिव)  लाई मन परेको छैन । मेरो कसरत भनेको यसभन्दा अगाडि जति आर्थिक लापरवाही खर्च भए अब चाहीँ रोकिनुपर्छ भन्ने हो । अर्कोकुरा वर्तमानको दुई करोड ऋण अहिलेको कार्यसमितिले मात्रै गरेको नभई दुई करोड ६२ लाख अघिल्लो कार्यसमितिबाट हामीले स्वामित्व लिनुपरेको अवस्था हो । जसमा हेलिकप्टर खर्च र मजदुर विमा रकमका कुराहरु समावेश छन् । यस्तै संस्थाको एजिम बुकलेट छाप्ने सन्र्दभमा नै रु ६ लाख ९० हजार खर्च भएको तथा अन्य विभिन्न शिर्षकमा जोडिन आएका छन् ।

यसभन्दा अगाडि यहाँले मैले भुक्तानी नदिएको भन्ने आरोपको कुरा गर्नुभयो, त्यसमा उहाँहरुले अमेरिकामा फेयर ट्रेड आयोजना गर्नुभयो रु २० लाख घाटा टानले बेहोर्न पुग्यो । त्यस्तै यसअघिकै टान ल्होसारमा रु ८ लाख र केही समयअगाडि लाङटाङ हाफ म्याराथन आयोजना गर्ने नाममा रु ७ लाख टानले घाटा बेहोरेको स्थितिले मैले सधै यी कार्यक्रम आयोजना गर्दा वा भाग लिँदा औचित्य र कार्यविधिमा चल्नुपर्छ भन्ने धारणा राख्दै आएको छु । यसैलाई गल्ती ठानिन्छ भने मेरो भन्नु केही छैन् ।  

टान यति धेरै घाटामा जानुको पछाडि यहाँहरु नेतृत्वमा बसेकाहरुको अदूरदर्शिता, कार्यक्षमता नभएको भन्ने चै लाग्छ कि लाग्दैन ?

यहाँले भनेजस्तै कुनैपनि संस्था आर्थिकरुपमा धरासायी हुन्छ भने त्यसमा नेतृत्व तहको कार्यशैली, क्षमताको अवश्यपनि बहस होला । तर यही कुरा समग्रतामा हेर्न मिल्दैन । किनभने मैले यसअघि पटकपटक भन्दै आएको छु, टानबाट गरिने कार्यक्रम उद्देश्य केन्द्रित हुनुपर्छ भनेर । यही कुरामा हामीबीच मतभेद देखिँदै आएको अवस्था हो । अर्कोतर्फ कतिपय अवस्थामा संस्थाको साख जोगाउनकै लागि  गरिसकेका कार्यक्रम र निर्णयहरुमा उचित नहुँदा नहुँदै पनि भुक्तानीमा हस्ताक्षर गर्नुपरेको अवस्था हो । अर्कोतर्फ उहाँहरुकै पार्टी सरकारमा हुँदा पनि टानको ऋण सङ्कट समाधान गर्न खास पहल गरेको देखिएन । संस्था धरासायी भइसकेपछि आवश्यक रकमको जोहो गर्न पर्यटन बोर्डसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा केवल कोषाध्यक्षले केही गरेन भनेर आफू जोगिन खोज्ने उहाँहरुको नियत नै मुख्य समस्या हो ।

अर्कोतर्फ टिम्सबापतको करोडौँ रकम पर्यटन बोर्डमा रोकिएको छ, टानमा किन आउन सकेन ?

    सुरुमा कोषाध्यक्षले थाहा पाउँछ कि गरेर अध्यक्ष र महासचिव गाडी चढेर टुरिज्म बोर्ड धाउनुभयो । पर्यटन बोर्डमा अध्यक्षका निकट मानिने व्यक्ति त्यसबखत भएका कारणले पनि हुनसक्छ । यद्यपि, सधैँभरि एउटै बाटो हिँडेपछि लौ रकम ल्याउन सकिएन भन्ने जतिबेला उहाँलाई थाहा भयो । त्यसपछि कोषाध्यक्ष माथि औँला उठाउन थाल्नुभयो । आफूले काम गर्न नसकेपछि उहाँहरुको फेरिएको मानसिकताले नै समस्या सिर्जना गरेजस्तो लाग्छ । अझैपनि टानको खर्चलाई व्यावस्थित गर्ने अर्थमा सहकार्य गर्न तयार छु तर विधिसङ्गत हुनुपर्छ भन्ने मेरो बुझाइ हो ।

विगत तीन वर्षदेखि टान नवीकरण नगरी सञ्चालन भैरहेको छ, यसमा दोषि को हो ? यहाँहरुको व्यवस्थापकीय  सीप त यसले पनि प्रस्ट्याउँला नि ?

कुनै पनि संस्थाको कार्य सञ्चालन गर्नकै लागि सदस्यहरुले जिताएर पठाएका हुन्छन् भने सबंस्था नवीकरण गर्नुपर्छ कि पर्दैन भनेर बाहिर यो विषय आउनु नै लज्जास्पद हो । मैले यस विषयमा पटकपटक उहाँहरुसँग कुरा गरेपनि खास महत्व दिनुभएन । यसअघिका कार्यसमितिले के गर्नुभयो हामी त्यतातिर नजाउँ उहाँहरुको कार्यशैलीप्रति मेरो केही भन्नु छैन, यद्यपि त्यो गलत नै हो । तर अहिलेकै कार्यसमितिका नेतृत्वहरुले नवीकरणलाई ठूलै उपलब्धि ठानेर फलानो दिन यसरी नवीकरण र उसरी भन्दै जसरी अन्तर्वाता दिँदै हिड्ने र काम चाहीँ सोच्दै नसोच्ने जुन प्रवृत्ति छ । यो आफैँमा लज्जास्पद छ ।

टानले उठाउने डोनेसनका पाटाहरु पनि होलान् नि ?
हेर्नुस्, चौथो बैठकबाट भुक्तानी उठाउने काम भयो । यार्चा महोत्सवको नाममा रु २५ हजारदेखि तीन लाखसम्म उठाउने भनेर पर्यटन बोर्डलाई चिठी लेख्नुभयो । लाङटाङ राष्ट्रिय निकुञ्जलाई दिनको लागि रु एक लाख ५० हजार स्वीकृत गराउनुभयो । यी  दुबैमा  मेरो असहमति रहँदै आएको थियो । यद्यपि, मलाई हस्ताक्षर गर्न बाध्य पारियो । अर्कोतर्फ स्वविवेकमा रु पाँच हजारसम्म अनुदान दिने भन्ने संस्थाको निर्णय भएपनि उहाँहरुले आफूखुसी रकमको प्रयोग गरिरहनुभएको छ । यसले संस्थाको हित कदापि गर्दैन । मैलै यी कुराहरुमा सधैँ औचित्य र आवश्यकतामा जोड दिँदै आएको छु ।

टानले ध्यान दिन नसकेको क्षेत्र के–के हुन्जस्तो लाग्छ ?

हेर्नुस्, धेरै क्षेत्र हुन सक्छन्, जहाँ हाम्रो आँखा नपुगेको होस । यद्यपि, बर्सौदेखिको टान आलोचितसमेत बन्नुपरेको विषयहरुमा टानले अहिलेसम्म एयरपोर्ट पास प्राप्त गर्न सकेको छैन । यद्यपि, यसमा केही मात्रामा पहल पनि भएका छन् । अर्कोतर्फ टानमा सोलार राख्ने कुरा, मितव्ययिताका विषयलगायत धेरै यस्ता विषय छन्, जसमा सामूहिकरुपमा ध्यान पु¥याउनु जरुरी छ । सबै पुरानै विचारले ग्रसित छन् । जसोतसो लाङटाङ हाफ म्याराथन आयोजना गरिनुमात्रै नयाँ कार्यक्रमको रुपमा लिएको अवस्था हो ।

यी तमाम कुराहरुबीच टानको वर्तमान सङ्कट समाधान गर्ने र नेतृत्वहरुबीच विश्वासको वातावरण बनाएर अघि बढ्न सकिने अवस्था पनि त होला नि ? यतातिर यहाँहरुको ध्यान खै ?

निश्चय पनि टानको विवादलाई आफूहरुबीचमै गल्ती कमजोरी छुट्याएर अघि बढ्ने सामूहिक प्रतिबद्धता गर्ने हो भने बर्तमानका समस्या सबै सेलाएर जान्छन् । यसका लागि म आफै पनि सकारात्मक भूमिका खेल्नको लागि तयार छु । तर कुरा के भने आफ्नो व्यक्तिगत प्रवृत्ति संस्थामा लाद्ने कोशिस कदापि स्वीकार्य छैन् । टानमा ऋणको भार ठूलो होला तर अझै पनि सम्भावना छ । विधिमा हिड्ने कोशिस ग¥यौ भने संस्थालाई माथि पु¥याउने कुरामा कुनै दुईमत छैन्, नत्र एकले अर्कोलाई हिलो छ्यापेर हिड्ने शैलीले कसैलाई फाइदा गर्दैन् ।

 

तपाईंको बिचार