Wednesday, August 23, 2017

प्रजातान्त्रिक पार्टीमा हराएको लोकतन्त्र पुर्नताजगीका लागि मेरो उमेद्धवारी :त्रिपाठी

प्रकाशित मिति: 2016/08/05

साउन २१, काठमाण्डौ । नेपाल विद्यार्थी संघको महाधिवेशन यही साउन २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । २०६५ साल यता हुन नसकेको स्ववियू निर्वाचन र त्यत्तिकै लामो समयदेखि नेवि संघको महाधिवेशन हुन नसक्दा यसपटक विधिवत महाधिवेशन सम्पन्न हुनेमा आम विद्यार्थी तथा विद्यार्थी नेताहरु आशावादी देखिएका छन । यही उत्साहका साथ काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट प्रतिनिधी छनौट भएर काठमाण्डौ आईपुग्ने क्रम जारी रहँदा नेवि संघको एक पक्ष भने विधिवत महाधिवेशनको माग राख्दै ७ दिनदेखी आमरण अनसनमा छ । 

यि विविध पृष्ठभुमिका विच झण्डै एक दशकदेखि रोकिएको नेवि संघको महाधिवेशन अन्तिम चरणमा पुगीरहँदा नेतृत्वमा दावी गर्नेहरु संगठन सुदृढीकरणका विविध एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन ।
यही श्रृंखलामा अध्यक्षको दावी सहित चुनावी मैदानमा उत्रिएका पात्र हुन, आनन्दराज त्रिपाठी ।
चुनावी प्रचार भईरहँदा आजसम्मको स्थीतिमा त्रिपाठी अध्यक्षमा बलियो पात्र र संभावित अध्यक्षको अग्रस्थानमा समेत देखिएका छन ।
तनहुंमा जन्मिएर २०४६ सालयता नेविसंघमार्फत अविचलित रुपमा सक्रिय राजनीति गर्दै अगाडि बढिरहेका त्रिपाठी यसअघि विभिन्न समयमा विश्वभाषा क्याम्पस र नेपाल ल क्याम्पसमा क्रमशः स्ववियू सदस्य, सहसचिव र सचिव हुँदै पहिलो पटक २०५९ सालमै नेविसंघ केन्द्रिय सदस्य समेतको भुमिका निर्वाह गरिसकेका छन । २०६४ मा भएको पछिल्लो महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्यका रुपमा रहेका त्रिपाठी आफु यसपटक अध्यक्षमा निर्वाचित हुनेमा पुर्ण आशावादी रहेको बताउँछन ।
भन्छन, ‘देशमा प्रजातन्त्र,लोकतन्त्र तथा विभिन्न राजनैतिक परिवर्तनमा निस्वार्थ रुपमा निरन्तर लागीपरेको व्याक्ति हुँ, राजनीति लाभ हानीका नजरले आजसम्म हेरेको छैन, विद्यार्थी साथीहरुको मनोभावहरुलाई केलाउँदै उनीहरुको समस्यामा प्रत्यक्ष सामेल भएको छु, यही नै मेरो जितको आधार हो ।’
यसैसन्दर्भमा नेविसंघको नजिकिएको महाधिवेशन, नेतृत्वका बढ्दो आकांक्षी, विधिवत महाधिवेशनका लागि हालसम्म भए गरेका प्रयास तथा अवको नेतृत्वमा केन्द्रित रहेर छलफल प्रश्तुत गर्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, यिनै अध्यक्षका प्रत्यासी आनन्दराज त्रिपाठीसँग गरिएको अन्र्तवार्ताको संपादित अंश

१. नेवि संघ महाधिवेशनमा नेतृत्वको आकांक्षीहरुको भिड बढिरहँदा तपाई स्वयमं पनि अध्यक्षको दावी गर्दै मैदानमा उत्रिनुभएको छ, यहाँको उमेद्धवारी किन ?

स्वभाविक हो, नेतृत्वका आकांक्षीहरु यसपटक केही बढि नै देखिनुभएको छ । योग्यता पुगेका सवै साथीहरुले उमेद्धवारी घोषणा गर्न पाउनु उहाँको अधिकारको कुरा पनि हो । अर्को कुरा २०६४ यता महाधिवेशन हुन नसकेका कारण धेरै नेतृत्व क्षमता भएका साथीहरु यसविचमा रोकिन पुग्नु भएको छ । यसकारणले पनि नेतृत्वमा होड देखिएको हो ।
जहाँसम्म मेरो उमेद्धवारीको प्रश्न छ, विगत लामो समयदेखि कांग्रेस पार्टि अन्र्तगत नेविसंघमा रहेर राप र ताप सहदै लोकतन्त्र, प्रजातन्त्र र अन्य दलहरुसँगको आन्तरीक अप्ठेरोसँग पार्टीलाई परेको बखत रातदिन निस्वार्थ रुपमा सेवा गर्दै आएको छु । अर्को कुरा लामो समयदेखी महाधिवेशन हुन नसक्दा विद्यार्थी साथीहरुको हकहितका मुद्धा, शैक्षिक प्रणालीमा देखिएका अन्तरविरोधहरुलाई चिर्दै समुन्नत संगठनको रुपमा विकाश गर्दै जानुपनि एक सक्षम नेतृत्वको खाँचो यतिवेला हामीमाझ छ । लामो समयदेखि महाधिवेशन रोकिदा नयाँ आउने नेतृत्व पुस्तामा पनि निरासाजनक स्थीति निर्माण हुने खतरा पनि उत्तिकै भएकाले यि सवै कुराहरुलाई चिर्दै समग्र विद्यार्थी बर्गको विश्वासको केन्द्रको रुपमा नेविसंघलाई विकाश गर्नु आवश्यक ठानेर नै उमेद्धवारीको घोषणा गरेको हुँ । आशावादी छु, साथीहरुले मुल्याकंन गर्नुहोला ।
२. हालसम्म अध्यक्षका प्रत्यासी १० जनाभन्दा बढि देखिएको स्थीतिमा त्यती ठुलो भिडमा तपाई कतै......?
हेर्नुस, मैले यसभन्दा अघि पनि भने नेविसंघमा क्रियासिल रहँदै आएका र योग्यता पुगेका सवै साथीहरुले नेतृत्वमा दावी गर्नु अस्वाभाविक होईन । नेतृत्वमा दावी गर्नेहरु हालसम्म १० जनाभन्दा बढि भएको स्थीति हो । यद्यपी चुनावी मैदानमा उत्रिने समयमा यसमा तलमाथी हुनेमा शंका छैन ।
यद्यपी यहाँ मुख्य कुरा के छ भने, यसविचमा संगठनमा रहँदा विद्याथी साथीहरुको हकहितका मुद्धामा को कति सक्रिय, संगठनमा रहँदाका आचरण र प्रतिकुल परिस्थिीतिमा पनि विचलित नभई एकचित्त भएर लाग्ने व्याक्ति कोही हो भने त्यो आनन्दराज त्रिपाठी नै हो । अर्को कुरा नेतृत्वमा दावेदारी रहीरहँदा शुभेच्छक विद्यार्थी साथीहरुबाट जुन खालको हौसला र सद्भाव पाएको छु, त्यसले पनि निरास हुनुपर्ने अवस्था छैन भन्ने नै मेरो बुझाई हो ।

३. तर अध्यक्षमा हल्ला गरेर महामन्त्री हुने योजनामा हुनुहुन्छ, भन्नेहरु पनि छन नी ?

यो विल्कुल निराधार हो । झण्डै तिन दशकदेखिको मेरो राजनीतिक यात्रा र यसविचमा मैले बुझेको राजनीति विशुद्ध रुपमा बैचारिक निष्ठामा आज सम्म अनवरत रुपमा चलिरहेको छ । यसविचमा लामो समयदेखि रोकिएको महाधिवेनका कारण धेरै साथीहरुमा निरासा उत्पन्न गरेको स्थीति अवश्य पनि हो, यसविचमा आफुमा आत्मविश्वास नभएका धेरै साथीहरु फरक क्षेत्र रोजेर बाटो लागिसकेको स्थीतिबारे पनि म अवगत छु ।
यतिवेला मेरो कोशिस सदैव संगठनलाई प्रजातान्त्रिक रुपले अगाडि बढाउनु र प्रजातान्त्रिक पार्टीमा हराएको लोकतन्त्रको उजागर गर्नु रहेकाले पनि तमाम विद्यार्थी साथीहरुको मप्रति सद्भाव रहेको पाएको छु । 
यसर्थ उमेद्धवारीको निर्णय क्षणिक उत्तेजनमा नभई योजनाबद्ध रुपले परिवर्तनका लागि भएकाले मैदानमा आएर अलमलिने मेरो स्वभाव हैन ।
४. नेविसंघ सुधारका लागि आफ्नो उमेद्धवारी भन्नुहुन्छ, यद्यपी लामो समयसम्म तपाईहरुले नै नेतृत्व दावी गरिरहने हो भने नयाँ पुस्ताले कसरी अवशर पाउने ?

यहाँले ठिकै कुरा गर्नुभयो, यद्यपी यो परिस्थीतिको जिम्मेवार को भनेर प्रश्न गर्दा जवाफ स्वतः पाउन सकिएला ।
२०६४ सालमा महाधिवेशन भएयता हरेक २ बर्षमा हुनुपर्ने महाधिवेशन अझैसम्म हुनसकेको छैन । यसविचमा निरन्तर अधिवेशन सम्पन्न भएको भए जित्नेले नेतृत्वमा उदाउने थिए, अरु अन्य बाटोमा लाग्ने थिए । यो कमजोरीको बारेमा आवाज नउठाएर पार्टी नेतृत्वको कार्यशैलीलाई अन्धोभक्त भएर स्वीकार गर्दै हिड्नेहरु नै यसका मुख्य दोशी हुन । यस्तो अवस्थामा राजनीतिक यात्रा चटक्क छोडेर मोडिन आत्माले नदिने रहेछ ।
यसर्थ यो महाधिवेशन हामी जस्ता धेरै व्याक्तिका लागि अन्तिम बन्नुपर्छ । ताकि आउँदो पुस्ताले पनि नेतृत्वमा सपना साँच्न सकोस । यही वातावरण निर्माण यानकी प्रत्येक २ बर्षमा महाधिवेशन, विभिन्न ढंगले भएका राजनितीक नियुक्तिका दुरुपयोग रोक्न तथा समग्र विद्यार्थीको आँखामा आशा जगाउनकै लागि उमेद्धवारी दिने निधोमा पुगेको हुँ, कसैलाई छेक्न होइन ।

५ं. तर यहीवेला कुन्दनराज काफ्लेको समुह विधिवत महाधिवेशनको माग राखेर अनशनमा छ, यस्तो अवस्थामा महाधिवेशन अगाडि बढ्न सक्छ ?

हेर्नुस, उहाँले भनेका कुरा विधिवत महाधिवेशन हुनपर्छ भनेर हामी पनि लागि परेका छौ । तर उहाँ के भन्दै हुनुहुन्छ भने यसअघि जिल्लाबाट चयन भएका विद्यार्थी प्रतिनिधिहरु फेरी चयन गर्नुपर्ने कुरामा ६४ जिल्लाको टुंगो लागिसकेको र ११ जिल्लामा प्रतिनिधी छनौटमा गडबढि भए भन्ने जुन खालका कुराहरु आएका छन, अन्तिम समयमा आएर यथोचित प्रमाणविना यि कुराहरुमा अल्झनुको कुनै तुक हुँदैन । जिल्लाजिल्लाबाट प्रतिनिधीहरु महाधिवेशनमा सहभागि हुन काठमाण्डौ आईसकेको अवस्थामा फेरी महाधिवेशन रोकेर संगठनलाई बन्दी बनाउने काम न्यायोचित नहोला । यसमा उहाँहरुले पनि पुर्नविचार गर्नुहोला ।

६. तर आज अनसनको सातौ दिन हुँदा पनि पार्टीले माग सम्बोधन नगरेको भन्दै आलोचना भैरहेका बेला अनसन रोक्ने बातावरण निर्माण गर्न यहाँहरुको भुमिका खै ?

मैले अघि नै पनि भने विधिवत महाधिवेशन  हुनुपर्ने नै हामी सवैको माग हो भने हामी आफै किन बाधक बनिरहेका छौ । यसतर्फ अनशनरत पक्षले पनि सोच्न आवश्यक छ । जहाँसम्म उहाँहरुको स्वास्थ्यस्थीति पनि विग्रदो अवस्थामा पुग्नु हामी सवै सहकर्मीहरुको लागि दुखद कुरा हो । यसमा पार्टीले पनि पहल गर्नुपर्छ, उहाँहरुले पनि यसमा विचार पुर्याउनुहोला । 
मुख्य कुरा त तपाई आफै भन्नुहोस, भोट हाल्न मन लाग्यो भन्दैमा कसैले विना अधिकार कसैलाई भोट खसाल्न पाउँछ ? उहाँहरुको मुख्य चिन्ता फर्जी प्रतिनिधी भन्ने कुरा छ, यसमा खास तुक छैन ।

७. नेतृत्वमा स्थापित हुनको लागि त गुटको पनि कुरा आउला, तपाई चै कुन गुटबाट लड्दै हुनुहुन्छ ?
हेर्नुस, १३ औ महाधिवेशनबाट कांग्रेस पार्टिले पनि एकताको महाधिवेशनको नारा दिएको थियो । र हुनुपर्ने पनि यही हो । कोही व्याक्ति गुटका कारणले स्थापित हुने भन्दा पनि आफ्नो व्याक्तिगत क्षमताले नेतृत्वमा पुग्ने कुरामा म विश्वास गर्छु ।
यद्यपी सोधिहाल्नुभयो, धेरै साथीहरु भएकाले कोही कता कोही कताको स्थीति देखिएको छ, यस्तोमा गुट नै त नभनौ, तर बैचारिक हिसावले बरिष्ठ नेता रामचन्द्र पौडेललाई विशेष सम्मान गर्छु ।
७.अन्त्यमा, तपाईलाई नै जिताउनुपर्ने र भोट दिनुपर्ने कारण के ?
पहिलो कुरा त, साथीभाईहरुको निरन्तरको मुल्यांकन नै हो । २०४६ सालदेखि आजपर्यन्त विद्यार्थी साथीहरुको हकहितको लागि चिन्तीत हुँदै कसरी संगठनलाई मजबुत बनाउन सकिन्छ भन्ने चिन्तामा नै दौडिरहेको छु ।
राजाका समयमा होस वा अन्य पार्टिका कमजोरी हटाउने अर्थमा होस, सामाजिक, शैक्षिक मुद्धामा अविचलित रुपमा लागि परेको छु । 
अर्को कुरा यसभन्दा अगाडि पनि पटकपटक भने लामो समयदेखि नेतृत्वको विकाश हुन नदिने जुन खालको प्रवृति संगठनमा देखापर्यो, यसको चिरफार गर्नु आवश्यक छ । निष्ठाका राजनीतिमा होमिएका विद्यार्थी साथीहरुको त्याग तपस्यालाई जसरी मेटाउने गरि लोकतन्त्रको नाममा पाप भैरहेको छ , यि तमाम समस्यालाई हटाउनु नै मेरो प्रमुख उदेश्य हुनेछ । 
यसर्थ अन्त्यमा यही भन्न चाहन्छु, बर्तमानका साथीहरुको शैक्षिक र संगठनात्मक समृद्धि र भविश्यका पिढीका लागि कुशल नेतृत्व स्थापित गर्दै उनीहरुका आँखामा नेतृत्वको सपना छर्नु नै मेरो प्रमुख उदेश्य हो । साथीहरुले मुल्यांकन गरिदिनुहुन्छ, आशावादी छु ।

       

 

                       त्रिपाठी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेविसंघका अध्यक्षका प्रत्यासी हुन

                                                                                           प्रश्तुति :शंकर गौली

 
   

 

 

 

तपाईंको बिचार