Thursday, October 19, 2017

पर्यटन विकास र विस्तारका निम्ति सबै एक हुनुपर्छ मनोहर शमसेर जबरा राणा, सिइओ –यति ट्राभल्स प्रा.ल

प्रकाशित मिति: 2015/06/21
मनोहर शम्सेर जबरा राणा यति ट्राभल्स प्रालिका सिइओ तथा यति एक्पे्रस प्रालिका अध्यक्ष
मनोहर शम्सेर जबरा राणा यति ट्राभल्स प्रालिका सिइओ तथा यति एक्पे्रस प्रालिका अध्यक्ष

 

पर्यटन विकास र विस्तारका निम्ति सबै एक हुनुपर्छ

मनोहर शमसेर जबरा राणा, सिइओ –यति ट्राभल्स प्रा.लि.

मनोहर शम्सेर जबरा राणा यति ट्राभल्स प्रालिका सिइओ तथा यति एक्पे्रस प्रालिका अध्यक्ष हुनुहुन्छ । इकोनोमिक्स विषयमा एमए अनि विएल तथा फ्रेन्च र जर्मनी भाषामा डिप्लोमा गर्नुभएका राणा विगत ३८ वर्षदेखि नेपालको पर्यटन क्षेत्रसँग प्रत्यक्ष उठबस गर्दै आउनुभएको

छ । आफ्नो व्यवसायको अलावा उहाँ विभिन्न संघसंस्थामा पनि आवद्ध भएर काम गरिरहनुभएको छ । नेपाल एसोसिएशन अफ टुर अपरेटर्स (नाटो)का प्रथम उपाध्यक्षसमेत रहनुभएका उहाँले नेपाल फ्रान्स चेम्बर अफ कमर्सको उपाध्यक्ष भएर सन् १९९९६ देखि २००२ सम्म काम गरिसक्नुभएको छ । हाल युरोपियन इकोनोमिक चेम्बर (इइसी), नेपालको कार्यकारी सदस्यको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ उहाँले । पर्यटन क्षेत्रका एक अनुभवी र स्वच्छ छवि बनाउन सफल उनै राणासँग पर्यटन क्षेत्रको समयसामयिक विषयवस्तुमा आधारित भएर गन्तव्य नेपाल साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश खालिङले गर्नुभएको अन्तरंग सम्वादः

नेपालको पर्यटन क्षेत्रलाई तपाईंले कसरी हेर्नुभएको छ ?

म यो क्षेत्रमा निकै लामो समय अगाडिदेखि आबद्ध छु । म नेपाली भएको नाताले पनि यदि यो देशको पर्यटन व्यवसायको विकास भयो भने हाम्रो संस्थाको पनि विकास हुन्छ । जुनसुकै ठाउँमा र संस्थामा काम गरे पनि मुलुकको पर्यटन व्यवसायलाई केन्द्रमा राखेर गर्नुपर्छ भन्ने सोच्नुपर्छ । अर्को कुरा यो हाम्रो पर्यटन व्यवसायले मुलुकको विकास र समृद्धिमा कसरी सहयोग पु¥याउन सक्छ भन्ने हामी यहाँ आबद्ध व्यवसायी र सरकारले पनि सोच्नुपर्छ । यहाँ नीति छ । सरकार र निजी दुवै क्षेत्रमा नीतिगत कुराहरु छन् । तर मुख्य कुरा कार्यान्वयन हुन सकेको अवस्था छैन । अब पर्यटन व्यवसायीको हैसियतले अरुलाई दोष दिनेभन्दा पनि आफूतिर पनि फर्केर हेर्न जरुरी छ । हामी सबै मिलेर देशको पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने कुरा अहिलेको आवश्यकता हो भन्ने मलाई लाग्छ ।

पर्यटन विकास गर्ने विचार, नीति र इच्छाशक्ति सबैसँग छ तर नीतिको कार्यान्वयन वा निजी र सरकारी पक्षबीच समन्वय भएन भन्ने तपाईंको निष्कर्ष हो ?

अवश्य हो । हामी प्राकृतिक सुन्दरतादेखि लिएर सांस्कृतिक सम्पदाहरुमा निकै धनी छौँ । संसारमा न्यून सम्भावना भएका कैयौँ मुलुकहरुले वर्षेनी लाखौँ पर्यटक भित्र्याएका छन् । तर हामीसँग हरेक हिसाबले प्रशस्त सम्भावनाहरु भएर पनि पर्यटक ल्याउन सकिराखेका छैनौं, जति ल्याउनुपथ्र्यो । हाम्रो देशले गरेको खण्डमा अहिलेको भन्दा ठुलो परिमाणमा पर्यटक भित्र्याउने क्षमता राख्छ । तर अहिलेसम्म पनि नेपालमा कति पर्यटक आए भन्ने आँकडा छैन । तीनबाट कति आम्दानी भयो भन्ने सम्बन्धमा पनि सहि कुरा बाहिर ल्याउन सकिएको छैन । यसको लागि स्याटेलाइट एकाउन्ट प्रविधि हुनुपर्छ भन्ने लाग्छ । ताकि, यसबाट हामीलाई थाहा होस् कि कति संख्यामा पर्यटक नेपाल आए र कति आम्दानी भयो । यस विषयमा मैले विभिन्न फोरमहरुमा कुरा राखेको पनि छु । पर्यटनलाई राष्ट्रिय उद्योगको घोषणा गरौँ । यसले पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग मिल्छ । हाम्रो प्रडक्टहरुको बिक्रीलाई बढावा दिनुपर्छ । यसका लागि हामी विगतदेखि नै गर्दै आइरहेका छौँ । यस विषयमा विभिन्न पटक छलफल हुँदै आइरहेको हो  । निजी र सरकारी दुवै पक्षको संयुक्त पहलमा मात्र पर्यटन व्यवसाय प्रवर्दन हुनसक्छ भन्ने कुरा सोच्नु जरुरी छ ।

भनेपछि हाम्रो पर्यटन क्षेत्रको विकास केही माथि उक्लेको हो ?

हो, हामी पर्यटन विकासका पूर्वाधारको विकासको मामिलामा अहिले विगतको तुलनामा केही तह माथि उक्लेका छौँ । प्राकृतिक र साँस्कृतिक सम्पदामा यति धनी मुलुकले पूर्वाधार विकासमा काम अझ विस्तार गर्दै लग्ने हो भने पर्यटन क्षेत्रको विकास र विस्तारमा अझ कायापलट ल्याउन सकिन्छ ।

पर्यटन क्षेत्रमा अहिले देखिएका नीतिगत समस्याहरु के–के हुन् ?

तपाईंले नीतिगत समस्या भन्नुभयो, हामीसँग राम्रै नीतिहरु छन् । सरकारले पनि विभिन्न समयमा विभिन्न नीति र योजनाहरु ल्याएको छ । निजी क्षेत्रका पनि आ आफ्नै नीतिहरु छन् । वास्तवमा हामीसँग राम्रो  नीति र सोचको अभाव छैन । तर यहाँ स्थायित्व छैन । एउटाले राम्रो काम गर्न खोज्छ । कुनै राम्रो काम गर्न सुरुवात गर्छ । तर, उसको सोच विस्तारै परिवर्तन हुँदै जान्छ र त्यो काम त्यत्तिकै बिथोलिन्छ । यही कुरा दोहोरिरहेको छ । यो समस्या अदृश्य रुपमा पर्यटन क्षेत्रको विकासमा अवरोधक बन्दै आइरहेको छ । त्यस्तै सरकार र निजी क्षेत्रबीच पनि राम्रो सम्बन्ध र समन्वय स्थापित हुन सकिरहेको छैन । यो पनि पर्यटन विकासको बाधक पक्ष हो । त्यस्तै जुनखाले राजनीतिक अस्थिरता र अव्यवस्था नेपालमा देखिएको छ यो विकासको अर्को ठूलो बाधक हो ।

तपाई लामो समयदेखि ट्राभल्स व्यवसायमा आबद्ध हुनुहुन्छ, हिजो र आजको तुलना गर्दा के–के फरक पाउनुहुन्छ ?

हिजो हामीले यो व्यवसाय सुरु गर्दा पूर्वाधार एकदमै कम थिए । यो यति ट्राभल सन् १९६६ मा खुलेको हो । त्यो  बेला एकदमै गाह्रो थियो । एउटा सानो सूचनाका लागि पनि निकै समय कुर्नुपर्ने स्थिति थियो । सूचना आदानप्रदान गर्नको लागि समस्या थियो । टेलिफोन पर्याप्त हुँदैन थियो । अन्य पर्यटकका लागि आवश्यक पूर्वाधारहरु विकास भएका थिएनन् । व्यवसाय गर्न निकै गाह्रो थियो । तर समयक्रमसँगै अहिले हरेक हिसाबले निक्कै फड्को मारिसकेको अवस्था छ । संचारका क्षेत्रमा ठूलो परिवर्तन आएको छ । आधुनिक उपकरणहरु सहजै उपलब्ध छन् । कम्प्युटर, मोबाइलजस्ता अत्याधुनिक उपकरणहरु विकास भएका छन् । सँगै पूर्वाधारहरु पनि विस्तारै विकास हँुदै गएका छन् । जसबाट अहिले व्यवसाय सञ्चालन गर्न निकै सजिलो भएको छ ।

हिजो सीमित स्रोत, साधन र विभिन्न चुनौतीहरुका बावजुद पनि पर्यटन व्यवसाय राम्रैसँग चलेको थियो । तर अहिले यत्तिका विकास भइसक्दा यस क्षेत्रले जति फड्को मार्नुपर्ने हो त्यो त छैन नि ?

सूचना प्रवृत्तिको विकाससँगै पछिल्लो समय विभिन्नखाले समस्याहरु पनि देखिएका छन् । यसले व्यवसायीहरु पनि निकै मारमा परेको कुरा पनि सुनिएको

छ । व्यवसाय गर्न निकै गाह्रो भयो भन्ने कुरा आएको छ । यसलाई समाधान गर्न सरकारले समयसापेक्षित नीति बनाउनुपर्छ । नीति बनाएर मात्र भएन तिनको सही कार्यान्वयन पनि गर्नुप¥यो । अब प्रजातन्त्रमा व्यवसाय गर्ने अधिकार र छुुट सबैलाई छ । धेरै व्यवसायी भएपछि यहाँ अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । त्यसका लागि

निश्चित मापदण्ड बनाएर व्यवसायलाई राम्रो बनाउनु पर्छ । हामीले यहाँ सुरुवाती अवस्थामा काम गर्दा व्यवसायी निकै कम थिए तर अहिले ह्वात्तै बढेका छन् । व्यवसायीहरुको संख्या वृद्धिसँगै गुणस्तर बढ्नुको सट्टा घट्दै गइरहेको छ ।

संख्याको हिसाबले व्यवसाय बढ्यो तर, त्यसको तुलनामा गुणस्तर बढाउन सकिएन भन्ने तपाईंको कुरा हो ?

कस्तो छ भने पहिले थोरे व्यवसायहरु थिए थोरै व्यवसायीहरुले पनि ठूलै संख्यामा पर्यटक भित्र्याएर राम्रै गुणस्तर कायम गरेका थिए । तर अहिले यत्ति ठूलो संख्यामा व्यवसाय र व्यवसायी बढ्दा पनि गुणस्तर बढ्न सकेको देखिँदैन । यो कुरा हामी विभिन्न समयमा विभिन्न संस्थाहरुले सार्वजनिक गरेको तथ्यांक हेर्दा पनि थाहा हुन्छ । हामीले हिजोको समयको तुलनामा आज सेवा र गुणस्तर दिन सकेका छैनौं । संसारमा केही पनि नभएका मुलुुकले त कृत्रिम रुपमा सम्पदा निर्माण गरेर वर्षेनी लाखौँ पर्यटक भित्र्याएका छन् भने हामीसँग त अनेकन प्रकृतिप्रदत्त सम्पदाहरु छन् । त्यसैले यो समस्यालाई समाधान गर्ने उचित नीति बनाउनु जरुरी छ ।

अहिले व्यवसायीहरुको हकहितको लागि भनेर संघसंस्थाहरु खुल्ने क्रमले तीव्र भएको छ, यो ठीक हो ?

पछिल्लो समय नेपालमा संस्था बढेका छन् र सबैको चिन्ता र चासो देशको पर्यटनलाई कसरी विकास गर्ने भन्ने नै छ । भारतमा पनि थुप्रै संस्थाहरु खुलेका छन् । एउटा संस्थाले होटल तथा रेष्टुराँहरु हेर्छ भने टुर अपरेटर अर्को संस्थाले हेर्छ । नेपालको ट्राभल टुर क्षेत्रको कुरा गर्ने हो भने पहिले नाट्टा थियो । त्यसपछि पछिल्लो समय विभिन्न संस्था खोलिन थालेको छ । यसो हुनुको कारण चाही के जस्तो लाग्छ भने एउटा निश्चित क्षेत्रमा विशेषज्ञताका आधारमा संस्था खुल्छ । हरेक संस्थाको आआफ्नै लक्ष्य र उद्देश्य हुन्छ । तर, के चाही आवश्यक छ भने फरक फरक संस्था भएपनि कार्यगत एकता र सहकार्य जहिले पनि हुनुपर्छ । यहाँ यो कुरा अहिलेसम्म भइरहेको छ ।

त्यसो भए संस्था जति खोले पनि फरक पर्दैन ?

म त के भन्छु भने सबैलाई मिलाएर एउटै संस्था बनाएर जान सके राम्रो हुन्छ । यस विषयमा सबैका आआफ्नो धारणा र सोचाइ हुन सक्छ । मुख्य कुरा मुलुकको हितलाई सर्वोपरी ठान्नुप¥यो । आफ्नो सदस्यको हक, हित र अधिकारका लागि एउटै संस्था भए सजिलो त होला । खास विषय र सम्बन्धित क्षेत्रमा विशेषज्ञता गर्ने र तिनको हितको संरक्षण सम्बन्धित क्षेत्रले हेर्ने अवधारणाले विभिन्न संघसंंस्थाको जन्म भएका हुन् । तर, हामी सबैले गर्ने कुरा के हो भने हाम्रो समग्र माग पर्यटन व्यवसायको साझा हक हित र विकासका लागि सबै एक हुनुपर्छ ।

ट्राभल्स एण्ड टुर्स क्षेत्रका समस्याहरु के–के हुन् ?

हामीले पर्यटन व्यवसायमा प्रतिस्पर्धा छ, जस्तो गन्तव्यका लागि हाम्रो प्रतिस्पर्धा छ । यहाँ पर्याप्त पूर्वाधार छैन । यहाँ धेरै कम्पनी भए । धेरै कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसले केही समस्या निम्त्याएको छ । सीपमूलक दक्ष जनशक्तिको पनि उत्तिकै समस्या छ । यातायातको समस्या अझै सुल्झिएको छैन । पहिला यातायातको अवस्था ठीकै थियो । यहाँको पर्यटक यातायात क्षेत्र अहिले निकै महंगिएको छ ।  भारतमा ७ लाखको गाडी नेपालमा २३÷२४ लाख पर्छ । सबै ब्रान्डेड गाडी भारतमा बन्छ ।  त्यहाँ सस्तोमा चढेको गाडी यहाँ कैयौ महंगो पर्छ । त्यसैले पर्यटक यातायात क्षेत्रमा पर्यटकले सोचेअनुसारको गुणस्तरीयता बढाउन सकिएको छैन । त्यस्तै टिकेटिङ र टुर क्षेत्रमा पनि उस्तै समस्या छ । हामीसँग प्रयाप्त बजेटको समस्या पनि एउटा मुल समस्या हो । विकसित देशहरुले पर्यटन प्रवद्र्धनका लागि समयानुकुल विभिन्न उपायहरु अपनाएर संसारभरबाट ठूलो संख्यामा पर्यटक आकर्षण गरेका छन । तर हामीकहाँ पर्यटन बोर्डले आफ्नो ढंगले पर्यटन प्रमोसन गर्छ, निजी क्षेत्रले पनि आफ्नै ढंगले गर्नेगर्छ । पर्यटन प्रवद्र्धनको लागि धेरै खर्च भएको छ । तर त्यसअनुसारको उपलब्धि हासिल गर्न सकिएको छैन ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको भूमिकाबारे तपाईंको धारणा के छ ?

कुनै पनि देशको वायुसेवाले त्यो देशको समग्र प्रतिनिधित्व गर्छ । भर्खरै नेपालको विमानस्थलमा अप्रिय घटनाले देशको सिंगो पर्यटन क्षेत्रमा नराम्रो असर पर्न गयो । त्यस्तै हाम्रो देशको हवाई उडानको अवस्था सुधार्न सकिएको छैन । पर्यटन विकासको कुरा गर्ने तर राष्ट्रिय ध्वजावहाकलाई उचाईमा पु¥याउन कोसिस नगर्ने । यो हाम्रो लागि दुर्भाग्यको कुरा हो । यद्यपी, पछिल्लो समय जहाज थप्नेदेखि विभिन्न योजना निगमले अघि सारेको छ  । जसबाट केही आशाबादी हुन सकिन्छ ।

निष्कर्षमा भन्दा नेपालको पर्यटन क्षेत्रमा आशा गर्ने ठाउँ प्रशस्तै छ, यसका लागि हामी आफैँ जिम्मेवार हुनुपर्छ हैन ?

म के भन्छु भने यो देशको पर्यटनको भविष्य उज्ज्वल छ । जस्तो भर्खरै पाटाको ३९औं साधारणसभा सम्पन्न भयो । पाटाले देशको पर्यटनका लागि धेरै राम्रो काम गरेको छ । उहाँहरु विभिन्न सभा सम्मेलनमा जानुुहुन्छ र आफ्नो देशको प्रवद्र्धन गर्नुहुन्छ । उहाँहरुले नयाँ पुस्तालाई पनि राम्रोसँग समावेश गर्नुभएको देखिन्छ  । मुलुकको पर्यटन विकासका लागि उहाँहरुमा चिन्तन देखिन्छ । देशविदेशमा सहकार्य गरेर प्रवद्र्धनात्मक कार्य उहाँहरुले गरिरहनुभएको छ । यसरी नै देशका पर्यटन व्यवसायी र संस्था पनि सरकारसँग सहकार्य र हातेमाले गरेर अगाडी बढ्ने हो भने मुलुुकको पर्यटन विकास र विस्तार त्यत्ति टाढा छैन ।

तपाईंको बिचार