Sunday, December 17, 2017

गोरा छाला भएकाहरु पैसाको खानी हुन् भन्ने सोच त्याग्नुपर्छः सापकोटा

प्रकाशित मिति: 2016/09/02
कमल सापकोटा, अध्यक्ष –भिटोफ
कमल सापकोटा, अध्यक्ष –भिटोफ

गाँउ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ–नेपाल) विशुद्धरुपमा ग्रामीण पर्यटनका लागि समर्पित संस्था हो । ग्रामीण पर्यटनको विकास र विस्तारमा राज्यका निकायलाई झक्झक्याउँदै अगाडि बढिरहेको भिटोफ नेपालले ग्रामीण पर्यटनलाई उजागर गर्न भन्दै विभिन्न क्षेत्रमा रहेका गाँउहरुलाई भिटोफ गन्तव्य गाँउ अवधारणाका माध्यमबाट प्रबद्र्धन गर्दै आएको छ । केही समय अगाडिमात्रै भिटोफको नयाँ कार्यसमिति निर्वाचित भएको छ । युग सुहाउँदो पर्यटनलाई माथि उठाउने लक्ष्यका साथ अगाडि बढ्ने बताएको भिटोफ नेपालले अबको पर्यटन प्रबद्र्धन कार्यक्रमलाई कसरी लिएको छ, के गर्दैछ ? प्रस्तुत छ यसै सन्दर्भमा भिटोफ नेपालका नवनिर्वाचित अध्यक्ष कमल सापकोटासँग गन्तव्य नेपालका लागि शंकर गौलीले गरेको अन्तवार्ताको संपादित अंश ।

तपाई नवनिर्वाचित भिटोफ नेपाल अध्यक्ष हुनुहुन्छ, के गर्दैहुनुहुन्छ ?

    हेर्नुस्, भर्खरै मात्र नयाँ कार्यसमिति चुनिएको छ । अहिलेसम्म जम्मा २ वटा कार्यसमिति बैठक बस्यौँ । यसबीचमा रायसुझाव लिने क्रम जारी छ । भिटोफमा रहने सल्लाहकार समितिहरु टुंगो लागिसकेको छ । यस्तै भिटोफलाई द्रूत गतिमा अगाडि बढाउनका लागि विभिन्न ११ वटा विभागहरु बनाएका छौं । यसमा कार्यकारी सदस्य संयोजक रहने गरी एउटा विभागमा ५ जनाका दरले विभाग गठनको काम भइरहेको छ । जसमा अन्तर्राष्ट्रिय विभाग, होमस्टे विभाग लगायत रहेका छन् । यी सबैको काम पर्यटकमैत्री वातावरण र पर्यटक संख्या वृद्धि गर्नु हो ।

भिटोफलाई अगाडि बढाउने तपाईका नयाँ एजेण्डा चाहीँ के–के छन् ?

    लिपिबद्ध गरेर यही नै काम हुँदैछन् भनेर भन्ने अवस्था त छैन । यद्यपी केही नयाँ र केही पहिलेकै कामलाई व्यवस्थित ढंगले अगाडि बढाउने कोशिस रहनेछ । यसमा अग्रजहरुको सुझाव अनि पर्यटन बोर्ड र मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने हाम्रो सोच हो । जसमा मुख्यतः बर्ष २०१६÷०१७ लाई भिटोफ नेपाल गन्तव्य गाँउको रुपमा विकास गरिनेछ, जसले पर्यटक आगमनमा बृद्धि पुग्नेछ । यस्तै नयाँ पर्यटकीय गन्तव्यको खोजीको क्रम पनि जारी रहनेछ । यस्तै सुदुरपश्चिममा पर्यटन प्रबद्र्धन गर्नको लागि त्यस क्षेत्रमा भिटोफ च्याप्टर वा नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा जोड दिने लक्ष्य छ । यसका लागि पर्यटनसँग सम्बन्धित नीतिगत कुराहरु सरकारसमक्ष राख्ने कोशिस रहनेछ । यसबीचमा भिटोफ नेपालले कार्यक्रमहरुलाई डिजिटल पद्धतिबाट अगाडि बढाउने छ । त्यस्तै पर्यटन सूचना केन्द्रलाई पनि हामीले विशेष जोड दिइरहेका छौं ।

यसअघिका पहिचान भइसकेका पर्यटकीय गन्तव्य मात्र नभई नयाँ क्षेत्रको खोजी र होमेस्टेको अवधारणालाई अझ बृहत् बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रबद्र्धन गर्नु नै हाम्रो प्रमुख एजेण्डा हुन् ।

पर्यटन क्षेत्रको वर्तमान गति र दिशालाई कसरी लिनुभएको छ ?

    मुख्यतः अहिले नेपालको पर्यटन क्षेत्रमा जेजस्ता पर्यटन नीतिहरु छन्, ति एकदमै पुराना र कतिपय अवस्थामा जटिल प्रकृतिका पनि छन् । यसलाई समयानुकूल आजैबाट परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ ।
    भूकम्पपछिको पुनर्निर्माणको नीति कमजोर बन्दा ध्वस्त पर्यटकीय साँस्कृतिक सम्पदाहरुको समयमै पुनरुत्थान हुन सकेको छैन, यसले पर्यटक आवागमनमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।

    अर्को मुख्य कुरा त पर्यटक सम्बन्धित नीति नै झन्झटिला छन्, ति लचकदार हुनुप¥यो, मुखले हैन व्यवहारमा देखिनुप¥यो । पर्वतारोहण, हिमाल आरोहणमा निस्कने पर्यटकहरुले भोग्नुपर्ने ट्रेकिङ रुट र भ्याटका सास्ती, सू्चना केन्द्रको अभाव र आन्तरिक मनोगत सुरक्षा विश्वास पनि समस्याको रुपमा देखिएको छ । यहाँनेर अर्को मुख्य कुरा भन्नैपर्दा पर्यटकसँग लिइने शुल्क परिमार्जन हुन नितान्त आवश्यक छ । कोही पनि व्यक्तिले आफुले तिरेको मूल्य बराबरको प्रतिफल नपाउने स्थीतिमा पुनः दोहो¥याएर उक्त स्थानमा जाँदैन । यस विषयमा हाम्रा छिमेकी देश चिन र भारतको पर्यटन नीतिको पनि अनुशरण गर्न सक्छौ । मुख्य रुपमा पैसाभन्दा हाम्रो संस्कृतिको प्रचारलाई ध्यान दिनुपर्छ । गोरा छाला भएका सवै व्यक्ति पैसा उत्पादन गर्ने स्रोत नहुँन सक्छन्, यस्तो अवस्थामा राज्यको नीति हाम्रो सामाजिक साँस्कृतिक प्रवद्र्धनमा टेकेर सन्तुष्टि लिने किसिमको हुनुपर्छ ।

पर्यटन प्रवद्र्धनमा हालसम्म नेपाल पर्यटन बोर्डको भूमिका कस्तो पाउनुभएको छ ?

    जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन, तर विगारेको पनि छैन, एकदमै सन्तुलित छ । राज्यको जिम्मेवार निकायको रुपमा यसको भूमिका महत्वपुर्ण हुनुपर्ने हो, तर आशातित नभएको कुरा आजको यथार्थ हो । क्षमता अभिबृद्धिका साथ योगदान हुन सकोस् भन्ने नै हामी सवैको अपेक्षा रहेको छ ।

पर्यटन प्रवद्र्धन र विकासका अवरोधहरु हटाउन कसले के भूमिका खेल्नुपर्ला ?

    स्वभाविक हो, विदेशी पर्यटकहरु नेपाल भित्रने एक मात्र विमानस्थलको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । तर यही विमानस्थल ओर्लिएर नेपाल घुम्न आएका पर्यटकहरुलाई लिएर आउन भने निकै हैरानी बेहोरिरहनु परेको स्थिति हो । मुख्यतः पर्यटकसँग सम्बन्धित ट्रेकिङ कम्पनीले पर्यटक साधनको लागि हरियो नम्बरप्लेटका गाडि प्राप्त गर्न फलामको चिउरा चपाएसरहको स्थिति भोग्नु अहिले पनि बाइ छन् । हरीयो प्लेटपनि उपलव्ध नगराउने र रातो नम्वर प्लेटलाई विमानस्थल प्रवेश गर्न नदिने द्धैध भुमिका बन्द गरिनुपर्छ भन्ने हाम्रो माग हो । अर्को तर्फ पर्यटक राख्ने घरको रुपमा विकसित हुँदै गएको होमस्टे सञ्चालनको लागि दर्ता प्रक्रिया एकदमै जटिल र झन्झटिलो बन्दै गएको छ । दर्ताशुल्कको नाममा अनावश्यक भार साना व्यवसायीहरुमाथि पर्ने गरेका कारण सरकारलाई कर मात्रै बुझाउनुपर्ने स्थितिले पर्यटन माथी जान सक्दैन । यसर्थ हामीले समुन्नत राष्ट्रको सपना देख्नैपर्छ, तर त्यो व्यवसायी र सरकारबीचको हातेमालोबाट मात्र सम्भव छ, पर्यटनमैत्री बातावरण सिर्जना गरी अगाडि बढ्न सके पर्यटनबाटै समृद्धि सम्भव छ भन्ने हाम्रो बुझाई हो ।

तपाईंको बिचार