Wednesday, May 24, 2017  |    

कांग्रेस निकट व्यावसायी एकढिक्का छौ,हुटीट्याङले आकाश थेग्दैन : दिपक महत

प्रकाशित मिति: 2016/09/15

भाद्र ३०, काठमाण्डौ । कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यावसायी संघ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ हालैमात्र दुई संगठनबिच एकता भएर नेपाल पर्यटन व्यावसायी संघ(निट) भएपश्चात अझैपनि प्रजातान्त्रिक विचारधाराका व्यावसायीविच एकता भएको छैन भन्ने पर्यटन बजारमा प्रचारबाजी कायमै छ ।
यही सन्दर्भमा दुई संस्थाविचको एकता, लोकतान्त्रिक समुहमा रहेका केही व्यक्तिहरुको असन्तुष्टि र एकीकरण भएपश्चात निटको आगामी भुमिकाका विषयमा बुझ्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, नेपाल पर्यटन व्यावसायी संघ –निट का नवअध्यक्ष दिपक महतसँग गरिएको अन्र्तवार्ताको सम्पादित अंश ।

१. कांग्रेस पर्यटन निकट दुई संस्थाविच एकीकरण भयो, तर लोकतान्त्रिकको अस्तित्वलाई लिएर बजारमा बिभिन्न टिप्पणी कायमै छन, यो स्थीति किन ?
यहाँले भनेजस्तै लोकतान्त्रिक संगठनमा यि कुराहरु देखिनु अस्वभाविक होईन । किनभने नेपाली कांग्रेस पार्टीकै विगतको स्थीति हेर्ने हो भने शेरबहादुर देउवाले पार्टी अलग बनाउनुभयो, र अहिले पार्टी एकीकरण भएर अध्यक्ष भईसक्दा पनि पार्टीभित्रको गुट कायमै भएजस्तै, हिजो निट नेपाल एउटा विन्दुमा फुट्न पुग्यो, आज समयको आवश्यक्ताले फेरी एउटा विन्दुमा औपचारिक रुपले जोडिन आईपुगेका छौ ।
फुटेर जाँदा लोकतान्त्रिक आफैमा सानो समुह थियो, यद्यपी कहिले संख्या त कहिले व्याक्तित्वको प्रभाव हुँदो रहेछ । त्यो एकीकरण अघिसम्म निट र लोकतान्त्रिकबिच घटिबढिको अवस्था अवश्य पनि थियो । यद्यपी हालै भएको एकीकरण पश्चात यि सवै कुरा टुंगीएका छन । तर यही बेला बजारमा हामीविचको एकीकरणलाई मन नपराउने केही व्याक्तिहरुको उकुसमुकुस बाहिर आउँदा केही असहज जस्तो लागेपनि उहाँहरु पनि क्रमशः हामीसँग सहकार्य गर्न आउनुको विकल्प छैन , म उहाँहरुको बारेमा बोल्नु उपयुक्त ठान्दिन, आवश्यक छैन । बहुमतको आधिकारीक निर्णय मान्दिन भनेर आत्मरतिमा रमाउनेहरुको खास अर्थ छैन ।

२. तपाई यसो भन्नुहुन्छ, तर अझै पनि पार्टी मिलेको छैन भनेर तत्कालिन लोकतान्त्रिकका उपाध्यक्ष लगायतले एकीकरणमा गएका अध्यक्षलाई कारवाही गरयौ, भनेर विज्ञप्ती नै निकालेको स्थीति छ, यसलाई के भन्ने ?
मैले यसअघि नै भने, विगतमा निटबाट फुटेर जाँदा पनि लोकतान्त्रिक आफैमा संख्यात्मक रुपमा सानो थियो । त्यही विचमा फुटेर गएका साथीहरुमध्ये धेरैजना विचमै पुनः निटमा फर्किसक्नु भएको थियो । अर्कोतर्फ अहिले जसले असन्तुष्टि जनाईरहेका छन, उनीहरुलाई नै नेतृत्व गर्ने तत्कालिन अध्यक्ष रामशरण थपलिया, उपाध्यक्ष नविन त्रिताल, छेटुप तामाङ लगायतका बहुसंख्यक नेतृत्व तहका साथीहरुविच औपचारिक एकता भएपछाडि अन्यको कुराले खास अर्थ देख्दिन ।
किनभने एकता आजको दिनको आवश्यक्तामा आधारित रहेर गरिएको हुँदा उहाँहरु एकदुई जनाले हामी नै हौ आधिकारिक भनेर भन्न त पाउनुहोला, किनभने आफु रित्तो भईसकेपछि भरिपुर्ण देखाउन फेसबुकको भित्ता र केही मिडियामा जर्बजस्ती प्रचारबाजीमा उत्रनुमा आत्मशान्ति त होला, तर अन्ततः विलय हुनुको विकल्प छैन । हुटीट्याङले आकाश थामेको भ्रम पाल्न त पाईएला तर यर्थाथ त उहाँहरुले.......... ।

३. हिजो लोकतान्त्रिक फुटेर बाहिर जाँदा पनि आधिकारिकताको  विषय सतहमा आएकै हुन, यद्यपी हिजोकै स्थीति नभएपनि अर्को पक्षले पनि आफ्नो अस्तीत्वको दावी गरिरहँदा यहाँहरु नै आधिकारिक भनेर किन मान्ने ?

सर्वप्रथम तः आधिकारिक रुपबाट संस्थागत हिसावले दुई नेतृत्वविच बहुसंख्यक साथीहरुको सहमतिमा एकीकरण भएको छ, आधिकारिकताको पहिलो प्रश्न यसैमा टुंगीन्छ, अर्कोतर्फ ९९ प्रतिशत भन्दा बढि साथीहरु एकीकरण प्रक्रियामा सहभागि भएर कार्यदेश लिएर अगाडि बढिसकेको अवस्थामा जर्बजस्ती छोडिन चाहने केही व्याक्तिको नाममा टिकाटिप्पणी गर्नु आवश्यक छैन, किनभने ठुलाठुला क्रान्तिका कुरा गर्ने, बन्द होटलभित्र जोशिला कुरा गर्दैमा संगठन तयार हुँदैन । केही व्याक्तिले एकीकरणमा समावेश भएका नेतृत्वलाई कारवाही गर्यौ भनेर प्रचारबाजी गर्नुभयो, तर आधिकारीक रुपमा कसैको हस्ताक्षर नराखिकन स्ट्याम्प चलाउनुभयो, यो उहाँहरुको नेतृत्व को हो र कस्तो हो, शान्त दिमाखले सोच्दा उत्तर आफै पाउनुहुनेछ, अन्त्यमा आफुले समातेको बाटो गलत भनेर आत्मग्लानी गर्दै सहकार्य गर्न आउनुको विकल्प छैन, हामी हतार गर्दैनौ, आशावादी छौ । ति साथीहरुसँग आगामी दिनमा सहकार्य हुनेछ, हुनुपर्छ ।

४. यदी त्यसो हो भने, बर्तमान प्रचारबाजी रोक्न त्यस्ता व्यक्तिलाई कारबाही वा सहमतिमा ल्याउन चै किन नसकेको ?
 

म जहाँ छु, त्यही आधिकारिक भन्ने हिसाबले सहमति हुन सक्दैन । रह्यो कुरा प्रचारबाजीको, यो उहाँहरुलाई आवश्यक छ, हामीलाई होईन, समुहगत नेतृत्वलाई छोडेर हिड्नेहरु कुनैपनि क्षण दुर्घटनामा पर्न सक्छन, यस्तोमा यसरी नहिड्न उहाँहरुलाई आग्रह समेत गर्छु । उहाँहरु अहिले जोशमा हुनुहुन्छ, तर पछि होसमा आएपछि सबैकुरा ठिक हुनेभएकाले कारबाहीको विषय हामीले सोचेका छैनौ, सोच्नुपर्ने विषय पनि नहोला ।

५. निट नेपाल र लोकतान्त्रिकको समायोजन पश्चात यहाँहरुको मुख्य कार्यदेशहरु केके छन, महाधिवेशन कहिले हुन्छ ?

निष्चय नै, एकीकरणको समयमा संयुक्त घोषणा सभा गरेर ६ महिनाभित्र अधिवेशन गर्ने भनेर हामीले भनेका छौ । पर्यटनका अन्य संस्था नाट्टा, टान, हान लगायतका संस्था भन्दा फरक प्रकृतिको संस्था भएकाले कांग्रेस पार्टी र सरकारका निती तथा कार्यक्रमहरुमा हातेमालो गर्दै सरकारलाई पर्यटनका विकाशका लागि योजना कार्यन्वयन गर्न सरसल्लाह र हामी आफै पनि त्यसमा लाग्नेछौ । अर्को कुरा राष्ट्रिय योजनालाई सफल पार्नका लागि पर्यटन क्षेत्र बाहिरका राष्ट्रिय आवश्यक्ता र समस्यामा पनि हामी निरन्तर लागिरहने नै छौ ।
हामी पर्यटन व्यावसायीकै क्षेत्रबाट पनि पर्यटन क्षेत्रको विकाशमा सरकार, पार्टी र राष्ट्रिय हित प्रवद्र्धनमा लागिरहेका थियौ, लाग्नेछौ ।

 

तपाईंको बिचार