Sunday, April 30, 2017  |    

मजदुरका नाममा हैकमबाद स्वीकार्य छैन :कपिल पाण्डे

प्रकाशित मिति: 2017/01/19

माघ ६, काठमाण्डौ । पर्यटन क्षेत्र सुधारका लागि भन्दै बिभिन्न पार्टी समर्थीत ट्रेड युनियन संस्था सक्रिय रहेका भएपनि पर्यटन क्षेत्रमा संलग्न मजदुरहरुको समस्या ज्यूका त्यूँ छ । बिशेषतः पर्यटन ट्रेकिङ गाईड र पोर्टरहरुको सामाजिक सुरक्षा, दैनिक भत्ता लगायतका बिषय बर्षौदेखि चर्चाको बिषय बनेपनि हालसम्म कुनै निचोड निस्कन सकेको छैन ।

पर्यटन श्रमिकले कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, रोजगारीको स्थायित्वका साथै हकहितको सवालमा पर्यटन क्षेत्रको नाम जोडेर राजनीति गर्ने पर्यटकीय संघसंस्थाको कार्यशैली बारे बुझ्ने कोशिस गरेका छौ । 
प्रश्तुत छ, कांग्रेस निकट ‘ नेपाल पर्यटक श्रमिक संघ’का अध्यक्ष कपिल पाण्डेसँग गरिएको अन्तवार्ताको संपादित अंश ।
१. बर्तमानमा श्रमिकहरुको हकरक्षाका लागि नेपाल पर्यटक श्रमिक संघले के गरिरहेको छ ?
मुलतः पर्यटन बोर्ड, पर्यटन बिभाग, टान, एनएमए लगायतका बिभिन्न संघसंस्थामार्फत पर्यटन श्रमिकको जिबनस्तर उकास्नको लागि बिमा, तलबभत्ता र सामाजिक सुरक्षाका खातिर बिभिन्न खाले कार्यक्रम अघि बढिरहेका छन । जसअन्र्तगत पर्यटन बोर्डसँग टिम्सबापतको रकम प्राप्तीका लागि मागपत्र पेश गरेका छौ । यस्तै एनएमए लगायतका संस्थामा पनि श्रमिकहरुको हकहितका लागि आवाज उठाएका छौ भने श्रमिक सँग बाझिएका कानुनहरुको स्पष्ट व्याख्या गरी श्रमिकमैत्री कानुन निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको स्थीति रहँदै आएको छ ।

२. मजदुरका समस्या भन्दा पनि उनीहरुका नाममा राजनीति गर्ने र नेतृत्वको हैकमबाद लाद्ने काममात्रै आजका दिनमा श्रमिक संघले गर्छन, भन्ने छ, अनि ?

हेर्नुस,  मेरो कुरा गर्नुहुन्छ भने राजनीति लाद्नको लागि श्रमिक संघमा नेतृत्वमा आएको हैन, अरु साथीहरुले के गर्नुहुन्छ, मलाई थाहा भएन ।
जहाँसम्म यहाँ सोचनिय  कुरा के छ भने पहिलो कुरा त हामी जति पनि कार्यसमिती सदस्य र अरु बाँकी सदस्यहरु हुनुहुन्छ, उहाँहरु सबै असंगठित क्षेत्रमा ट्रेकिङ, टुर र एड्भेन्चर क्षेत्रमा काम गर्ने साथीहरु हुनुहुन्छ । यसले गर्दा उहाँहरुमाथि राजनीति गर्ने स्थीति नै बन्दैन । अर्को कुरा म आफै पनि ट्रेकिङ मजदुर हो । यसकारणले पनि हामीले सकेसम्म श्रमिक साथीहरुलाई संगठित गर्ने र हकअधिकार स्थापित गर्ने कोशिसमा छौ, न की राजनीति गरेर हैकमबाद लाद्ने मेरो चासोको बिषय होईन ।

३. तर धेरै जसो ट्रेड युनियनका नेतृत्वहरु मालिकसँग मिलेर श्रमिकका हकहित र आन्दोलन दबाउनमा नै केन्द्रित रहेको स्थीति त छ नी ?
समस्या नभएका होईनन, यहाँले भनेको बिषय पनि धेरै ठाँउमा लागु भएकै छन, बिशेषतः संगठित क्षेत्र होटल व्यावसाय लगायत अन्य औधोगिक मजदुरहरुमा त्यस किसिमको स्थीति देखीएको छ, अर्को अर्थमा भन्दा संगठित क्षेत्रमा त्यस किसिमका समस्या बढि हुन्छन । जहाँसम्म मैले यसअघि पनि भने हाम्रो संस्थामा संम्बद्ध सबै साथीहरु असंगठित क्षेत्र टुरगाईड, बन्जी, र्याफ्टिङ सँग सम्बन्धीत हुनुहुन्छ । यस्तोमा धेरैजसो अवस्थामा उहाँहरु आफै मालिक र कामदार दुबै हो ।
जहाँसम्म उहाँहरुले पाउने तलबभत्ता र सामाजिक सुरक्षाको बिषय कति पाउने र कति लिने भन्ने बहस लामो समयदेखि चलिरहेको छ । हाम्रो ध्यान अहिले यसैमा केन्द्रिंत छ ।

४. पर्यटन मजदुरका समस्या यहाँहरुको प्राथमिकता बन्न नसकेको त हो नि ?
त्यस्तो होईन । नेपाल श्रमिक संघको ६ महिना अघिमात्रै पनि साधारणसभा र त्यसपछिको बन्दसत्रमा पनि श्रमिकका तलबभत्ता  र सामजिक सुरक्षाको बिषयमा बहस केन्द्रित भएको थियो । यसमा एक किसिमको निर्णय पारित भैसकेको स्थीति छ । पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुलाई हाम्रो तलब यति हुनुपर्छ, हाम्रा सेवासुबिधा यसप्रकारले व्यवस्थीत गरीनुपर्छ भनेर नै बर्षमा कम्तीमा २ पटक जिल्लाहरुमा रहेका प्रतिष्ठान र संघसंस्थामार्फत कार्यक्रम गर्दै आईरहेका छौ । उदाहरणकै लागि टानसँग पनि सेवासुबिधाका बारेमा एग्रीमेन्ट गरेर अगाडि बढ्ने बिषय, यस्तै पर्यटन बिभाग, एनएमए र पर्यटन बोर्डमा पनि मागपत्रहरु प्रश्तुत गर्ने काम भएको छ ।

५. अबको योजना के छ ?
 सामाजिक सुरक्षा, बिमा, दैनिक ज्याला र तलबभत्ता जस्ता बिषय नै हाम्रा प्राथमिकताका बिषय हुन । पर्यटन क्षेत्रमा संलग्न मजदुरहरुको आन्तरीक सुरक्षा र जिबनशैली लाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने बिषयमा हामी गम्भिर भएर लागेका छौ ।
ट्रेकिङका क्रममा आईपर्ने दुर्घटनाका सम्बन्धमा बिगतमा  पर्यटकहरुलाई हेलिकोप्टर बाट उद्धार गर्ने सँगै गएका गाईडहरुलाई वेवास्ता गर्ने जुनखालका प्रवृत्ति ट्रेकिङ क्षेत्रमा  र अन्य एड्भेन्चर टुरिजममा बिद्यमान रहँदै आएका थिए, छन । यस समस्यालाई समाधान गरी श्रमिकमैत्री पर्यटनको कल्पना नै हाम्रो बर्तमान र भबिश्यको योजना हो । 

 

 

 

तपाईंको बिचार