Saturday, December 16, 2017

ठमेलमा ढल फुटेर सडकमा भेल बग्दा रमिते बन्नेहरुका दिन सकिए :समिर गुरुङ

प्रकाशित मिति: 2017/02/26

फागुन १५, काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय केन्द्र हो, ठमेल । नेपाल घुम्न आउने बिदेशी पर्यटकहरुको पहिलो गन्तव्यको रुपमा स्थापित भएपनि यसभित्रका आन्तरीक व्यावस्थापनको पाटो भने सधै आलोचित हुने गरेको छ । बर्षौदेखिको ढलसमस्या, ट्राफिक अस्तव्यस्तता, सडक बालबालिका र रात्रिकालिन व्यावसायसँग जोडिएका नकारात्मक पक्षहरुले ठमेलको साखमाथि नै प्रश्न उठ्ने गरेको छ ।

समस्या समाधानमा राज्य र ठमेल भित्रका बिकासे संस्थाहरुको भुमिका पनि आशातित नभएको भनेर व्यावसायीहरुको गुनासो बढिरहँदा ठमेलको आन्तरीक व्यावस्थापन सुदृढीकरणमा सरोकारवालाहरुले के गरिरहेका छन भनी बुझ्ने कोशिस गरेका छौ,
प्रश्तुत छ, ठमेल पर्यटन बिकास परिषद्का नवनिर्वाचित अध्यक्ष समिर गुरुङ सँगका केही सवाल ।

१. ठमेल पर्यटन बिकास परिषद्ले बर्तमानमा के गरिरहेको छ ?
नयाँ कार्यसमिती निर्माणको प्रक्रिया भर्खरै टुंगो लागेको छ । कार्यसमितीको पुर्णतासँगै अबको मुख्य ध्यान ठमेलमा भएका समस्या समाधानमा नै हाम्रो ध्यान केन्द्रित हुनेछ । यसमा केही काम सुरुवात पनि भैसकेका छन । जस्तो ठमेलका प्रत्येक सडकमा एक घर एक बत्तीको अवधारणा अन्र्तगत बत्ती जडानको काम भैरहेको छ । त्यस्तै आन्तरीक सुरक्षाको बिषयलाई पनि हामीले प्रमुख मुद्धाको रुपमा हेरेका छौ । यसमा सम्बन्धीत निकायसँग साझेदारी गर्दै अगाडि बढिरहेको स्थीति छ ।

२. पर्यटकको पहिलो गन्तब्य भएर पनि बर्षौदेखीको हकर समस्या, सडक बालबालिका लगायतका समस्या अझैपनि उस्तै छन, सधै हामीहरुले काम गरिरहेका छौ भनेर भन्नुहुन्छ, समस्या समाधान त भएन ? अनि ?

हकरको समस्या ठमेलमा मात्रै होईन, प्रमुख भनिएका पर्यटकीय गन्तव्य सबै क्षेत्रमा बिद्यमान छ । यद्यपी यसको समुचित व्यावस्थापनमा हामी केन्द्रित भएका छौ । अनुगमन गर्ने र दोशी देखिए कारबाही तथा राज्यपक्षसँग पनि यसबारे छलफल भैरहेकै छ । जहाँसम्म सडक बालबालिकाको कुरा छ, भर्खरै मात्र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयसँगको सहकार्यमा सडक बालबालिकाको समुचित व्यावस्थापनका लागि टेण्डर आह्वान प्रक्रिया पुरा भईसकेको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने एनजिओले यसको जिम्मा लिएको छ । आशा गरौ, अबको ठमेलमा यि समस्या समयक्रमसँगै समाप्त हुनेछन ।

३. तपाई यसो भन्नुहुन्छ, तर बर्षौदेखीको ढलसमस्यामा यहाँहरुको अझै ध्यान पुग्न सकेको छैन, रमितेहरुको भिडमा ठमेल पर्यटन बिकास परिषद् पनि सामेल भयो भनेर व्यावसायीहरुको चित्त दुखाई छ, अनि ?
विगतमा के भयो त्यो मेरो सरोकारको बिषय होईन, यद्यपी ठमेल परिषद्को नेतृत्व सम्हालेकै दिनदेखि ठमेलका प्रत्येक समस्या समाधानमा म डटेर लागेको छु । ढल समस्या समाधानकै लागि भनेर नगरपालिका र स्थानियबासीबिच साझेदारी भईसकेको स्थीति छ । जसमा नगरपालिकाको ६५ र स्थानिय व्यावसायीको ३५ प्रतिशत लगानी सुनिश्चीत गरि रकम संकलन समेत भईसकेको छ । यसअर्थमा हिजोका दिनमा ढल फुट्दा नाक थुनेर हिड्ने र सडकमा भेल बग्दा रमिता हेर्ने स्थीति अब आउन दिनेछैनौ । समस्या समाधानको चरणमा प्रवेश गरिसकेको छ ।

४. अर्कोतिर ठमेलमा रात्रीकालिन व्यावसाय व्यवस्थीत भएन, मसाजका नाममा बेश्याबृत्तिलाई प्रश्रय दिएका गुनासाहरु पनि छन, नि ।
हेर्नुस, यसमा समग्र ठमेललाई मुछेर समस्या समाधान हुँदैन । बेश्याबृत्तिकै कुरा गर्ने हो भने काठमाण्डौका चोकचोकमा नियाल्दै जाँदा अर्को तथ्य भेटिएला । तर यहाँ ध्यान दिनुपर्ने मुख्य कुरा के भने जबसम्म रोजगारीका लागि राज्यको उचित निती बन्दैन, तबसम्म ठमेलमा मात्र होईन, कहिँपनि बेश्याबृत्ति हट्दैन । रोजगारी सुनिश्चीत नगर्दाकै परिणाम केटाहरु गुण्डागर्दी र महिलाहरु बेश्याबृत्तिका लागि बाद्य पारिएका हुन । यसर्थ यसमा राज्यको ध्यान जाओस । अर्कोकुरा रात्रिकालिन व्यावसायलाई सधै आलोचना गरिरहनु दरिद्र मानसिकता हो । दोशी भेटिए कारबाही गर्न स्थानिय प्रशासनलाई भनेका छौ, हामी आफै पनि अनुगमन गरिरहेकै छौ, विगतमा भन्दा व्यावसायीहरु पनि यसप्रति सचेत भएको पाएका छौ ।

५. पर्यटकलाई जानकारी दिने पर्यटन सुचना बोर्ड स्थापना गर्ने कुरा, गफमै सिमित भएको हो ?

यहाँले भनेजस्तै यो बिषयमा लामो समयदेखी बहश चल्दै आएको छ । यही भन्न चाहन्छु, यसमा छिट्टै यहाँहरुले नतिजा पाउनुहुनेछ । केहीसमय प्रतिक्षा गर्नुस, आफै देख्नुहुनेछ ।
६. परिषद्को आगामी कार्यनिती के छ ?
नेपाल घुम्न आउने पर्यटकहरुको पहिलो केन्द्रबिन्दु ठमेल नै हो, यसमा कुनै सन्देह छैन । यस्तोमा व्यावसायिक नाफा मुनाफा व्यावसायीले हिसाव राख्लान । तर हामीले ध्यान दिने मुख्य कुरा नेपालको कलासंस्कृतिको सकारात्मक असरका रुपमा पर्यटकहरुमाझ प्रवद्र्धन गर्नु हो । ठमेलमा हिन्दु, बौद्ध, किराँतका मन्दिर तथा गुम्बाहरु धार्मिक पर्यटनको रुपमा प्रश्तुत गर्न सकिन्छ, यसभित्रका रितिरिवाज अर्को महत्वपुर्ण प्रोडक्ट बन्न सक्छ । यस्तोमा बौद्धिक पर्यटकहरुको लागि संस्कृति अध्ययन नै ठमेल आउने मुख्य लक्ष्य बन्न सक्छ, यसमा हाम्रो ध्यान केन्द्रित छ । अर्को कुरा साईबर सिटीको अवधारणा बिकास गरि प्रत्येक सडकका लेनहरुमा सिसीक्यामेरा सहितको सुरक्षा व्यावस्था, बाटोमा देखिने बिजुलीका तारले छोडेका  अस्तव्यस्तता हटाउने तथा ट्राफिक व्यावस्थापनमा हाम्रो ध्यान केन्द्रित छ । सुसज्जीत र समुन्नत ठमेलको निर्माणमा हामी केन्द्रित छौ ।

तपाईंको बिचार